कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम विजयी

सुदूरपश्चिम रोयल्सले दिएको १४० रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली याक्स १९.२ ओभरमा ९४ रन बनाउँदै अलआउट भयो ।

मंसिर ८, २०८२

कान्तिपुर संवाददाता

Sudurpaschim wins with captain Dipendra Singh Airi's all-round performance

What you should know

काठमाडौँ — कप्तान दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको सोमबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ४५ रनले पराजित गरेको छ ।

दीपेन्द्रले ४ विकेट लिएपछि १ सय ४० रनको लक्ष्य लिएर आएको कर्णाली त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा १९.२ ओभरमा ९४ रनमै अलआउट भयो । यस सिजनको एनपीएलमा यो सबैभन्दा न्यून स्कोर हो ।

ब्याटिङमा रोयल्सको इनिङ्स जमाएका प्लेयर अफ द म्याच दीपेन्द्रले ४ ओभरमा २३ रन खर्चेर उत्कृष्ट प्रदर्शन गरेका हुन् । रोयल्सको यो लगातार तेस्रो जित हो । यसअघिको खेलमा टोलीले काठमान्डु गोर्खाज र पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो । कर्णालीले भने ३ खेलमा दोस्रो हार बेहोरेको हो ।

दीपेन्द्रले पावर प्लेमै ३ ओभर बलिङ गर्दै झरेको ३ विकेट लिएका थिए । इनिङ्सको दोस्रो तथा आफ्नो पहिलो ओभरमा उनले प्रियांक पान्चललाई शून्यमा स्टम्प आउट गराएका थिए । त्यसपछि उनले मार्क वाटलाई १७ र नाजिबुल्लाह जाद्रानलाई १ रनमा एलबीडब्लु आउट गरे ।

जाद्रन अघि हेमन्त धामीले विलियम बोसिस्टोलाई ३ रनमा विकेटको पछाडि क्याच गराएपछि पहिलो पावर प्लेको अन्तिम ४ बल खेल्न कप्तान सोमपाल आफैं आएका थिए । उनले इनिङ्स बसाउने प्रयास गर्दै १६ बलमा १४ रन बनाए पनि हरमितको बलमा कट एन्ड बोल्ड भए ।

पवन सर्राफले कर्णालीबाट सर्वाधिक २७ रन बनाए । उनले २६ बल खेली ४ चौका प्रहार गरे । गुलशन झा र अर्जुन घर्ती समान १३, नन्दन यादव १ र युवराज खत्री शून्यमा आउट भए । हरमितले ४ ओभरमा १९ र अविनाश बोहराले ३.२ ओभरमा १९ रन खर्चेर २–२ तथा स्कट कुग्लेन र हेमन्त धामीले १–१ विकेट लिए ।

यसअघि सोमपालले उत्कृष्ट बलिङ गरेपछि कर्णालीले सुदूरपश्चिमलाई ठुलो स्कोर बनाउनबाट रोकेको थियो । टस हारेपछि ब्याटिङको निम्तो पाएको रोयल्सले ९ विकेट गुमाई १ सय ३९ रन बनाएको थियो ।

सोमपालले ४ ओभरमा १ मेडन राख्दै ३२ रन खर्चेर ३ विकेट लिए । उनले खेलको पहिलो बलमै जस ब्राउनलाई बोल्ड गरेका थिए । दीपेन्द्रसिंह र हरमितले छैटौँ विकेटका लागि आक्रामक ब्याटिङ गरिरहेको समयमा सोमपालले नै हरमितको लेग स्टम्प उडाइदिएर यो साझेदारी तोडेका थिए ।

सोमपालको तेस्रो विकेट नेपाली क्रिकेटमा दुर्लभ नै रह्यो । उनले आफ्नो अन्तिम ओभरमा नरेन साउदलाई हिट विकेट गराएका थिए । सोमपाल बाहेक नन्दनले ३ ओभरमा ११ रन खर्चेर २ तथा वाट, विपिन शर्मा र युवराजले १–१ विकेट लिए ।

रोयल्सबाट दीपेन्द्रले सर्वाधिक ३९ रन बनाए । उनले २८ बल खेली १ चौका र २ छक्का प्रहार गरे । दीपेन्द्र र हरमितले छैटौँ विकेटमा ४८ रनको साझेदारी गरे । हरमितले १६ बल खेली समान १ चौका र छक्का प्रहार गरी १९ रन बनाए ।

ब्राउन पहिलो बलमै आउट भएपछि रोयल्सले अधिकांश समय दबाबमा खेलेको थियो । उनका ओपनिङ जोडि विनोद भण्डारीले १३ बल खेली १ चौका प्रहार गर्दै ११ रन बनाए । क्रिस लिनले २० बल खेली २ चौकासहित १८ रन जोडे । ईशान पाण्डे २ रनमा रनआउट भए । तल्लोक्रममा कुग्लेन १०, नरेन शून्यमा आउट भए । हेमन्त र अविनाश समान १ रनमा अविजित रहे । 

कान्तिपुर

Link copied successfully