उद्घाटन खेल जितेको काठमान्डु गोर्खाजको लगातार दोस्रो खेलमा हार बेहोरेको छ।
What you should know
काठमाडौँ — विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको छ । टोलीले शनिबार दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई ५ विकेटले पराजित गर्यो ।
विराटनगरले १ सय ३५ रनको लक्ष्य कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको फ्लडलाइटमा १७.१ ओभरमै पूरा गरेको थियो । सुदूरपश्चिम रोयल्सपछि पहिलो दुई खेल जित्ने विराटनगर अर्को टोली भएको छ । विराटनगरले पहिलो खेलमा एनपीएलकै उच्च स्कोर २ सय २० रन बनाएर पोखरा एभेन्जर्ससँग ५३ रनको जित निकालेको थियो ।
पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्टसलाई ५ विकेटले पराजित गरेयता काठमान्डु लगातार दोस्रो खेलमा पराजित भइसकेको छ । टोली यसअघि सुदूरपश्चिमसँग २९ रनले पराजित भएको थियो ।
विदेशी खेलाडीद्वय जर्ज मन्सी र मार्टिन गप्टिलको आक्रामक ब्याटिङमा विराटनगरले विजय आधार तयार पारेको हो । लोकेश बम २ छक्का प्रहार गर्दै १० बलमा १४ रन बनाई आउट भएपछि मन्सी र गप्टिलले दोस्रो विकेटमा २४ बलभित्र ५३ रन जोडेका थिए ।
मन्सीले १६ बल खेल्दै ५ चौका र २ छक्कासहित ३६ तथा गप्टिलले १९ बलमा २ चौका र १ छक्कासहित २५ रन बनाए । बसिर अहमद १७ बल खेल्दै समान १ चौका र छक्का प्रहार गरेर १९ रनमा आउट भए । नरेन भट्ट ३० बल खेलेर २ चौकासहित २४ रनमै पेवेलियन फर्किए ।
शुभम रन्जने ८ बलमा ६ र कप्तान सन्दीप लामिछाने ३ बलमा ९ रन बनाई अविजित रहे । सन्दीपले कप्तान करण केसीलाई चौका प्रहार गर्दै विजयी रन बटुले । गोर्खाजका शाहब आलमले ४ ओभरमा १९ रन खर्चेर २ तथा कप्तान करण, सन्तोष यादव र जेरहार्ड इरसमसले १–१ विकेट लिए ।
यसअघि टस हारेपछि ब्याटिङ निम्तो पाएको काठमान्डुले कमजोर ब्याटिङ गर्दै निर्धारित २० ओभर खेल्दै ६ विकेट गुमाएर १ सय ३४ रनमात्र बनाउन सकेको थियो । आदिल अलाम अन्सारीले अविजित ४८ रन बनाए । उनले २५ बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गरे । जसका कारण काठमान्डुले अन्तिम ५ ओभरमा १ विकेट गुमाई ६३ रन जोडेर हेर्नलायक स्कोर बनाउन सकेको हो ।
पावर प्लेको पहिलो ६ ओभरमा काठमान्डुले ३ विकेट गुमाई २२ रनमात्र बनाउन सकेको थियो । टोलीले केवल कुल ६ चौका र ५ छक्का प्रहार गर्न सकेको थियो । आकाश त्रिपाठी पहिलो ओभरमै शून्यमा आउट भए । रिकार्डो भास्कोनसेलोस ३ रनमै रनआउट हुन पुगे । प्रतियोगितामा पहिलो पटक मौका पाएका प्रतीक श्रेष्ठले पनि २ रनमात्र बनाउन सके । आकाश र प्रतीकलाई मर्च्येन्ट डी ल्याङ्गेले आउट गराए । इरसमस पनि १० रनमै आउट भए ।
ओपनर बेन चार्ल्सवर्थले ३३ बल खेल्दै १ चौका र २ छक्कासहित ३२ रन बनाए । उनलाई १३ औं ओभरमा रन्जनेले आउट गरेका थिए । त्यसपछि आदिल र सन्तोषले छैटौं विकेटमा ३० बलमा ४५ रनको साझेदारी गरे । सन्तोषले २४ बल खेल्दै १ चौकासहित २६ रन बनाए । जोहन सिम्पसन ५ बलमा ७ रन बनाई अविजित रहे । प्लेयर अफ द म्याच डी ल्याङ्गेले ४ ओभरमा १७ रन खर्चेर २ तथा सन्दीप, रन्जने र सूर्य तामाङले १–१ विकेट लिएका थिए ।
एनपीएलमा बन्यो दोस्रो शतक
मार्क वाटको शतकमा कणाली याक्सले पहिलो विजय हात पारेको थियो । वाटको सानदार इनिङ्सपछि कर्णालीले लुम्बिनी लायन्सलाई ९ विकेटले सजिलै हराएको थियो ।
टस हारेपछि ब्याटिङ निम्तो पाएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाई १ सय ५६ रन बनायो । वाटले अविजित १ सय १४ रन बनाएपछि कर्णालीले १२.२ ओभरमै १ सय ६१ रन बनाएर खेल जितेको हो । वाटको स्कोर यस सिजनको एनपीएलमा यो पहिलो व्यक्तिगत शतक र एनपीएल इतिहासकै दोस्रो शतक हो । उनले ४४ बल खेल्दै ६ चौका र १२ छक्का प्रहार गरे । वाटले ४१ बलमै शतक पूरा गरेका थिए ।
लुम्बिनीको कमजोर फिल्डिङको उनले पूरापूर फाइदा उठाए । वाट २० रनमा हुँदा रुबेन ट्रम्पलमनको बलमा विकेटकिपर समीर अलीले क्याच छाडेका थिए । त्यसपछि वाटले ३९ रनमा अर्को जीवनदान पाए । शेर मल्लको बलमा अभिषेक गौतमले स्क्वायर लेगमा उनको अर्को क्याच छाड्न पुगे ।
त्यसको फाइदा उठाउँदै कर्णालीले पावर प्लेको पहिलो ६ ओभरमा ६३ रन जोडेको थियो । प्रियांक पञ्चाललाई शेरले १२ रनमा आउट गरे पनि लुम्बिनीका लागि त्यो क्षणिक सफलता बनायो । वाटले विलियम बोसिस्टोसँग दोस्रो विकेटमा १ सय २३ रनको अविजित साझेदारी गरे । बोसिस्टो २० बल खेल्दै २ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे ।
कर्णालीले दोस्रो खेलमा आएर जित निकालेको हो । टोली पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो । लुम्बिनीको भने दोस्रो खेलमा पहिलो हार हो ।
यसअघि लुम्बिनीबाट कप्तान रोहित पौडेल ४९ रनमा आउट भए । उनले ४३ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । १७ औं ओभरमा कर्णालीका कप्तान सोमपाल कामीले रोहितलाई आउट गरेका थिए । ४ ओभरमा १ विकेट गुमाई ७ रनमात्र बनाउन सकेको दयनीय स्थिति सुधार्नेक्रममा रोहितले उक्त इनिङ्स खेलेका थिए । सन्दीप जोरा दोस्रो ओभरमा ८ बल खेलेर १ रनमै नन्दन यादवको बलमा आउट भएपछि लुम्बिनीले अधिकांश समय दबाबमा खेल्यो ।
डी’आरसी शटले १४ बल खेल्दै ४ चौकासहित १९ रन बनाए । तर दिलीप नाथ ४ बलमा ६, गुलबद्दिन नैब ९ बलमा ७, सुमित महर्जन १० बलमा ७ रनमा आउट भएपछि दबाबको समयमा रोहितले इनिङ्स तानेका थिए । नामिवियाका खेलाडी जेजे स्मिट र रुबेन ट्रम्पलमनले आक्रामक खेल्दै लुम्बिनीलाई राम्रो स्कोरमा उभ्याए । स्मिटले १४ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३ रन बनाए भने ट्रम्पलमन १४ बलमा १ चौका र ३ छक्कासहित २९ रनमा अविजित रहे । अर्का अविजित ब्याटर शेरले ७ रन बनाए । समीर अली १ रनमै रनआउट भए । कर्णालीका नन्दनले ४ ओभरमा ३८ रन खर्चेर २, सोमपाल, गुलशन झा, विपिन शर्मा, युवराज खत्री र मार्क वाटले १–१ विकेट लिएका थिए ।
वाटको शतकले कोरेको इतिहास
–मार्क वाट एनपीएल इतिहासमा शतक बनाउने दोस्रो खेलाडी हुन् । संयोगले यो दुवै शतक विदेशी खेलाडीको नाममा छ । गत वर्ष पोखरा एभेन्जर्सका एन्द्रिज गाउसले लुम्बिनीविरुद्ध अविजित १ सय ४ रन बनाएका थिए ।
–वाटको १ सय १४ रन एनपीएलकै व्यक्तिगत उच्च स्कोर पनि हो ।
–वाट एकै खेलमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी बनेका छन् । उनले १२ छक्का प्रहार गरे । गत वर्ष लुम्बिनीका विवेक यादवले सुदूरपश्चिम रोयल्सविरुद्ध, चितवन राइनोजका कुशल मल्लले जनकपुर बोल्ट्सविरुद्ध तथा विराटनगर किंग्सका लोकेश बमले पोखरा एभेजर्न्सविरुद्ध यस वर्ष ७–७ छक्का प्रहार गरेका थिए ।
