काठमान्डु गोर्खाजको सानदार सुरुआत

एनपीएल सिजन २ को उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्समाथि ५ विकेटको जित

मंसिर २, २०८२

विनोद पाण्डे

A great start for Kathmandu Gorkhas

What you should know

काठमाडौँ — मिलिन्द कुमारको अलराउन्ड प्रदर्शनमा काठमान्डु गोर्खाजले सोमबार नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ५ विकेटले स्तब्ध पारेको छ ।

गत वर्ष उपाधि जित्नेक्रममा जनकपुरले लिग चरणमा काठमान्डुलाई ५ विकेटले नै हराएको थियो । तर ब्याटिङमा पहिलो २ ओभरबाहेक जनकपुरलाई मोन्टी देसाईको प्रशिक्षणमा रहेको काठमान्डुले पूर्ण नियन्त्रणमा राख्यो । गत वर्ष शीर्ष चारमा पर्न नसकेको काठमान्डुले यसपालि पहिलो खेलबाटै आक्रामक सुरुआत गरेको हो । 

ओपनरद्वय बेन चार्ल्सवर्थ र आकाश त्रिपाठीको उत्कृष्ट ब्याटिङपछि काठमान्डुले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो पटक बालिएको फ्लडलाइटमा १ सय ३१ रनको लक्ष्य दुई ओभरअघि नै भेट्टायो । काठमान्डुले पावर प्लेको पहिलो ६ ओभरमा ५५ रन जोडेर काउन्टर दिएको थियो । 

इंग्लिस खेलाडी चार्ल्सवर्थले २३ बलमा ४६ रन बनाएर आकाशसँग पहिलो विकेटमा ८ ओभरमा ७० रन जोड्दै काठमान्डुलाई उत्कृष्ट सुरुआत दिलाए । चार्ल्सवर्थले ५ चौका र ३ छक्का प्रहार गरे । गत सिजन जनकपुरले उपाधि जित्दाका सदस्य आकाशले ४५ बल खेल्दा ५ चौकासहित ३९ रन बनाए ।

चार्ल्सवर्थलाई जनकपुरका यान निकोल लफ्टी इटनले आफ्नै बलिङमा सानदार क्याच गरे । भीम सार्की ७ बल खेल्दै ३ रनमै आउट भए पनि आकाशले संयमित खेल्दै काठमान्डुको इनिङ्स अगाडि बढाए । आकाशलाई सञ्जय कृष्णमूर्तिले बोल्ड गरे ।

मिलिन्द कुमारले २२ बलमा १ छक्कासहित १९ र जोहन सिम्पसनले ६ बलमा समान १ चौका र छक्कासहित १३ रन बनाए । जेहर्राड इरसमस १ र मोहम्मद आदिल अन्सारी ४ बलमा १ छक्का प्रहार गर्दै ८ रन बनाई अविजित रहे । जनकपुरका किशोर महतो, अनिल साह, ललित राजवंशी, लफ्टी इटन र कृष्णमूर्तिले १–१ विकेट लिए । यसअघि आसिफ शेखले अर्धशतक बनाए पनि काठमान्डुले जनकपुरलाई ठूलो स्कोर बनाउन दिएन । काठमान्डुले टस जितेपछि ब्याटिङमा आएको जनकपुरले निर्धारत २० ओभरमा ६ विकेट गुमाई १ सय ३० रनमात्र बनाउन सक्यो । 

पहिलो २ ओभरमा विनाक्षति २६ रन बनाएको जनकपुर १० ओभरमा ५६–४ को स्थितिमा पुग्यो । अमेरिकी अलराउन्डर मिलिन्दले अफ स्पिनको जादु देखाउँदै पाँचौं ओभरमा लाहिरू मिलान्थालाई विकेटपछाडि क्याच र कप्तान अनिल शाहलाई आउट गराई काठमान्डुलाई उत्कृष्ट पुनरागमन गराए ।

लाहिरूले १२ बलमा ७ रन बनाए भने अनिलले आफ्नो जन्मदिनको दिन खाता खोल्न सकेनन् । दुई साताअघि विश्वकप लिग २ मा नेपालविरुद्ध दुई अर्धशतक र यूएईविरुद्ध १ शतक र १ अर्धशतक बनाएका मिलिन्दले आफ्नो अर्को ओभरमा लफ्टी इटनलाई २ रनमा बोल्ड गर्दै जनकपुरलाई उच्च दबाबमा राखे । प्लेयर अफ द म्याच मिलिन्दले ४ ओभरमा १५ रनमात्र खर्चेर ३ विकेट लिए । 

अमेरिकी ब्याट कृष्णमूर्तिलाई सन्तोष यादवले २ रनमा बोल्ड गरेपछि पहिलो १० ओभरको खेलमा काठमान्डु हाबी भयो । मार्की खेलाडी आसिफले ४१ बलमा ५४ रन बनाए । ३७ बलमा अर्धशतक पूरा गरेका उनले ६ चौका र १ छक्का प्रहार गरे । शाहश आलमले आसिफलाई विकेटकिपर सिम्पसनबाट क्याच गराए । लाहिरू समराकुन २१ बलमा २२ रन बनाई आउट भए । अन्तिम ओभरको पाँचौं बलमा करण केसीबाट आउट भएका उनले २ छक्का प्रहार गरे ।

अन्तिम बलको सामना गरेका रुपेश सिंहले चौका प्रहार गरे । मायन यादव ३४ रनमा अविजित रहे । उनले २९ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । मिलिन्दबाहेक काठमान्डुबाट शाहबले ४ ओभरमा २०, सन्तोषले ३ ओभरमा १७ र करणले ४ ओभरमा ३० रन खर्चेर १–१ विकेट लिए । 

१४ ओभरमा ७९ रनमा रहेको जनकपुरले अन्तिम ६ ओभरमा ५१ रन जोडेको थियो । क्रिजमा आएपछि विकेटमा जम्न केही समय लगाएका मयन र समराकुनले अन्तिम २ ओभरमा तीव्र गतिमा रन जोडेका थिए । मंगलबार पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्स र दोस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्ससँग खेल्नेछन् ।

विनोद पाण्डे पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully