विराटनगरको लगातार तेस्रो जित

सन्दीप लामिछानेले ४ विकेट लिएपछि जनकपुर १३६ रनको लक्ष्यमा १२६ रनमै रोकियो र विराटनगरले लगातार तेस्रो जित दर्ता गर्‍यो।

मंसिर ८, २०८२

कान्तिपुर संवाददाता

Biratnagar's third consecutive win

What you should know

काठमाडौँ — कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार तेस्रो विजय हात पारेको छ । विराटनगरले सोमबारको खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गर्‍यो ।

सन्दीपले ४ विकेट लिएपछि १ सय ३६ रनको लक्ष्य लिएर आएको जनकपुरले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २६ रनमात्र बनाउन सक्यो ।

सन्दीपले ४ ओभरमा ११ रनमात्र खर्चेका थिए । सूर्य तामाङले ४ ओभरमा २० रन खर्चेर २ तथा मर्च्येन्ट डी ल्याङ्गे र शुभम् रन्जनेले १–१ विकेट लिए ।

गत सिजन प्लेअफबाट बाहिर रहेको विराटनगरले सुरुको तीनै खेल जितेको हो । च्याम्पियन जनकपुरले भने लगातार दोस्रो खेलमा पराजय भोगेको हो ।

ओपनर आसिफ शेख १३ रनमा आउट भए । उनले ११ बल खेली २ चौका प्रहार गरे । कप्तान अनिल साहले फेरि निराश बनाए । उनले १४ बल खेली ४ रनमात्र जोड्न सके । लाहिरु मिलान्था २२ बल खेली २ चौका र १ छक्का प्रहार गर्दै २३ रनमा आउट भए ।

सञ्जय कृष्णमुर्थीले १२ खेली २ चौका र १ छक्कासहित २० रन बनाए । मयन यादव ४ रनमै आउट भए । यान निकाले लफ्टी इटनले जनकपुरबाट सर्वाधिक ४१ रन बनाए । अन्तिम ओभरमा रनआउट भएका उनले ३० बल खेली ४ चौका र १ छक्का प्रहार गरे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १३५–७ को स्कोरमात्र बनाउन सकेको थियो । शुभम् रन्जनेले विराटनगरबाट सर्वाधिक ३७ रन बनाए । उनले २९ बल खेली समान २ चौका र छक्का प्रहार गरे । बसिरले ३५ बल खेली ३ छक्कासहित ३६ रन बनाए ।

ओपनर लोकेश बमले २८ बल खेली २ चौका र १ छक्कासहित २६, जर्ज मुन्सीले १०, मार्टिन गप्टिलले १३ रन बनाए । त्यस्तै नारायण जोशी २ र मर्च्येन्ट डी ल्याङ्गे शून्यमा आउट भएका थिए । प्रतिश जिसी २ रनमा अविजित रहे । जनकपुरका संगीथ कोरेले ४ ओभरमा २६ र रुपेश सिंहले २ ओभरमा १२ रन खर्चेर २–२ तथा आदित्य महताले १ विकेट लिए ।

गत वर्ष जनकपुरले उपाधि यात्रा सुरु गर्दा उद्घाटन खेलमै विराटनगरलाई सहजै ८ विकेटले पराजित गरेको थियो । मार्टिन गप्टिलले अर्धशतक बनाए पनि विराटनगर १९ ओभरमा १ सय २७ रनमा अलआउट भएको थियो । लाहिरु मिलान्थाले ५३ बलमा ७५ रन बनाएपछि जनकपुरले १५.३ ओभरमै १ सय ३१ रन बनाएको थियो ।

जनकपुरले टेस्ट कोटा नपाउँदा स्टार अलराउन्डर जिम्मी निसम पोखरा लागेपछि च्याम्पियन टोलीको प्रदर्शन खेलमा त्यो अनुरूप हुन सकेको छैन । 

कान्तिपुर संवाददाता

Link copied successfully