सुदूरपश्चिमले दियो काठमान्डुलाई चुनौतीपूर्ण लक्ष्य

सुदूरपश्चिमले सुरुआतमा तीन विकेट चाँडै गुमाए पनि हरमित सिंहको २० बलमा ५३ रनले टोलीलाई बलियो स्थितिमा ल्याएको छ ।

मंसिर ३, २०८२

कान्तिपुर संवाददाता

The Far West has given Kathmandu a challenging goal

What you should know

काठमाडौँ — सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा बुधबार काठमान्डु गोर्खाजसामू १ सय ४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर काठमान्डुले पहिले फिल्डिङ निर्णय गरेपछि सुदूरपश्चिमले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पूरा २० ओभर खेलि सबै विकेट गुमाएर १ सय ४७ रन बनाएको हो । 

गत सिजनको उपविजेता सुदूरपश्चिमका लागि हरमित सिंहले सर्वाधिक ५३ रन बनाए र त्यसका लागि २० बलको मात्र सामना गरे । त्यसमा उनले दुई चौका र छ छक्का प्रहार गरे । उनी सन्नी पटेलको बलमा साहब आलामद्वारा समातिए । उनले १९ बलमा अर्धशतक पूरा गरेका थिए । एनपीएल इतिहासमा यो दोस्रो छिटो अर्धशतक हो । 

यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाए । उनले ११ र १२ को व्यक्तिगत स्कोरमा दुई पल्ट जीवनदान पाए । दुवै अवसरमा उनको क्याच छुटेको थियो । उनले ३० बलको सामना गरे र त्यसमा तीन चौका तथा एक छक्का सामेल थियो । दीपेन्द्रले हरमिनसँग सातौं विकेटका लागि २५ बलमा ६१ रनको साझेदारी गरे । 

सुदूरपश्चिमको सुरुआत भने राम्रो रहेन् । ४ रनमा टोलीले ३ विकेट गुमाएको थियो । उसले आफ्ना दुवै ओपनर जोस ब्राउन र विनोद भण्डारीलाई शून्यमै गुमाएको थियो । लगत्तै क्रिस लिन पनि दुई रन बनाएर आउट भए र टिमले चार रन बनाउँदासम्म तीन विकेट गुमाएको थियो । 

तीनै विकेट करणको नाममा रह्यो । त्यसपछि आरिफ सेख र इसान पाण्डेले चौथो विकेटका लागि २३ रनको सोझदारी गरे । इसानले ११ रन बनाए । आरिफ भने २५ रन बनाएर रसिद खानको बलमा एलबीडब्लू भए । उनले २४ बलमा तीन चौका प्रहार गरेका थिए । उनले दीपेन्द्रसँग मिलेर २५ रनको साझेदारी गरे । 

काठमान्डुबाट कप्तान करण केसीले ४ ओभरमा ३० रन खर्चेर कुल ४ विकेट लिए । रसिद खानले ४ ओभरमा २३, सन्नी पटेलले ४ ओभरमा २७ र मिलिन्दले ४ ओभरमा ४० रन खर्चेर २–२ विकेट लिए ।

काठमान्डुले पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको थियो । सुदूरपश्चिमको प्रतियोगितामा यो पहिलो खेल हो । 

कान्तिपुर संवाददाता

Link copied successfully