कीर्तिपुरमा भएको खेलमा सुदूरपश्चिमका बलरहरूले १९.४ ओभरमै लुम्बिनीलाई १४३ रनमा सीमित राख्दै प्लेअफ सम्भावना बलियो बनाएका छन्।
What you should know
काठमाडौँ — सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबारको खेलमा पहिला लुम्बिनी लायन्सलाई ठुलो स्कोर बनाउनबाट रोकेको छ ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा ब्याटिङका लागि आएको लुम्बिनीले निर्धारित १९.४ ओभरमा १ सय ४३ रनमा अलआउट भयो । टोलीले ३३ बलको अन्तरमा ३९ रन बनाउँदै पछिल्लो ८ विकेट गुमाएको थियो ।
पावर प्लेको पहिलो ६ ओभरमा १ विकेट गुमाई ५० रन बनाएको लुम्बिनी १० ओभरमा ७०–२ को स्थितिमा पुगेको थियो । त्यसपछि टोलीले रन गति अगाडि बढाउन सकेन ।
डी’आरसी शटले पहिलो ओभरमै स्कट कुग्लेनलाई ३ चौका प्रहार गरेका थिए । दोस्रो ओभरमा ओपनरको रुपमा पठाइएका सुमित महर्जनले दीपेन्द्रलाई २ चौका प्रहार गरे । त्यसपछि भने टोलीले ठूलो सटका लागि भौँतारिन पर्यो । टोलीले पुरा इनिङ्समा १ छक्कामात्र प्रहार गर्न सक्यो ।
शट ११ बल खेली ४ चौका प्रहार गरी १८ रन बनाई हेमन्त धामीको बलमा इनसाइड एज लागि बोल्ड भए । सुमितले १४ बल खेली ३ चौकासहित १८ रन बनाए । कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन जोडे ।
२९ रनमा अविनाश बोहराको बलमा नरेन साउदले क्याच छाडेपछि जीवनदान पाएका रोहितले त्यसको फाइदा उठाउन सकेनन् । ६ रन थपेपछि हेमन्त धामीको बलमा रिभर्स स्विप गर्न खोज्दा विकेटकिपर विनोद भण्डारीबाट क्याच समातिए । रोहितले ३६ बल खेली ३ चौका प्रहार गरे ।
गुलबदिन नैब २ चौका प्रहार गरी ९ बलमा ११ र रुबेन ट्रम्पलमन ३ बल खेली शून्यमा आउट भए । उनलाई दीपेन्द्रले सिधा थ्रोमा रन आउट गरे । अविनाश बोहराको यो ओभरमा आउट हुने तेस्रो खेलाडी दिलीप नाथ थिए । एलबीडब्लु आउट हुनु अघि उनले २९ बल खेली २ चौका र १ छक्का प्रहार गरी ३१ रन बनाए ।
सन्दीप जोरा ७, शेर मल्ल ४, थोमस ड्राका ६ र अभिषेक गौतम ६ रनमा आउट भए । सुदूरपश्चिमका लागि अविनाश र हरमितले ३–३ विकेट लिए । अविनाशले ४ ओभरमा २६ र हरमितले ३.४ ओभरमा २२ रन खर्चे । हेमन्तले ३ ओभरमा २८ रन खर्चेर २ तथा कुग्लेनले १ विकेट लिए ।
सुदूरपश्चिम पहिलो ३ खेल जिती अंक तालिकाको शीर्ष स्थानमा छ र लुम्बिनीलाई पराजित गरेमा टोलीको प्लेअफ सम्भावना निकै बलियो हुनेछ । लुम्बिनीले ३ मध्येको २ खेल हारिसकेको छ । पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेको लुम्बिनी त्यसपछि कर्णाली याक्स र काठमान्डु गोर्खाजसँग पराजित भएको थियो ।
प्ले अफ पुग्ने सम्भनालाई जीवितै राख्न लुम्बिनीले यो खेल जित्नै पर्छ । टोलीले नामिबियाका जेजे स्मिटको स्थानमा ड्राकालाई खेलाएको छ । उनी एनपीएल खेल्ने पहिलो इटालीयन खेलाडी हुन् । इटालीलाई पहिलो पटक ट्वान्टी–२० विश्वकपमा पुर्याएपछि ड्राका लुम्बिनीमा आबद्ध भएका थिए ।
सुदूरपश्चिमको टोलीमा अघिल्लो खेल खेलेको टोलीबाट कुनै खेलाडी परिवर्तन गरिएको छैन ।
