विराटनगर पहिलो दुई खेल जित्ने दोस्रो टोली

१ सय ३५ रनको लक्ष्य १७.१ ओभरमै पुरा गर्दै विराटनगरले एनपीएलमा लगातार दोस्रो जित हासिल गरेको छ भने काठमान्डुले लगातार हार ब्यहोरेको छ।

मंसिर ६, २०८२

कान्तिपुर संवाददाता

Biratnagar is the second team to win the first two matches.

What you should know

काठमाडौँ — विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ । टोलीले शनिबारको दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई ५ विकेटले पराजित गर्‍यो ।

विराटनगरले १ सय ३५ रनको लक्ष्य त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा १७.१ ओभरमै पुरा गर्‍यो । सुदूरपश्चिम रोयल्सपछि पहिलो दुवै खेल जित्ने विराटनगर अर्को टोली भएको छ । विराटनगरले पहिलो खेलमा एनपीएलकै उच्च स्कोर २ सय २० रन बनाउँदै पोखरा एभेन्जर्ससँगको खेल ५३ रनले जितेको थियो ।

पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्टसलाई ५ विकेटले पराजित गरेयता काठमान्डु लगातार दोस्रो खेलमा पराजित भइसकेको छ । टोली अघिल्लो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले पराजित भएको थियो ।

विदेशी खेलाडीद्वय जर्ज मन्सी र मार्टिन गप्टिलको आक्रामक ब्याटिङमा विराटनगरले विजयको आधार तयार पारेको थियो । लोकेश बम २ छक्का प्रहार गर्दै १० बलमा १४ रन बनाई आउट भएपछि मन्सी र गप्टिलले दोस्रो विकेटमा २४ बलमा ५३ रन जोडेका थिए ।

मन्सीले १६ बल खेली ५ चौका र २ छक्कासहित ३६ तथा गप्टिलले १९ बलमा २ चौका र १ छक्कासहित २५ रन बनाए । बसिर अहमद १७ बल खेली समान १ चौका र छक्का प्रहार गरी १९ रनमा आउट भए । नरेन भट्ट ३० बल खेली २ चौका प्रहार गर्दै २४ रनमा आउट भए ।

शुभम् रन्जने ८ बलमा ६ र कप्तान सन्दीप लामिछाने ३ बलमा ९ रन बनाई अविजित रहे । गोर्खाजका साहब आलमले ४ ओभरमा १९ रन खर्चेर २ तथा कप्तान करण केसी, सन्तोष यादव र जेर्हरार्ड इरसमसले १–१ विकेट लिए ।

यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको काठमान्डुले कमजोर ब्याटिङ गर्दै निर्धारित २० ओभर खेली ६ विकेट गुमाई १ सय ३४ रनमात्र बनाउन सकेको थियो । आदिल अलाम अन्सारीले अविजित ४८ रन बनाए । उनले २५ बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गरे । जसको कारण काठमान्डुले अन्तिम ५ ओभरमा १ विकेट गुमाई ६३ रन जोडेर हेर्न लायक स्कोर बनाउन सकेको थियो ।

पावर प्लेको पहिलो ६ ओभरमा काठमान्डुले ३ विकेट गुमाई २२ रनमात्र बनाउन सकेको थियो । टोलीले केवल कुल ६ चौका र ५ छक्का प्रहार गर्न सकेको थियो ।

आकाश त्रिपाठी पहिलो ओभरमै शून्यमा आउट भएका थिए । रिकार्डो भास्कोनसेलोस ३ रनमा रनआउट भए । प्रतियोगितामा पहिलो पटक मौका पाएका प्रतीक श्रेष्ठले पनि २ रनमात्र बनाउन सके । इरसमस १० रनमै आउट भए ।

ओपनर बेन चार्ल्सवर्थले ३३ बल खेली १ चौका र २ छक्कासहित ३२ रन बनाए । उनलाई १३ औँ ओभरमा रन्जनेले आउट गरे । त्यसपछि आदिल र सन्तोषले छैटौँ विकेटमा ३० बलमा ४५ रनको साझेदारी गरे । सन्तोषले २४ बल खेली १ चौकासहित २६ रन बनाए । जोहन सिम्पसन  ५ बल खेली ७ रन बनाई अविजित रहे ।

विराटनगरका मर्च्येन्ट डी ल्याङ्गेले ४ ओभरमा १७ रन खर्चेर २ तथा सन्दीप, रन्जने र सूर्य तामाङले १–१ विकेट लिए । 

कान्तिपुर

Link copied successfully