विराटनगरले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदानको फ्लडलाइटमा निर्धारित २० ओभरमा ६ विकेट गुमाई २ सय २० रन बनायो, जुन एनपीएलकै उच्च स्कोर थियो ।
What you should know
काठमाडौँ — विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा मंगलबार उच्च स्कोरसहित दुई कीर्तिमान रच्दै पोखरा एभेन्जर्समाथि ५३ रनको जित हात पारेको छ । २ सय २१ रनको विशाल लक्ष्य पाएको पोखरा १८.५ ओभरमै १ सय ६७ रनमा अलआउट भयो ।
टस हारेपछि ब्याटिङ निम्तो पाएको विराटनगरले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदानको फ्लडलाइटमा निर्धारित २० ओभरमा ६ विकेट गुमाई २ सय २० रन बनायो, जुन एनपीएलकै उच्च स्कोर थियो । विराटनगरले आफैंले बनाएको उच्च स्कोरको कीर्तिमान उछिनेको हो । गत वर्ष विराटनगरले लुम्बिनी लायन्सविरुद्ध ८ विकेट गुमाई १ सय ९३ रन बनाएर खेल जितेको थियो । विराटनगर र पोखराबीच एकै खेलमा सर्वाधिक स्कोरको खेल पनि बन्यो । यस खेलमा कुल ३ सय ८४ रन बन्यो । गत संस्करण फाइनलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स खेल्दा ३ सय ६९ रन बनेको थियो ।
लोकेश बम र मार्टिन गप्टिलले दोस्रो विकेटमा १ सय ३२ रनको साझेदारी गरे । एनपीएल इतिहासकै यो दोस्रो उच्च साझेदारी थियो । गत वर्ष पोखराका एन्ड्रिज गउस र दिनेश खरेलले पहिलो विकेटमा विनाक्षति १ सय ७६ रन जोडेका थिए ।
जर्ज मुन्सी समान १ छक्का र चौका प्रहार गरी १० रनमा आउट भएपछि लोकेश र गप्टिल पोखराका बलरमाथि हाबी भए । गप्टिलले ३५ बल खेल्दै ३ चौका र ५ छक्कासहित ६१ रन बनाए । प्लेयर अफ द म्याच लोकेशले ७ चौका र १ छक्कासहित ४८ बलमा ७२ रन बनाए ।
बसिर अहमद १३ बलमा १ चौका र छक्का हान्दै २३ रनमा आउट भए । शुभम रन्जने १६ बलमा ३ चौका र २ छक्कासहित ३८ रन बनाई आउट भए । इनिङ्सको अन्तिम बल सामना गर्न आएका प्रतिश जिसी लङअफमा क्याच दिन पुगे । उनीबाहेक विराटगरको इनिङ्स खेलेका सबैको खातामा छक्का र
चौका समावेश थियो । नारायण जोशी ३ बल खेल्दै ११ रनमा अविजित रहे । पोखराका म्याट टेलरले २ विकेट लिए । तर, त्यसका लागि उनले ४ ओभरमा ४८ रन खर्चिए । सागर ढकाल र कप्तान कुशल भुर्तेलले १–१ विकेट लिए । कप्तान भुर्तेलले ५९ रन बनाए पनि पोखरा विशाल लक्ष्य नजिक पुग्न सकेन । कुशल ३१ बलमा ५९ रन बनाई १५ औं ओभरमा सातौं खेलाडीको रूपमा आउट भए । उनका ओपनिङ जोडी दिनेश ७ रनमै आउट भए ।
कुशल र एडम रोसिङ्टनले दोस्रो विकेटमा ३२ बलमै ७६ रनको साझेदारी गरेर पोखराको आशा देखाए । रोसिङ्नले २१ बलमा ५ चौका र २ छक्कासहित ३९ रन बनाए । तर, सन्दीप लामिछानेले एकै ओभरमा जिम्मी निसम र तृतराज दासलाई आउट गरेपछि पोखराको खेलमा फर्किने सम्भावना कमजोर बन्यो ।
किरण ठगुन्ना ८, अभिषेक तिवारी ११, टेलर र आकाश चन्द ४–४ रनमा आउट भए । ड्यान डाउथवेट आउट हुने अन्तिम खेलाडी रहे । उनले २० बलमा४ चौका र १ छक्कासहित २९ रन बनाए । विराटनगरका सन्दीप, मर्च्येन्ट डी ल्याङ्गे, प्रतिश जिसी र रन्जनेले २–२ तथा बसिर र सूर्य तामाङले १–१ विकेट लिए ।
चितवनको जितमा बोपारा र जैबको प्रभाव
इंग्लिस खेलाडीद्वय रवि बोपारा र सैफ जैबले सानदार ब्याटिङ गरेपछि चितवन राइनोजले पहिलो खेलमा कर्णाली याक्समाथि ४ विकेटको जित पायो । यी दुईको उत्कृष्ट ब्याटिङमा चितवनले १ सय ६७ रनको लक्ष्य ५ बलअघि १ सय ७१ रन बनाएर पूरा गर्यो । चितवनलाई अन्तिम ओभरमा विजयनिम्ति २ रन चाहिने अवस्थामा अर्जुन साउदले छक्का प्रहार गरे । उनी ८ रनमा अविजित रहे ।
बोपाराले ३६ बलमा ५२ रन बनाए । उनले समान ३ चौका र छक्का हाने । उनले जैबसँग पाँचौं विकेटमा २५ बलमा ५२ रन जोडे । गत सिजनमा सुदूरपश्चिमलाई फाइनलमा पुर्याउँदै प्लेयर अफ द सिरिजमा चुनिएका जैबले १६ बलमा २ चौका र ४ छक्कासहित ३८ रन बनाए । कर्णालीबाट कप्तान सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर २, युनिशविक्रम सिंह, मार्क वाट र युवराज खत्रीले १–१ विकेट लिए ।
ओपनर दीपक बोहरा ४२ रन बनाई आउट भए । उनले ३६ बलमा ६ चौका र १ छक्का प्रहार गरे । उनका ओपनिङ जोडी डेबिड मलान ६ रनमै आउट भए । देव खनाल २ रन बनाई ‘दुर्भाग्यपूर्ण’ रनआउट भए । कप्तान कुशल मल्ल १५ बलमा २ छक्कासहित २० रन बनाई आउट भए । यसअघि प्रियांक पञ्चालले ९० रन बनाएपछि टस हारेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ६६ रन बनायो । ३५ वर्षे पञ्चालले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार गरे । शतकतर्फ अगाडि बढेको समयमा उनी रवि बोपाराको बलमा लङअनमा देव खनालबाट क्याच भए ।
पञ्चालले म्याक्स ओ’डडसँग मिलेर कर्णालीलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । यी दुईको प्रयासमा कर्णालीले पावर प्लेको पहिलो ६ ओभरमा ५१ रन जोडेको थियो । ६१ रनमा ओ’डड आउट भएपछि साझेदारी टुटेको थियो । सैफ जैबले नवौं ओभरमा ओ’डडलाई बोल्ड गरे । ओ’डडले ३० बल खेल्दै १ चौकासहित २० रन बनाए । स्कटिस खेलाडी मार्क वाट २१ बलमा १ चौकासहित १६ रनमा आउट भए । पवन सर्राफ ३ छक्का प्रहार गर्दै १६ बलमा २७ र नाजिबुल्लाह जाद्रान ५ बलमा ४ रन बनाई अविजित रहे ।
चितवनबाट सोहेल तानवीर, रवि बोपारा र सैफ जैबले १–१ विकेट लिए । गत सिजन चितवन र कर्णाली दुवै प्लेअफमा पुगेका थिए । कर्णालीले चितवनलाई लिग चरणमा २१ रन र प्लेअफमा ६ विकेटले पराजित गरेको थियो । बुधबार काठमान्डु गोर्खाजले आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ ।
