वायन पार्नेल, इमरान ताहिर, जेसन रोयजस्ता नाम चलेका विदेशी खेलाडी अझै अनुपस्थित हुँदा जनकपुर र पोखराको एनपीएल यात्रा कठिन बन्दै गएको छ।
What you should know
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको समूह चरणको २८ मध्येका १२ खेल सम्पन्न भइसकेका छन् । तर केही फ्रेन्चाइजले घोषणा गरेका विश्व क्रिकेटका ठूला नामहरू अझै कीर्तिपुरस्थिति त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा देखिएका छैनन् ।
बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै छन् । जनकपुरले दुई खेल खेलिसकेका छ । तर टोलीले घोषणा गरेको दक्षिण अफ्रिकाका पूर्व तेज बलर वायन पार्नेल र रहस्यमयी स्पिनर इमरान ताहिर अझै जनकपुरको जर्सीमा देखिएका छैनन् ।
त्यस्तै पोखराले घोषणा गरेको ठूलो नाम मध्येका इंग्ल्यान्डका एकदिवसीय विश्वकप विजयी जेसन रोयले पनि एनपीएलका कुनै खेल खेलेका छैनन । जनकपुर जस्तै पोखरा पनि पहिलो दुई खेलमा पराजित भई अप्ठ्यारो स्थितिमा पुगिसकेको छ ।
पार्नेल जनकपुरको अघिल्लो खेलको ठिक अगाडि काठमाडौँ आइपुगेका थिए । उनले पोखरासँगको खेल खेल्ने जनकपुर बोल्ट्सका महाप्रबन्धक निरोज खतिवडाले जनाए । ताहिरसहित रोय र डु प्लेसिस यूएईमा भइरहेको अबुधाबी टी–१० लिग खेलिरहेका छन् । खतिवडाले टी–१० मा ताहिरको खेलपछि मात्र उनी आउने टुंगो लाग्ने जनाए ।
पोखरा र जनकपुरबीचको खेलमा पराजित हुने टोलीले लगातार तेस्रो खेल हार्नेछ र टोलीको प्लेअफमा पुग्ने सम्भावना निकै कमजोर हुनेछ । यस्तोमा टी–१० लिग खेलेर आउने खेलाडी काठमाडौँ आइपुग्दा उसको टोली उपाधि दौडबाट बाहिरिइसकेको पनि हुन सक्ने छ ।
पोखराका टिम प्रवर्द्धक एवं प्रमुख सुबोध त्रिपाठीले यूएईको अबुधाबी टी–१० लिग र आईएल टी–२० लिगसँग एनपीएल जुधेका कारण आफ्नो टोलीलाई केही अप्ठ्यारो परिरहेको जनाए । उनले आफ्नो टोलीको जिमी निसम बीचमै जाने र रोय अबुधाबी टी–१० लिग सकेर आउने जनाए ।
आईएल टी–२० लिग डिसेम्बर २ देखि सुरु हुनेछ र त्यस अगाडि निसम लाग्ने बताइएको छ । निसमले पोखराबाट ४ खेलमात्र खेल्ने सम्भावना रहेको छ । आईएल टी–२० लिगका लागि अन्य टोलीका खेलाडी पनि जाने बताइएको छ । तर टोलीहरूले त्यस बारे औपचारिक रुपमा जनाइसकेका छैनन् ।
रोय अबुधाबी टी–१० लिगमा रोयल च्याम्पसको कप्तानी गरिरहेका छन् । ताहिर क्विट्टा काभेलरीबाट र डु प्ले सीस भिस्टा राइडर्सबाट खेलिरहेका छन् । रोयल च्याम्पस पुछारमा रहेको छ र टोली प्लेअफबाट बाहिरिइसकेको छ । रोयल च्याम्पसले नोभेम्बर २८ मा क्विट्टासँग लिगको अन्तिम खेल खेल्ने छन् । त्यसपछि रोय पोखराका लागि उपलब्ध हुन सक्ने छन् । रोय काठमाडौँ आइपुग्दा पोखराले एनपीएलमा चार खेलिसकेको हुनेछ ।
ताहिरको क्वट्टा अबुधाबी टी–१० लिगको शीर्ष स्थानमा छ, जसका कारण नोभेम्बर ३० सम्म उनी यूएईमै हुनु पर्ने हुन्छ । जनकपुरले यो क्रममा ४ खेल खेलिसकेको हुनेछ । डु प्लेसिसको भिस्टा राइडर्स हाल चौथो स्थानमा छ र टोली प्ले अफको बलियो दावेदारीतामा रहेको छ । भिस्टा राइडर्स प्ले अफमा पुगेमा डु प्लेसिस नोभेम्बर ३० सम्म यही टोलीमै हुनेछन् ।
भिस्टा प्ले अफमा पुगेमा डु प्ले सीस आउदा विराटनगरले एनपीएलमा ५ खेल खेलिसकेको हुनेछ । विराटनगरका निर्देशक दीपेन्द्र चौधरीले अबुधाबी टी–१० लिग लगत्तै डु प्लेसिस आउने निश्चित भइसकेको जनाए । डु प्लेसिसले सम्भवतः डिसेम्बर ३ मा लुम्बिनी लायन्सविरुद्ध हुने खेलमा विराटनगरबाट एनपीएलमा ‘डेब्यु’ गर्नेछन् ।
यता च्याम्पियन जनकपुरले पाकिस्तानी अलराउन्डर माज सदाकतलाई लिएको छ । कतारको दोहामा एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा पाकिस्तान ‘ए’ लाई विजेता बनाएर सदाकत सोझै काठमाडौँ आइपुगेका हुन् ।
उनले दोहामा ओमानविरुद्ध अविजित ९६, भारत ‘ए’ विरुद्ध अविजित ७९, यूएईविरुद्ध अविजित ३७ रनको इनिङ्स खेलेका थिए । २० वर्षे देब्रेहाते ओपनिङ ब्याटर सदाकतले सेमिफाइनलमा श्रीलंका ‘ए’ विरुद्ध र फाइनलमा बंगलादेश ‘ए’ विरुद्ध समान २३ रन बनाएका थिए ।
२४ प्रथम श्रेणी र सबै खाले ट्वान्टी–२० मा २५ खेल खेलिसकेका सदाकतले पोखराविरुद्ध बिहीबारको खेलमा ‘डेब्यु’ गर्ने सम्भावना रहेको छ ।
