सुदूरपश्चिमविरुद्ध सोमपालको उत्कृष्ट बलिङ

सोमपाल कामीले चार ओभरमा तीन विकेट लिएर रोयल्सको शीर्ष र मध्यक्रम धराशायी बनाएका छन्, जसमा उनले पहिलो बलमै विकेट लिएका थिए।

मंसिर ८, २०८२

कान्तिपुर संवाददाता

Sompal's excellent bowling against Sudurpaschim

What you should know

काठमाडौँ — कप्तान सोमपाल कामीले उत्कृष्ट बलिङ गरेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको सोमबारको दोस्रो खेलमा सुदूरपश्चिमलाई ठूलो स्कोर बनाउनबाट रोकेको छ ।

टस हारेपछि ब्याटिङको निम्तो पाएको रोयल्सले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा ८ विकेट गुमाई १ सय ३९ रनमात्र बनाउन सक्यो । टोलीले ९ विकेट गुमाई उक्त स्कोर बनाएको हो ।

सोमपालले ४ ओभरमा १ मेडन राख्दै ३२ रन खर्चेर ३ विकेट लिए । उनले खेलको पहिलो बलमै जस ब्राउनलाई बोल्ड गरेका थिए । कप्तान दीपेन्द्रसिंह र हरमित सिंहले छैटौँ विकेटका लागि आक्रामक ब्याटिङ गरिरहेको समयमा सोमपालले नै हरमितको लेग स्टम्प उडाइदिएर यो साझेदारी तोडेका थिए ।

सोपमलाको तेस्रो विकेट नेपाली क्रिकेटमा दुर्लभ नै रह्यो । उनले आफ्नो अन्तिम ओभरमा नरेन साउदलाई हिट विकेट गराएका थिए । सोमपाल बाहेक नन्दन यादवले ३ ओभरमा ११ रन खर्चेर २ तथा मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले १–१ विकेट लिए ।

रोयल्सबाट दीपेन्द्रले सर्वाधिक ३९ रन बनाए । उनले २८ बल खेली १ चौका र २ छक्का प्रहार गरे । दीपेन्द्र र हरमितले छैटौँ विकेटमा ४८ रनको साझेदारी गरे । हरमितले १६ बल खेली समान १ चौका र छक्का प्रहार गरी १९ रन बनाए ।

ब्राउन पहिलो बलमै आउट भएपछि रोयल्सले अधिकांश समय दबाबमा खेलेको थियो । उनका ओपनिङ जोडी विनोद भण्डारीले १३ बल खेली १ चौका प्रहार गर्दै ११ रन बनाए । क्रिस लिनले २० बल खेली २ चौकासहित १८ रन जोडे । ईशान पाण्डे २ रनमा रनआउट भए ।

तल्लोक्रममा स्कट कुग्लेन १०, नरेन शून्यमा आउट भए । हेमन्त धामी र अविनाश बोहरा समान १ रनमा अविजित रहे ।

रोयल्सले पहिलो दुई खेल जितिसकेको छ । रोयल्सले पहिला खेलमा काठमान्डु गोर्खाज र दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो । पहिलो खेलमा चितवन राइनोजसँग पराजित गरेको कर्णालीले अघिल्लो खेलमा लुम्बिनी लायन्सलाई पराजित गरेको थियो ।

गत सिजनमा रोयल्सले लिगको अन्तिम खेलमा कर्णालीलाई ६ विकेटले पराजित गर्दै क्वालिफायर्समा स्थान सुरक्षित गरेको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully