म्युनिख — जर्मनीको श्रम मन्त्रालयले बुन्डेसलिगा फेरि भएयता खेलाडीले मैदानमै मास्क लगाउनुपर्ने बताएका छन् । एन्जेला मर्केलले अहिलेसम्म बुन्डेसलिगा सुरु गर्न औपचारिक रूपमा स्वीकृति भने दिएका छैनन् । तर जर्मन फुटबल संघ (डीएफएल) ले अर्को महिना लिग सुरु गर्ने योजना बनाएको छ ।
डीएफएलले खेलाडी र अन्य खेल पदाधिकारीको स्वास्थ्यमा पूरा ध्यान दिएर मे ९ बाट लिग सुरु गर्ने भनेको छ । त्यसक्रममा रंगशालामा दर्शक भने हुने छैनन् । अन्य युरोपेली देशको तुलनामा जर्मनीमा कोरोना भाइरस संक्रमणको महामारी कम छ र अहिलेसम्म त्यहाँ ५ हजार ३ सय २१ को मात्र मृत्यु भएको छ ।
जर्मन मिडियाका अनुसार श्रम मन्त्रालयलले कसरी फुटबल खेलाउने भनेर योजना बनाएको छ । त्यसमा खेलाडी तथा खेल पदाधिकारीले मैदानमै मास्क लगाउनुपर्नेछ । यो मास्क दगुर्ने, हेड गर्ने र टयाकल गर्ने क्रममा खेलाडीको मुखबाट अन्यत्र सार्न पनि पाइने छैन । मास्क आफ्नो स्थितिमा नरहेको खेल रोकिनुपर्नेछ ।
जर्मनीका केही क्लब र खेलाडीले भने मास्क लगाएर फुटबल खेल्न सम्भव नहुने र यो अर्थमा लिग सुरु हुनेमा पनि शंका रहेको बताएका छन् । ती खेलाडीका अनुसार खेलका क्रममा खेलाडीले तीव्र गतिमा श्वास फेर्नुपर्ने हुन्छ र यो मास्क लगाएर सम्भव हुन्न । त्यसैले मैदानमा मास्क लगाएर फुटबल खेल्नु व्यावहारिक पनि हुन्न ।
