सुदूरपश्चिमले प्ले अफ सम्भावना बलियो बनाउँदै लुम्बिनीलाई १९.४ ओभरमै १४३ रनमा अलआउट गरेपछि १० बल बाँकी छँदै जित हात पारेको छ।
What you should know
काठमाडौँ — विनोद भण्डारी र आरिफ शेखको उत्कृष्ट ब्याटिङपछि सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबारको पहिलो खेलमा लुम्बिनी लायन्सलाई ७ विकेटले पराजित गरेको छ ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा ब्याटिङका लागि आएको लुम्बिनीले निर्धारित १९.४ ओभरमा १ सय ४३ रनमा अलआउट भयो । टोलीले ३३ बलको अन्तरमा ३९ रन बनाउँदै पछिल्लो ८ विकेट गुमाएको थियो ।
सुदूरपश्चिमको यो लगातार चौथो जित हो । यस जितले टोलीको प्ले अफमा पुग्ने सम्भावनालाई अझ बलियो बनाएको छ । लुम्बिनीले ४ मध्येको ३ खेल हारिसकेको छ । पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेपछि लुम्बिनी लगातार तीन खेलमा पराजित भइसकेको छ । लुम्बिनी अघिल्ला खेलहरूमा कर्णाली याक्स र काठमान्डु गोर्खाजसँग पराजित भएको थियो ।
विनोद र आरिफले तेस्रो विकेटमा ९९ रनको साझेदारी गरेपछि सुदूरपश्चिमले १० बल अगाडि नै लक्ष्य पूरा गर्यो । सुदूरपश्चिमलाई विजयका लागि ६ रन आवश्यक भएको समयमा आरिफ ३९ रन बनाई आउट भए । उनले ३७ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । उनलाई तिलक भण्डारीले आउट गरे ।
विनोद ६९ रनमा अविजित रहे । उनले ४९ बल खेली ५ चौका र ४ छक्का प्रहार गरे । हरमित सिंह ३ रनमा अविजित रहे । उनले विजयी छक्का प्रहार गरेका थिए ।
ओपनर जोस ब्राउन २ चौका प्रहार गरी ९ रनमा आउट भए । उनलाई अभिषेक गौतमले आउट गरे । लगातार दुई छक्का प्रहार गरेका क्रिस लिनलाई त्यसको अर्को बलमा रुबेन ट्रम्पलमनले आउट गरे ।
यसअघि पावर प्लेको पहिलो ६ ओभरमा १ विकेट गुमाई ५० रन बनाएको लुम्बिनी १० ओभरमा ७०–२ को स्थितिमा पुगेको थियो । त्यसपछि टोलीले रन गति अगाडि बढाउन सकेन ।
डी’आरसी शटले पहिलो ओभरमै स्कट कुग्लेनलाई ३ चौका प्रहार गरेका थिए । दोस्रो ओभरमा ओपनरको रूपमा पठाइएका सुमित महर्जनले दीपेन्द्रलाई २ चौका प्रहार गरे । त्यसपछि भने टोलीले ठूलो सटका लागि भौँतारिन पर्यो । टोलीले पूरा इनिङ्समा १ छक्कामात्र प्रहार गर्न सक्यो ।
शट ११ बल खेली ४ चौका प्रहार गरी १८ रन बनाई हेमन्त धामीको बलमा इनसाइड एज लागि बोल्ड भए । सुमितले १४ बल खेली ३ चौकासहित १८ रन बनाए । कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन जोडे ।
२९ रनमा अविनाश बोहराको बलमा नरेन साउदले क्याच छाडेपछि जीवनदान पाएका रोहितले त्यसको फाइदा उठाउन सकेनन् । ६ रन थपेपछि हेमन्त धामीको बलमा रिभर्स स्विप गर्न खोज्दा विकेटकिपर विनोद भण्डारीबाट क्याच समातिए । रोहितले ३६ बल खेली ३ चौका प्रहार गरे ।
गुलबदिन नैब २ चौका प्रहार गरी ९ बलमा ११ र ट्रम्पलमन ३ बल खेली शून्यमा आउट भए । उनलाई दीपेन्द्रले सिधा थ्रोमा रन आउट गरे । अविनाश बोहराको यो ओभरमा आउट हुने तेस्रो खेलाडी दिलीप नाथ थिए । एलबीडब्लु आउट हुनु अघि उनले २९ बल खेली २ चौका र १ छक्का प्रहार गरी ३१ रन बनाए ।
सन्दीप जोरा ७, शेर मल्ल ४, थोमस ड्राका ६ र अभिषेक गौतम ६ रनमा आउट भए । सुदूरपश्चिमका लागि अविनाश र हरमितले ३–३ विकेट लिए । अविनाशले ४ ओभरमा २६ र हरमितले ३.४ ओभरमा २२ रन खर्चे । हेमन्तले ३ ओभरमा २८ रन खर्चेर २ तथा कुग्लेनले १ विकेट लिए ।
