चितवनसँग रोकियो विराटनगर

रवि बोपाराको लगातार तेस्रो अर्धशतक र रञ्जितको पाँच विकेटको प्रदर्शनसँगै चितवन राइनोजले विराटनगरमाथि सानदार जित दर्ता गरेको छ ।

मंसिर १०, २०८२

कान्तिपुर संवाददाता

Biratnagar stopped with Chitwan

What you should know

काठमाडौँ — चितवन राइनोजका रञ्जित कुमारले पाँच विकेट लिएपछि नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा विराटनगर किंग्सको जित यात्रामा बुधबार पूर्ण विराम लागेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा चितवन ४८ रनले विजयी रहेको हो ।

चुनौतीपूर्ण लक्ष्य पछ्याएको विराटनगरले १६.५ओभरमा सबै विकेट गुमाएर १ सय २६ रन मात्र बनाउन सक्यो । यस नतिजापछि चितवनको तीन खेलबाट चार अंक भएको छ । विराटनगर भने छ अंकमा रहेको छ । विराटनगरले पहिलो हार व्यहोरेको छ ।

विराटनगरले पावर–प्लेमा सुरुआती चार विकेट गुमाएपछि दबाबमा खेल्न बाध्य भएको थियो । अझ टिमले ३९ रन बनाउँदा पाँच विकेट गुमाएको थियो । साम हेजलेटले ११ बलमा २२ रन बनाए । यस्तै मर्चेन्ट डे ल्यान्गेले २२ बलमा ३९ रन बनाए ।

अन्त्यतिर प्रतिश जीसीले १२ बलमा ३० रन थपे । रञ्जितले भने २१ रन मात्र दिएर पाँच विकेटको उत्कृष्ट प्रदर्शन गरेका हुन् । यो सिजनको यो पहिलो पाँच विकेटको प्रदर्शन हो । यस्तै कमल ऐरीले दुई विकेट लिए ।  

त्यस अगाडि रवि बोपाराको अर्धशतकको मदतले चितवनले २० ओभरमा पाँच विकेट गुमाएर १ सय ७४ रन बनाइको थियो । रविले सर्वाधिक ६५ रन बनाए । उनले ३८ बलको सामना गरे, अनि तीन चौका र चार छक्का प्रहार गरे ।

यो सिजन बोपाराको यो लगातार तेस्रो अर्धशतक हो । यसअघि कर्णाली याक्स र लुम्बिनी लायन्सविरुद्ध पनि अर्धशतक बनाएका थिए । रविले कप्तान कुशल मल्लसँग पाँचौँ विकेटका लागि ५६ रनको साझेदारी गरे । कुशल २० रन बनाएर नटआउट रहे ।

चितवनले राम्रो सुरुआत भने लिन सकेन । उसले २४ रन बनाउँदा दुवै ओपनरलाई गुमाइसकेको थियो । त्यसमध्ये दीपक बोहराले पाँच रन बनाए भने डेबिड मलानले १७ रनको योगदान दिए । देव खनाल २८ रन बनाएर सन्दीपको बलमा समातिए ।

साम हेजलेट बाउन्ड्री छेउमै उनको उत्कृष्ट क्याच लिए । जैबले त्यसपछि ३० बलमा ३२ रन बनाए । उनको त्यस इनिङ्समा एक चौका र एक छक्का सामेल थियो । 

कान्तिपुर

Link copied successfully