एनपीएल : कीर्तिमानी स्कोरसहित विराटनगरको जित

टस हारेपछि ब्याटिङको निम्तो पाएको विराटनगरले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदानको फ्लडलाइटमा निर्धारित २० ओभरमा ६ विकेट गुमाई २ सय २० रन बनाएको थियो, जुन एनपीएल क्रिकेटकै उच्च स्कोर हो ।

मंसिर २, २०८२

कान्तिपुर संवाददाता

NPL: Biratnagar wins with record score

What you should know

काठमाडौँ — विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकै उच्च स्कोर बनाउँदै मंगलबार पोखरा एभेन्जर्समाथि ५३ रनको विजय हात पारेको छ ।

२ सय २१ रनको विशाल लक्ष्य लिएर आएको पोखरा १८.५ ओभरमा १ सय ६७ रनमा अलआउट भयो ।

टस हारेपछि ब्याटिङको निम्तो पाएको विराटनगरले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदानको फ्लडलाइटमा निर्धारित २० ओभरमा ६ विकेट गुमाई २ सय २० रन बनाएको थियो, जुन एनपीएल क्रिकेटकै उच्च स्कोर हो ।

विराटनगरले आफैंले बनाएको उच्च स्कोरको कीर्तिमानलाई उछिनेको हो । गत वर्ष विराटनगरले लुम्बिनी लायन्सविरुद्ध ८ विकेट गुमाई १ सय ९३ रन बनाएर खेल जितेको थियो ।

लोकेश बम र मार्टिन गप्टिलको अर्धशतकपछि विराटनगरले विशाल स्कोर बनाएको थियो । बम र गप्टिलले दोस्रो विकेटमा १ सय ३२ रनको साझेदारी गरे । एनपीएल इतिहासको यो दोस्रो उच्च साझेदारी हो । गत वर्ष पोखराका एन्ड्रिज हाउस र दिनेश खरेलले पहिलो विकेटमा विना क्षति १ सय ७६ रन जोडेका थिए ।

जर्ज मुन्सी समान १ छक्का र चौका प्रहार गरी १० रनमा आउट भएपछि बम र गप्टिल पोखराका बलरहरूमाथि हाबी भएका थिए । गप्टिलले ३५ बल खेली ३ चौका र ५ छक्कासहित ६१ रन बनाए । बमले ७ चौका र १ छक्का प्रहार गर्दै ४८ बलमा ७२ रन बनाए ।

बसिर अहमद १३ बलमा १ चौका र छक्का प्रहार गरी २३ रनमा आउट भए । शुभम रन्जने १६ बलमा ३ चौका र २ छक्का प्रहार गरी ३८ रन बनाई आउट भए । इनिङ्ससको अन्तिम बल सामना गर्न आएका प्रतिश जिसी लङ अफमा क्याच दिन पुगे ।

नारायण जोशी ३ बल खेली ११ रनमा अविजित रहे । पोखराका म्याट टेलरले २ विकेट लिए । तर त्यसका लागि उनले ४ ओभरमा ४८ रन खर्चे । सागर ढकाल र कप्तान कुशल भुर्तेलले १–१ विकेट लिए ।

कप्तान भुर्तेलले ५९ रन बनाए पनि पोखरा विशाल लक्ष्यको नजिक पुग्न सकेन । भुर्तेल ३१ बलमा ५९ रन बनाई १५ औं ओभरमा सातौं खेलाडीको रूपमा आउट भए । उनका ओपनिङ जोडी दिनेश ७ रनमै आउट भएका थिए ।

भुर्तेल र एडम रोसिङटनले दोस्रो विकेटमा ३२ बलमा ७६ रनको साझेदारी गरी पोखरालाई आशा देखाएका थिए । रोसिङनले २१ बल खेली ५ चौका र २ छक्कासहित ३९ रन बनाए । तर सन्दीप लामिछानेले एकै ओभरमा जिम्मी निसम र तृतराज दासलाई आउट गरेपछि पोखराका खेलमा फर्किने सम्भावना कमजोर बनेको थियो ।

किरण ठगुन्ना ८, अभिषेक तिवारी ११, टेलर र आकाश चन्द ४–४ रनमा आउट भए । ड्यान डाउथवेट आउट हुने अन्तिम खेलाडी थिए । उनले २० बल खेली ४ चौका र १ छक्कासहित २९ रन बनाए । विराटनगरका सन्दीप, मर्च्येन्ट डी ल्याङ्गे, प्रतिश जिसी र रन्जनेले २–२ तथा बसिर र सूर्य तामाङले १–१ विकेट लिए ।

कान्तिपुर संवाददाता

Link copied successfully