लगातार तीन जितसँगै विराटनगर शीर्ष स्थानमा उक्लने अवसरमा छ भने चितवनको प्ले–अफमा पुग्ने सम्भावना पनि बाँकी छ।
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को बुधबारको खेलमा विराटनगर किंग्स र चितवन राइनोज भिड्दै छन् । टीयू क्रिकेट मैदानमा टस जितेर विराटनगरले चितवनलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।
विराटनगरको सुरुआती ११ मा प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, सन्दीप लामिछाने (कप्तान), सूर्य तामाङ, नरेन भट्ट, नारायण जोशी, शुभम् रन्जने, जर्ज मुन्सी, साम ह्याजलेट, मर्चेन्ट डी ल्याङ्गे रहेका छन् ।
यस्तै चितवन टिममा कुशल मल्ल (कप्तान), रञ्जित कुमार, देव खनाल, अर्जुन साउद, अमरसिंह रौतेला, दीपक बोहरा, कमलसिंह ऐरी, डेविड मलान, रवि वोपारा, सेफ जैब र सोहेल तनवीर परेका छन् ।
विराटनगरसामु यो खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा उक्लने अवसर हुनेछ र यससँगै प्ले–अफमा खेल्ने सम्भावनालाई बलियो बनाउन सक्नेछ । लगातार तीन खेल जितेको विराटनगरको छ अंक रहेको छ ।
सुदूरपश्चिम रोयल्स समान छ अंकमा शीर्ष स्थानमा छ । चितवन भने दुई खेलबाट दुई अंकमा पाँचौँ स्थानमा रहेको छ । विराटनगरले अहिलेसम्म खेलेका खेलमा पोखरा एभेन्जर्सलाई ५३ रन, काठमान्डु गोर्खाजलाई पाँच विकेट तथा जनकपुर बोल्ट्सलाई नौ रनले पराजित गरेको थियो ।
चितवनले आफ्नो पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराएयता लुम्बिनी लायन्सविरुद्ध छ विकेटले पराजित भएको थियो । पहिलो सिजनको खेलमा विराटनगरले चितवनलाई ५१ रनले पराजित गरेको थियो ।
