टस हारेर ब्याटिङ गरेको गोर्खाजले त्रिवि क्रिकेट रंगशालामा २० ओभरमा ८ विकेट गुमाएर १५७ रन जोड्न सफल भयो, करणले ३४ अविजित रन बनाए।
काठमाडौँ — कप्तान करण केसीको आक्रामक इनिङ्सपछि काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सलाई १ सय ५८ रनको लक्ष्य दिएको छ ।
टस हारेपछि ब्याटिङको निम्तो पाएको गोर्खाजले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ५७ रन बनाएको हो ।
तल्लोक्रममा ब्याटिङका लागि आएका करणले ११ बलमा सर्वाधिक अविजित ३४ रन बनाए । उनले १ चौका र ४ छक्का प्रहार गरे । उनले १९ औं ओभरमा नामिबियाका तीव्र बलर रुबेन ट्रम्पलमनलाई ४ छक्का र १ चौका प्रहार गरेका थिए । गोर्खाजले सो ओभरमा ३१ रन जोडेको थियो ।
गोर्खाजको सुरुआत राम्रो थिएन । बेन चार्ल्सवर्थलाई पहिलो ओभरमै शेर मल्लले बोल्ड गरे । तेस्रो नम्बरमा पठाइएका रशिद खानले १० बल खेली २ चौकासहित १४ रन बनाए । ओपनर आकाश त्रिपाठीले ३६ बल खेली २ चौकासहित ३२ रन बनाए ।
मिलिन्द कुमार २० बलमा १ चौकासहित १७, जोहन सिम्पसन ३ बलमा ७, सन्तोष यादव १६ बलमा २ छक्कासहित २६, जेहर्राड इरसमस १५ बलमा २ चौकासहित १७, आदिल अलाम अन्सारी ७ बलमा ४ रन बनाइ आउट भए । साहब आलम १ रनमा अविजित रहे ।
लुम्बिनीबाट शेर, कप्तान रोहित पौडेल, गुलबदिन नैब र ट्रम्पलमनले २–२ विकेट लिए । रोहितले १ ओभरमा ९, शेरले ४ ओभरमा ३३, नैबले ३ ओभरमा २० र ट्रम्पलमनले ४ ओभरमा ४३ रन खर्चे ।
