पञ्चालले ४८ बलमा ९० रन बनाउँदै ओ’डडसँगको साझेदारीमा कर्णालीलाई चितवनविरुद्ध प्रारम्भिक ६ ओभरमा ५१ रनको बलियो सुरुआत दिलाए ।
What you should know
काठमाडौँ — प्रियांक पञ्चालले आक्रामक इनिङ्स खेलेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबारको खेलमा चितवन राइनोजलाई १ सय ६७ रनको लक्ष्य दिएको छ ।
भारतीय ब्याटर पञ्चालले ९० रन बनाएपछि टस हारेर ब्याटिङमा आएको कर्णालीले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा निर्धारित २० ओभर खेलेर ३ विकेट गुमाई १ सय ६६ रन बनाएको हो ।
३५ वर्षे पञ्चालले ४८ बल खेली ७ चौका र ६ छक्का प्रहार गरे । शतकतर्फ अगाडि बढेको समयमा उनी रवि बोपाराको बलमा लङ अनमा देव खनालबाट क्याच आउट हुन पुगे । पञ्चाल र म्याक्स ओ’डडसँग मिलेर कर्णालीलाई उत्कृष्ट सुरुआत दिलाएका थिए ।
यी दुईको प्रयासमा कर्णालीले पावर प्लेको पहिलो ६ ओभरमा ५१ रन जोडेको थियो । ६१ रनमा ओ’डड आउट भएपछि यो साझेदारी टुटेको थियो । सैफ जैबले नवौँ ओभरमा ओ’डडलाई बोल्ड गरेका थिए । ओ’डडले ३० बल खेली १ चौकासहित २० रन बनाए । जैब गत सिजनमा सुदूरपश्चिमबाट खेल्दै प्लेयर अफ द सिरिजमा चुनिएका थिए ।
स्कटिस खेलाडी मार्क वाट २१ बल खेली १ चौका प्रहार गरी १६ रनमा आउट भए । पवन सर्राफ ३ छक्का प्रहार गर्दै १६ बलमा २७ र नजिबुल्लाह जाद्रान ५ बल खेली ४ रनमा अविजित रहे । चितवनबाट सोहेल तान्बिर, रवि बोपारा र सैफ जैबले १–१ विकेट लिए ।
गत सिजन चितवन र कर्णाली दुवै प्लेअफमा पुगेका थिए । कर्णालीले चितवनलाई लिग चरणमा २१ रनले र प्ले अफमा ६ विकेटले पराजित गरेको थियो ।
