मेसिन आए, भीटीएम र किट छैनन्

एकपटकमा ९६ नमुना प्रोसेसिङ गर्ने क्षमताका मेसिन आए, भीटीएम भने ४० वटा मात्र स्टक

वैशाख १५, २०७७

कलेन्द्र सेजुवाल

सुर्खेत — कर्णालीमा बढी क्षमताका दुईवटा आरटी–पीसीआर (रियल टाइम–पोलिमरेज चेन रियाक्सन) मेसिन ल्याइए पनि थ्रोट स्वाबको नमुना संकलन गर्ने र प्रोसेसिङ गर्ने सामान अभाव भएको छ । यसले पीसीआर परीक्षण तीव्र पार्ने प्रदेश सरकारको योजनामा ठेस पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यका अनुसार बिहीबार सुर्खेत ल्याइएका दुईवटा मेसिनमध्ये एउटा आइतबार बिहान जुम्ला पठाइएको छ । जडानको क्रममा रहेको अर्को मेसिन सुर्खेतमा सोमबारबाट सञ्चालनमा ल्याइने भएको छ । जुम्लामा बुधबारसम्ममा सञ्चालनमा आउने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

दुइटै मेसिनले एक पटकमा ९६ वटाको दरले स्वाबको नमुना प्रोसेसिङ गर्न सक्छन् । यसका लागि आवश्यक मात्रामा स्वाब संकलन गर्नुपर्ने हुन्छ । तर प्रदेशमा स्वाब संकलन गरेर प्रयोगशालामा ल्याउन आवश्यक पर्ने भीटीएम (भाइरस ट्रान्सफर मिडिया) र संकलित स्वाब परीक्षण गर्ने पीसीआर प्रोसेसिङ किट सकिएका छन् । प्रयोगशाला संयोजक आचार्यका अनुसार अहिले सुर्खेतस्थित प्रयोगशालामा भीटीएम ४० वटा र प्रोसेसिङ किट करिब २ सय वटा मात्र छन् । ठूलो मेसिन सञ्चालनमा आएमा यी भीटीएम एक–दुई घण्टामै सकिने उनले बताए । ‘परीक्षण गर्ने सामग्री आएनन् भने त मेसिन ल्याउनुको अर्थ के भयो र ?’ उनले भने, ‘सरकारले मेसिनसँगै क्षमता हेरेर किट पनि पठाउनुपथ्र्याे ।’

भीटीएम र प्रोसेसिङ किट नहुँदा वीरेन्द्रनगरको खुलामञ्चस्थित क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको समेत पीसीआर परीक्षण हुन सकेको छैन । त्यहाँ बसेका २ सय १० जनामध्ये पहिलो चरणमा ६५ जनाको स्वाब परीक्षण गर्नुपर्ने अवस्था रहेको आचार्यले बताए । स्वाबको नमुना नहुँदा प्रदेश अस्पतालमा रहेको पीसीआर मेसिनमा समेत शनिबार र आइतबार परीक्षणको काम भएन । आइतबार दैलेखबाट संकलन गरी ल्याइएका ९ वटा नमुना भने परीक्षणका लागि प्रक्रियामा राखिएका उनले जानकारी दिए ।

जुम्लामा त प्रोसेसिङ किट एउटा पनि छैन । प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार मेसिनसँगै ४० वटा भीटीएम भने पठाएको छ । प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले पहिलो चरणमा कम्तीमा ५ सयवटा भीटीएम र प्रोसेसिङ किट माग गरिएको बताए ।

‘हामीसँग पर्याप्त जनशक्ति छ, मेसिन पनि आइपुग्दैछ,’ उनले भने, ‘परीक्षण सामग्री भयो भने जाँचको काम छिटो हुन्छ ।’ पछिल्लो समय माथिल्लो कर्णालीमा भारतका साथै देशका विभिन्न क्षेत्रबाट धेरै जना घर आएका छन् ।

संघीय सरकारले चैत १९ गते कम क्षमताको पीसीआर मेसिनसँगै एक हजार भीटीएम पठाएको थियो । प्रदेश स्वास्थ्य निर्देशक रीता भण्डारीले थप १–१ हजार सेट भीटीएम र प्रोसेसिङ किट माग गरिए पनि अहिलेसम्म नआएको बताइन् । उनका अनुसार सुरुमा आएका ५ हजार थान आरडीटी (र्‍यापिड डाइग्नोस्टिक टेस्ट) किट सकिएपछि थप १० हजार माग गरिएको थियो । संघीय सरकारले भने ३ हजार किट मात्र पठायो । ‘सुरुवातमा भारतलगायत देशबाट आएका व्यक्तिहरूको आरडीटी र पीसीआर गरिसकेका छौं,’ उनले भनिन्, ‘फेरि पनि मान्छेहरू भित्रिने क्रम नरोकिएकाले परीक्षणको संख्या बढाउनुपर्ने हुन सक्छ ।’ उनका अनुसार हालसम्म कर्णालीमा करिब ५ हजार जनाको आरडीटी र ९ सय २६ जनाको पीसीआर परीक्षण भएको छ । भीटीएम र प्रोसेसिङ किटसँगै थप १० हजार आरडीटी किट पनि माग गरिएको उनले बताइन् ।

३ दिनमा भित्रिए ७ हजार

कर्णालीमा आरडीटी र पीसीआर परीक्षणको तीव्रता किन पनि आवश्यक छ भने लकडाउनयता प्रदेशमा भित्रिने व्यक्तिको संख्या अत्यधिक रहेको छ । भारत र देशका विभिन्न ठाउँमा रहेका व्यक्तिहरू उद्धार गरिएर गाउँमा पुगेका छन् ।

सुर्खेत जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबारदेखि शनिबारसम्म तीन दिनमा मात्र बबई नाकाबाट ७ हजार ५५ जना कर्णाली प्रदेशमा प्रवेश गरेका छन् । उनीहरूको आरडीटी त टाढाको कुरा सामान्य स्वास्थ्य परीक्षणसमेत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल रायमाझीका अनुसार यसरी भित्रिनेमा सबैभन्दा बढी कालीकोटका २ हजार ३ सय ६८ जना र त्यसपछि जुम्लाका १ हजार १ सय ८२ जना रहेका छन् । दैलेखका ७ सय ८१ जना, जाजरकोटका ६ सय ९९ जना, डोल्पाका ६ सय ११ जना, सुर्खेतका ५ सय ५० जना, मुगुका ५ सय १३ जना, सल्यानका १ सय ८५ जना र रुकुम पश्चिमका १ सय ६६ जना उद्धारपछि जिल्लामा पुगेका उनको भनाइ छ । ‘यो पछिल्लो संख्या हो, लकडाउनपछि थप व्यक्तिको पनि उद्धार भएको छ,’ उनले भने, ‘पछिल्लो तीन–चार दिनयता भने संख्या ह्वात्तै बढेको छ ।’ उद्धार हुनेमा हुम्लाका एक जना पनि नरहेका उनले बताए ।

अधिकांश व्यक्ति सीधै घरमा पुग्ने गरेका छन् । यो संख्यालाई धान्ने न त क्वारेन्टाइनको क्षमता छ, न उद्धार गर्नेले नै क्वारेन्टाइनमा राख्न बाध्य पार्छन् । कर्णालीका १० वटै जिल्लामा स्थानीय तह र प्रदेश सरकारले बनाएका क्वारेन्टाइनको क्षमता ३ हजार ७ सय २२ बेडको रहेको जिल्ला प्रशासन कार्यालयहरूको तथ्यांकमा उल्लेख छ । त्यसमाथि भारतलगायत संक्रमित मुलुकबाट फर्किनेको संख्या पनि अत्यधिक रहेको छ । जिल्ला प्रशासन कार्यालयहरूको विवरणअनुसार चैत १ गतेयता ५ हजार ७ सय ७६ जना विदेशबाट फर्किएका छन् ।

लकडाउनकोरोना भाइरस

कलेन्द्र

Link copied successfully