एउटै मास्कको भरमा कुरुवा

‘अस्पतालको फार्मेसी र नजिकका मेडिकलमा पाइँदैन, टाढा जान सुरक्षाकर्मीले दिँदैनन्’

वैशाख १५, २०७७

फातिमा बानु

काठमाडौँ — महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको क्यान्टिनमा मंगलबार बिहान १० बजे खाना अर्डर गर्ने र खानेको भीड थियो । कोभिड–१९ को संक्रमण सर्न नदिन कम्तीमा तीन मिटर दूरी कायम गर्नुपर्ने नियम रहे पनि बिरामी कुरुवा एकअर्कासँग टाँसिएर खाना खाने तर्खरमा थिए ।

हात धुने ठाउँमा साबुनका टुक्राटाक्री मात्रै थिए । ‘हात धोएर मात्रै खाना खानु भन्छन् तर यहाँ साबुन हुँदैन,’ एक कुरुवाले भने, ‘कतिचोटि म आफैले साबुन किनेर यहाँ राखिसकें ।’

अस्पतालको आईसीयू कक्षमुनि कुरुवा सुत्ने कोठा छ । त्यहाँ साना खालका सबै बेड टाँसिएका छन् । त्यहीं कुरुवा बस्ने रहेछन् । रात पर्न थालेपछि भुइँमा सुत्न अरू कुरुवा पनि म्याट बोकेर त्यही कोठामा आउँछन् । मंगलबार कान्तिपुरकर्मी पुग्दा केही कुरुवा ‘एकै ठाउँमा ४० जना सुत्नुपर्छ, लौ न कतै मास्क पाइएन, कसरी बच्ने’ भन्दै गुनासो पोखिरहेका थिए ।

धादिङदेखि बुबाको उपचारका लागि अस्पताल आएका दिवस खतिवडाले भने, ‘घरबाट एक महिनाअघि लगाएर आएको एउटै मास्क अहिलेसम्म लगाइरहेको छु, विकल्प नभएपछि के गर्नु ?’ अस्पताल नजिकका मेडिकलमा छान मार्दा पनि मास्क नपाइएको उनले बताए । लकडाउनले बैंक बन्द भएर घरबाट पठाइदिएको खर्च लिन पनि पाएका छैनन् । ‘खाता भएको बैंक अस्पतालनजिक छैन,’ उनले भने, ‘साधन छैन, हिँडेर जाउँm प्रहरीले दिँदैनन् । अस्पतालले यस्तो समस्या बुझ्दैन । औषधि ल्याउनुस्, पैसा डिपोजिट गर्नुस् भन्छन् ।’

भीड गरेर सुत्ने कुरुवालाई अस्पतालले हरेक दिन शरीरको तापक्रम मात्रै नापिदिए पनि केही सुरक्षा हुन्थ्योजस्तो लाग्ने केही कुरुवाले बताए । ‘सर्जिकल मास्क पाइँदैन, कपडाको मास्क किनौं, बाहिर जान दिइँदैन,’ एक कुरुवाले भने, ‘घरबाट ल्याइदे भनौं गाडी चलेको छैन, संक्रमणले कतिखेर छुने हो, थाहा छैन ।’

२० दिनअघि स्याङ्जादेखि बुबाको उपचारका लागि शिक्षण अस्पताल आएका गणेश खनालले एउटै सर्जिकल मास्कको भरमा अस्पतालको बसाइ काटिरहेको सुनाए । मास्क किन्न खोज्दा पनि नपाएको उनको भनाइ थियो । ‘अस्पतालको फार्मेसीमा पनि पाइँदैन,’ उनले भने, ‘बाहिरको फार्मेसीतिर पनि दिनै सोध्न जान्छु, पाइँदैन ।’ मास्कबिना अस्पतालमा हिँड्डुल गर्न दिइँदैन ।

बुबालाई कुर्न अस्पताल आउजाउ गर्न थालेपछि आफन्तका घरबेटीले पनि उनलाई कोठा नफर्के हुन्थ्यो जस्तो व्यवहार गरे । बिरामी कुर्न पालो दिनका लागि घरबाट कोही आउन पाएका छैनन् । ‘क्यान्टिनको खाना धेरै चिल्लो हुन्छ, खानै मन लाग्दैन,’ उनले भने । २० दिन अस्पताल बस्दा, मास्क नपाउँदा र अस्पतालको फोहोरले आफैं बिरामी भएजस्तो लाग्न थालेको उनले बताए । ‘बुबालाई प्यारालाइसिस भइसक्यो, कति दिन अस्पताल बस्नुपर्ने हो थाहा छैन,’ उनले भने, ‘यही अस्पतालमा संक्रमित र शंकास्पद बिरामी भर्ना गर्ने ठाउँ छ, मास्कबिना हिँड्न डर लाग्छ ।’

कुरुवालाई हात धुने ठाउँ अथवा सेनिटाइजरको व्यवस्था गरिदिनुपर्‍यो भन्दै उनी अस्पताल प्रशासनमा गुनासो लिएर पुगिरहन्छन्, प्रशासन प्रमुख उल्टै तर्किन्छन् । ‘यही हातले बिरामी छुन जानुपर्छ,’ उनले भने, ‘आफू त जोखिम मोलेर हिँडेकै छु, बिरामीलाई पनि जोखिममा पार्नुपरेको छ ।’ दिनभरि मैलो मास्क लगाएर हिँड्दा उनको मन त्यति आत्तिँदैन तर जब अस्पतालको गल्लीमा राति ३० जनाको भीडमा सुत्छन्, उनलाई डर लाग्छ । ‘अस्पतालजस्तो संवेदनशील ठाउँमा एक जना मात्र कुरुवा संक्रमित भए भोलि के होला यहाँ ?’ उनले भने ।

जनस्वास्थ्यविज्ञ डा. समीरमणि दीक्षितका अनुसार एउटै मास्क धेरै दिन प्रयोग गर्दा उल्टै अन्य संक्रमणका कीटाणु नाक र मुखबाट भित्र छिर्ने जोखिम हुन्छ । ‘अस्पताल छिर्ने जोसुकैले सफा मास्क प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘फोहोर मास्क प्रयोग गर्नुभन्दा सफा रुमालले मुख छोप्दा सुरक्षित भइन्छ ।’

भाइरसको आक्रमणबाट बच्न सरसफाइमा ध्यान दिनुपर्छ भनिए पनि अस्पतालको शौचालयमा हात धुन साबुन छैन । मूलगेटमा हात धुन भनेर राखिएको ठाउँमा झोल साबुन कहिले हुन्छ, कहिले हुँदैन ।

लकडाउनपछि कुरुवाले रगत लिन जाँदा उस्तै सास्ती झेल्छन् । हिँडेर गए सुरक्षाकर्मीले बाटोमा रोक्छन्, जिल्ला प्रशासनको पास माग्छन् । उनीहरू ५ सय रुपैयाँको रगत किन्न १ हजार भाडा तिरेर एम्बुलेन्समा गइरहेका छन् । दुर्गमबाट उपचारका लागि आएका विपन्न बढी मारमा छन् ।

लकडाउनकोरोना भाइरस

फातिमा

Link copied successfully