गोर्खाजले पहिले ब्याटिङ गर्दै १५७ रन बनायो भने लुम्बिनी १३५ रनमै समेटिँदा २२ रनको जित दर्ता गर्यो, बलरको उत्कृष्ट प्रदर्शन देखियो ।
काठमाडौँ — काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा दोस्रो विजय हात पारेको छ । काठमान्डुले मंगलबार लुम्बिनी लायन्सलाई २२ रनले पराजित गर्यो ।
टस हारेपछि ब्याटिङको निम्तो पाएको गोर्खाजले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ५७ रन बनाएको थियो । जवाफमा आएको लुम्बिनी १९.१ ओभरमा १ सय ३५ रनमा अलआउट भयो ।
काठमान्डुबाट मिलिन्द कुमार र जेहर्राड इरसमसले २–२ विकेट लिए । मिलिन्दुले ४ ओभरमा १८ र इरसमसले ४ ओभरमा २७ रन खर्चे । करण, शाहव आलम र रसिद र सन्तोष यादवले १–१ विकेट लिए ।
ओपनरद्वय सन्दीप जोरा ७ र डी’ आरसी शट ११ बलमा ३ चौका र १ छक्का प्रहार गरी २२ रनमा आउट भए । दुबैलाई मिलिन्दले आउट गरे । इरसमले कप्तान रोहित पौडेललाई ११ रनमा एबलीडब्लु आउट गरे । गुलबदिन नैब पनि ११ रनमै शाहब आलमको बलमा आउट भए ।
दिलीप नाथले २५ रन बनाए । उनले ३३ बल खेली समान १ चौका र छक्का प्रहार गरे । शेर मल्लले १८ बल खेली २७ रन बनाए । उनले शाहवको बलमा लगातार ३ छक्का प्रहार गरेका थिए । जेजे स्मिट ८, सुमित महर्जन शून्य, रुबेन ट्रम्पलमन ३ र अभिषेक गौतम ४ रनमा आउट भए । तिलक भण्डारी ६ रनमा अविजित रहे ।
यसअघि तल्लोक्रममा ब्याटिङका लागि आएका करणले ११ बलमा सर्वाधिक अविजित ३४ रन बनाएका थिए । उनले १ चौका र ४ छक्का प्रहार गरे । उनले १९ औं ओभरमा नामिबियाका तीव्र बलर ट्रम्पलमनलाई ४ छक्का र १ चौका प्रहार गरेका थिए । गोर्खाजले सो ओभरमा ३१ रन जोडेको थियो ।
गोर्खाजको सुरुआत राम्रो थिएन । बेन चार्ल्सवर्थलाई पहिलो ओभरमै शेरले बोल्ड गरे । तेस्रो नम्बरमा पठाइएका रसिद खानले १० बल खेली २ चौकासहित १४ रन बनाए । ओपनर आकाश त्रिपाठीले ३६ बल खेली २ चौकासहित ३२ रन बनाए ।
मिलिन्द २० बलमा १ चौकासहित १७, जोहन सिम्पसन ३ बलमा ७, सन्तोष १६ बलमा २ छक्कासहित २६, इरसमस १५ बलमा २ चौकासहित १७, आदिल अलाम अन्सारी ७ बलमा ४ रन बनाइ आउट भए । शाहव १ रनमा अविजित रहे ।
लुम्बिनीबाट शेर, कप्तान रोहित, नैब र ट्रम्पलमनले २–२ विकेट लिए । रोहितले १ ओभरमा ९, शेरले ४ ओभरमा ३३, नैबले ३ ओभरमा २० र ट्रम्पलमनले ४ ओभरमा ४३ रन खर्चे ।
