बोपाराको तेस्रो अर्धशतकपछि चितवनले दियो विराटनगरलाई १ सय ७५ रनको लक्ष्य

टस हारेर ब्याटिङमा आएको चितवन राइनोजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रन बनायो ।

मंसिर १०, २०८२

कान्तिपुर संवाददाता

After Bopara's third half-century, Chitwan sets Biratnagar a target of 175 runs.

काठमाडौँ — लयमा रहेका रवि बोपाराको अर्धशतकको मद्दतले चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा बुधबार भएको खेलमा विराटनगर किंग्ससामु १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

पहिले ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा पाँच विकेट गुमाएर १ सय ७४ रन बनाइको हो । कीर्तिपुरको टीयू मैदानमा चितवनका लागि फेरि एकपल्ट रविले सर्वाधिक ६५ रन बनाए ।

उनले ३८ बलको सामना गरे, अनि तीन चौका र चार छक्का प्रहार गरे । यो सिजन बोपाराको लगातार यो तेस्रो अर्धशतक हो । यसअघि कर्णाली याक्स र लुम्बिनी लायन्सविरुद्ध पनि अर्धशतक बनाएका थिए ।

रविले कप्तान कुशल मल्लसँग पाँचौँ विकेटका लागि ५६ रनको साझेदारी गरे । कुशलले २० रन बनाएर नटआउट रहे ।

चितवनले राम्रो सुरुआत भने लिन सकेन । उसले २४ रन बनाउँदा दुवै ओपरनलाई गुमाइसकेको थियो । त्यसमध्ये दीपक बोहराले पाँच रन बनाए भने डेबिड मलानले १७ रनको योगदान दिए । देव खनाल २८ रन बनाएर सन्दीप लामिछानेको बलमा समातिए ।

साम हेजलेट बाउन्ड्री छेउमै उनको उत्कृष्ट क्याच लिए । सैफ जैबले त्यसपछि ३० बलमा ३२ रन बनाए । उनको त्यस इनिङ्समा एक चौका र एक छक्का सामेल थियो । 

कान्तिपुर

Link copied successfully