एनपीएलमा दुवै टोलीले एक जित मात्र निकाल्न सकेका छन्, आजको खेलमा पराजित हुने टोलीको प्लेअफ यात्रा जटिल हुने देखिएको छ ।
What you should know
काठमाडौँ — लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबारको खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा टस जितेर काठमान्डु गोर्खाजलाई ब्याटिङका लागि बोलाएका हुन् ।
रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले दुई खेलमध्ये एकमा जित निकाल्दै दुई अंकसहित चौथो स्थानमा छ । लुम्बिनीले आफ्नो पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा लुम्बिनीलाई कर्णाली याक्सले ९ विकेटले हराएको थियो ।
यस्तै करण केसीको कप्तानीमा रहेको काठमान्डुले यो सिजनमा अहिलेसम्म खेलेका तीन खेलमध्ये दुईमा हार व्यहोरेको छ भने एकमा जित निकालेको छ । काठमाण्डु दुई अंकसहित तेस्रो स्थानमा छ ।
काठमान्डुले पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्टसलाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो । तेस्रो खेलमा विराटनगर किंग्सले ५ विकेटको पराजित गरेको थियो ।
एनपीएलमा काठमाडौंले लुम्बिनीलाई १८ रनले हराएको थियो । दुवै टोलीलाई प्लेअफ पुग्ने सम्भावना जीवित राख्न आजको खेल महत्त्वपूर्ण मानिएको छ । दुवै टोलीलाई जित निकाल्न पर्ने दबाब छ ।
काठमान्डुको टोलीमा २ खेलाडी परिवर्तन गरिएको छ । प्रतीक श्रेष्ठको स्थानमा दिपेश कँडेल र रिकार्डो भास्कोनसेलोसको स्थानमा मिलिन्द कुमार खेलाइरहेको छ ।
करण केसीको कप्तानीमा रहेको काठमान्डुबाट आकाश त्रिपाठी, बेन चार्ल्सवर्थ, दिपेश, इरसमस, जोहन सिम्पसन, सन्तोष यादव, आदिल अलाम अन्सारी, रसिद खान, साहब आलम खेलिरहेका छन् ।
लुम्बिनीले विकेट किपर समीर अलीको स्थानमा स्पीनर तिलकराज भण्डारीलाई खेलाइरहेको छ । रोहित पौडेलको कप्तानीमा डी’आरसी शर्ट, सन्दीप जोरा, सुमित, दीलिप नाथ, गुलबदिन नैब, तिलकराज भण्डारी, शेर मल्ल, अभिषेक गौतम, रुबेन ट्रम्पलमन, जजे स्मिट खेलिरहेका छन् । दीलिप नाथले विकेटकिपिङ गर्ने छन् ।
