बोपारा र जैबको सानदार ब्याटिङमा चितवन विजयी

त्रिवि मैदानमा चितवनले १ सय ६७ रनको लक्ष्य ५ बल बाँकी छँदै १ सय ७१ रन बनाउँदै कर्णालीलाई पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको छ ।

मंसिर २, २०८२

कान्तिपुर संवाददाता

Bopara and Zaib's brilliant batting leads Chitwan to victory

What you should know

काठमाडौँ — इंग्लिस खेलाडीद्वय रवि बोपारा र सैफ जैबले सानदार ब्याटिङ गरेपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विजय सुरुआत गरेको छ । चितवनले मंगलबारको खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्‍यो ।

यी दुई उत्कृष्ट ब्याटिङमा चितवनले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा १ सय ६७ रनको लक्ष्य ५ बल अगाडि १ सय ७१ रन बनाउँदै पुरा गरेको थियो । चितवनलाई अन्तिम ओभरमा विजयका लागि २ रन चाहिने अवस्थामा अर्जुन साउदले छक्का प्रहार गरेका थिए । उनी ८ रनमा अविजित रहे । 

बोपाराले ३६ बलमा ५२ रन बनाए । उनले समान ३ चौका र छक्का प्रहार गरे । उनले जैबसँग पाँचौँ विकेटमा २५ बलमा ५२ रन जोडेका थिए । गत सिजनमा सुदूरपश्चिम रोयल्सलाई फाइनलमा पुर्‍याउँदै प्लेयर अफ द सिरिजमा चुनिएका जैबले १६ बल खेली २ चौका र ४ छक्कासहित ३८ रन बनाए । कर्णालीबाट कप्तान सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर २ तथा युनिसविक्रम सिंह, मार्क वाट र युवराज खत्रीले १–१ विकेट लिए । 

ओपनर दीपक बोहरा ४२ रन बनाई आउट भएका थिए । उनले ३६ बल खेली ६ चौका र १ छक्का प्रहार गरे । उनका ओपनिङ जोडी डेबिड मलान ६ रनमै आउट भए । देव खनाल २ रन बनाई दुर्भाग्यपूर्ण रनआउट भए । कप्तान कुशल मल्लले १५ बल खेली २ छक्का प्रहार गर्दै २० रन बनाई आउट भए ।

यसअघि प्रियांक पञ्चालले आक्रामक इनिङ्स खेलेपछि कर्णालीले चितवनलाई १ सय ६७ रनको लक्ष्य दिएको थियो । भारतीय ब्याटर पञ्चालले ९० रन बनाएपछि टस हारेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभर खेलेर ३ विकेट गुमाई १ सय ६६ रन बनाएको थियो । 

३५ वर्षे पन्चालले ४८ बल खेली ७ चौका र ६ छक्का प्रहार गरे । शतकतर्फ अगाडि बढेको समयमा उनी रवि बोपाराको बलमा लङ अनमा देव खनालबाट क्याच भए । पञ्चालले म्याक्स ओ’डडसँग मिलेर कर्णालीलाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।

यी दुईको प्रयासमा कर्णालीले पावर प्लेको पहिलो ६ ओभरमा ५१ रन जोडेको थियो । ६१ रनमा ओ’डड आउट भएपछि यो साझेदारी टुटेको थियो । सैफ जैबले नवौँ ओभरमा ओ’डडलाई बोल्ड गरेका थिए । ओ’डडले ३० बल खेली १ चौकासहित २० रन बनाए । स्कटिस खेलाडी मार्क वाट २१ बल खेली १ चौका प्रहार गरि १६ रनमा आउट भए । पवन सर्राफ ३ छक्का प्रहार गर्दै १६ बलमा २७ र नजिबुल्लाह जाद्रान ५ बल खेली ४ रनमा अविजित रहे । चितवनबाट सोहेल तान्बिर, रवि बोपारा र सैफ जैबले १–१ विकेट लिए । 

गत सिजन चितवन र कर्णाली दुवै प्लेअफमा पुगेका थिए । कर्णालीले चितवनलाई लिग चरणमा २१ रनले र प्ले अफमा ६ विकेटले पराजित गरेको थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully