विराटनगरले आफ्नो अघिल्लो कीर्तिमान तोड्दै एनपीएलमा पोखरा राइनोजविरुद्ध उच्चतम स्कोर २२० रन बनाएको छ, बम र गप्टिलको उत्कृष्ट साझेदारीले टोलीलाई ऐतिहासिक उपलब्धिमा पुर्यायो।
What you should know
काठमाडौँ — लोकेश बम र मार्टिन गप्टिलको अर्धशतकपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकै उच्च स्कोर बनाएको छ । पोखरा एभेन्जर्सले टस जितेपछि ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाई २ सय २० रन बनायो ।
एनपीएल इतिहासकै यो उच्च स्कोर हो । विराटनगरले आफैंले बनाएको उच्च स्कोरको कीर्तिमानलाई उछिनेको हो । गत वर्ष विराटनगरले लुम्बिनी लायन्सविरुद्ध ८ विकेट गुमाई १ सय ९३ रन बनाएर खेल जितेको थियो ।
बम र गप्टिलले दोस्रो विकेटमा १ सय ३२ रनको साझेदारी गरेका थिए । एनपीएल इतिहासको यो दोस्रो उच्च साझेदारी स्कोर हो । गत वर्ष पोखराका एन्ड्रिज हाउस र दिनेश खरेलले पहिलो विकेटमा विना क्षति १ सय ७६ रन जोडेका थिए ।
जर्ज मन्सी समान १ छक्का र चौका प्रहार गरी १० रनमा आउट भएपछि बम र गप्टिल पोखराका बलरहरूमाथि हाबी भएका थिए । गप्टिलले ३५ बल खेली ३ चौका र ५ छक्कासहित ६१ रन बनाए । बमले ७ चौका र १ छक्का प्रहार गर्दै ४८ बलमा ७२ रन बनाए ।
बसिर अहमद १३ बलमा १ चौका र छक्का प्रहार गरी २३ रनमा आउट भए । शुभम रन्जने १६ बलमा ३ चौका र २ छक्का प्रहार गरी ३८ रन बनाई आउट भए । इनिङ्ससको अन्तिम बल सामना गर्न आएका प्रतिश जिसी लङ अफमा क्याच दिन पुगे ।
नारायण जोशी ३ बल खेली ११ रनमा अविजित रहे । पोखराका म्याट टेलरले २ विकेट लिए । तर त्यसका लागि उनले ४ ओभरमा ४८ रन खर्चे । सागर ढकाल र कप्तान कुशल भुर्तेलले १–१ विकेट लिए ।
