सुदूरपश्चिमले तीनै खेल जितेर अंक तालिकाको शीर्षस्थानमा छ भने लुम्बिनी आजको खेल जित्नैपर्ने दबाबमा रहेको छ।
काठमाडौँ — सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबारको खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा लुम्बिनी लायन्सलाई ब्याटिङका लागि बोलाएका हुन् ।
सुदूरपश्चिम पहिलो ३ खेल जिती अंक तालिकाको शीर्ष स्थानमा छ र लुम्बिनीलाई पराजित गरेमा टोलीको प्लेअफ सम्भावना निकै बलियो हुनेछ । लुम्बिनीले ३ मध्येको २ खेल हारिसकेको छ । पहिलो खेलमा चितवन राइनोजलाई पराजित गरेको लुम्बिनी त्यसपछि कर्णाली याक्स र काठमान्डु गोर्खाजसँग पराजित भएको थियो ।
प्ले अफ पुग्ने सम्भावनालाई जीवितै राख्न नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले यो खेल जित्नै पर्छ । टोलीले नामिबियाका जेजे स्मिटको स्थानमा थोमस ड्राकालाई खेलाएको छ । उनी एनपीएल खेल्ने पहिलो इटालियन खेलाडी हुन् । इटालीलाई पहिलो पटक ट्वान्टी–२० विश्वकपमा पुर्याएपछि ड्राका लुम्बिनीमा आबद्ध भएका थिए ।
सुदूरपश्चिमको टोलीमा अघिल्लो खेल खेलेको टोलीबाट कुनै खेलाडी परिवर्तन गरिएको छैन ।
