फ्लडलाइटको पहिलो खेलमा काठमान्डुको तेजिलो बलिङ

काठमान्डुका कप्तान करण केसीले टस जितेपछि ब्याटिङमा आएको जनकपुरले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशालाको पहिलो पटक फ्लड लाइटमा खेलाइएको खेलमा निर्धारत २० ओभरमा ६ विकेट गुमाई १ सय ३० रनमात्र बनाउन सक्यो ।

मंसिर १, २०८२

कान्तिपुर संवाददाता

Kathmandu's fast bowling in the first match of Floodlight

What you should know

काठमाडौँ — आसिफ शेखले अर्धशतक बनाए पनि मिलिन्द कुमारको उत्कृष्ट बलिङमा काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई १ सय ३० रनको स्कोरमा रोकेको छ ।

काठमान्डुका कप्तान करण केसीले टस जितेपछि ब्याटिङमा आएको जनकपुरले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशालाको पहिलो पटक फ्लड लाइटमा खेलाइएको खेलमा निर्धारत २० ओभरमा ६ विकेट गुमाई १ सय ३० रनमात्र बनाउन सक्यो । 

पहिलो २ ओभरमा विना क्षति २६ रन बनाएको जनकपुर १० ओभरमा ५६–४ को स्थितिमा पुगेको थियो । अमेरिकी अलराउन्डर मिलिन्दले पाँचौं ओभरमा लाहिरु मिलान्थालाई विकेटको पछाडि क्याच र कप्तान अनिल साहलाई आउट गराई काठमान्डुलाई उत्कृष्ट पुनरागमन गराएका थिए ।

लाहिरुले १२ बलमा ७ रन बनाए भने अनिलले खाता खोल्न सकेनन् । मिलिन्दले आफ्नो अर्को ओभरमा यान निकोल लफ्टी इटनलाई २ रनमा बोल्ड गरि जनकपुरलाई उच्च दबाबमा राखेका थिए । अमेरिकी ब्याट सञ्जय कृष्णमुर्थीलाई सन्तोष यादवले २ रनमा बोल्ड गरेपछि पहिलो १० ओभरको खेलमा काठमान्डु हावी भएको थियो ।

मार्की खेलाडी आसिफले ४१ बलमा ५४ रन बनाए । उनले ६ चौका र १ छक्का प्रहार गरे । शाहव आलमले आसिफलाई विकेटकिपर जोन सिम्पसनबाट क्याच गराए । लाहिरु समराकुन २१ बलमा २२ रन बनाई आउट भए । अन्तिम ओभरको पाँचौं बलमा करणबाट आउट भएका उनले २ छक्का प्रहार गरेका थिए ।

अन्तिम बलको सामना गरेका रुपेश सिंहले चौका प्रहार गरे । मायन यादव ३४ रनमा अविजित रहे । उनले २९ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । काठमान्डुका मिलिन्दले ४ ओभरमा १५ रनमात्र खर्चेर ३ विकेट लिएका हुन् । 

१४ ओभरमा ७९ रन रहेको जनकपुरले अन्तिम ६ ओभरमा ५१ रन जोडेको थियो । 

कान्तिपुर

Link copied successfully