टस जितेर ब्याटिङमा आएको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको छ ।
What you should know
काठमाडौँ — उत्कृष्ट सुरुआत गरेर मध्यक्रममा धरमराएको पोखरा एभेन्जर्सले राम्रो फिनिसिङ गरेको छ, जसको कारण टोलीले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई चुनौतीपूर्ण स्कोर तेर्स्याउन सक्षम भएको छ ।
टस जितेर ब्याटिङ गर्ने निर्णय पोखराले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा निर्धारित २० ओभर खेली ६ विकेट गुमाई १ सय ५५ रन बनाएको हो । पोखराले अन्तिम ५ ओभरमा ६० रन बनाउँदै राम्रो स्कोर बनाउन सफल भएको हो ।
एडम रोसिङटन र दिनेश खरेलले पहिलो विकेटमा ६१ रन जोडेर पोखरालाई राम्रो सुरुआत दिलाएका थिए । नवौँ ओभरमा सञ्जय कृष्णमुर्थीले रोसिङटनलाई आउट गरी यो साझेदारी तोडेका थिए । त्यसको अर्को बलमा देव्रेहाते स्पिनर कृष्णमुर्थीले पोखराका कप्तान कुशल भुर्तेललाई पहिलो बलमै बोल्ड गरे ।
रोसिङटनले १७ बल खेली ३ चौका प्रहार गरी २४ रन बनाए । अर्का ओपनर दिनेशले ३८ बल खेली २ चौका र ३ छक्कासहित ३८ रन बनाए । जिम्मी निसम १ रनमै आउट भए ।
सुमित बर्मा र तृतराज दासले पाँचौँ विकेटमा ७२ रनको साझेदारी गरी पोखराको स्थिति सुधारेका थिए । अभिषेक तिवारीको स्थानमा मौका पाएका तृतले १९ औं ओभरमा रनआउट हुन पूर्व २८ बल खेली २ चौकासहित २८ रन बनाए । ड्यान डाउथवेट ३ बल खेली १ छक्का प्रहार गरी ७ रनमा आउट भए ।
बर्माले अविजित ५० रन बनाए । उनले २९ बल खेली २ चौका र ४ छक्का प्रहार गरे । कृष्णमुर्थीले जनकपुरबाट ३ विकेट लिए । उनले ४ ओभरमा २१ रनमात्र खर्चेका थिए । ललित राजवंशीले ४ ओभरमा ४० रन खर्चेर २ र कप्तान अनिल साहले १ विकेट लिए ।
‘आमाको सम्मान’ स्वरुप जनकपुर पिंक जर्सी लगाएर मैदानमा उत्रिएको छ । पोखरा हिमनदीहरू महत्त्वपूर्ण छन् भन्ने वातावरण संरक्षण अभियानको सन्देश बोकी हरियो जर्सी लगाएर खेलिरहेको छ ।
जनकपुरले दक्षिण अफ्रिकाका पूर्व तीब्र बलर वायन पार्नेल र पाकिस्तानी अलराउन्डर माज सदाकतलाई पहिलो पटक मैदानमा ओरालेको छ । कतारको दोहामा पाकिस्तान ‘ए’ लाई हामा एसिया कप राइजिङ स्टार्सको उपाधि दिलाएर उनै सोझै काठमाडौँ आएका हुन् ।
जनकपुर र पोखरा पहिलो दुवै खेलमा पराजित रहेको थियो । त्यसैले आज विजय हात पार्ने टोली यस प्रतियोगितामा जितको पहिलो स्वाद चाख्ने छ । त्यस्तै पराजित हुने टोलीको प्लेअफमा पुग्ने सम्भावना निकै कठिन बन्ने छ ।
जनकपुर उद्घाटन खेलमै काठमान्डु गोर्खाजसँग स्तब्ध भएको थियो । त्यसपछि टोलीले विराटनगर किंग्सविरुद्धको खेल पनि जित्न सकेको थिएन । पोखरा पहिलो खेलमा विराटनगरसँग पराजित भएको थियो । दोस्रो खेलमा पनि टोलीले सुदूरपश्चिमविरुद्ध आफु अनुकूल नतिजा निकाल्न सकेको थिएन ।
