कर्णालीका कप्तान सोमपाल कामीले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा टस जितेर सुदूरपश्चिम रोयल्सलाई ब्याटिङका लागि बोलाएका हुन् ।
काठमाडौँ — कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको सोमबारको दोस्रो खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । कर्णालीका कप्तान सोमपाल कामीले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा टस जितेर सुदूरपश्चिम रोयल्सलाई ब्याटिङका लागि बोलाएका हुन् ।
रोयल्सले पहिलो दुई खेल जितिसकेको छ । रोयल्सले पहिला खेलमा काठमान्डु गोर्खाज र दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो । पहिलो खेलमा चितवन राइनोजसँग पराजित गरेको कर्णालीले अघिल्लो खेलमा लुम्बिनी लायन्सलाई पराजित गरेको थियो ।
रोयल्स र कर्णालीले अघिल्लो खेल खेलेको टोलीबाट कुनै खेलाडी परिवर्तन गरेको छैन । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको रोयल्सबाट विनोद भण्डारी, जस ब्राउन, क्रिस लिन, इशान पाण्डे, आरिफ शेख, हरमित सिंह, स्कट कुग्लेन, नरेन साउद, अविनाश बोहरा, हेमन्त धामी खेलिरहेका छन् ।
त्यस्तै कर्णालीबाट सोमपालसहित मार्क वाट, प्रियांक पञ्चाल, विलियम बोसिस्टो, पवन सर्राफ, नजिबुल्लाह जाद्रान, गुलशन झा, अर्जुन घर्तीमगर, नन्दन यादव, विपिन शर्मा, युवराज खत्री खेलिरहेका छन् ।
गत सिजनमा रोयल्सले लिगको अन्तिम खेलमा कर्णालीलाई ६ विकेटले पराजित गर्दै क्वालिफायर्समा स्थान सुरक्षित गरेको थियो ।
