मिलले सित्तैमा कुटिदिन्छ धान

सहकारीले खाद्यान्न ओसार्ने र घरघर पुर्‍याइदिने व्यवस्थासमेत मिलाएको छ

वैशाख १५, २०७७

रमेशकुमार पौडेल

चितवन — धान कुटेर चामल बनाउँदा प्रतिकिलो दुई रुपैयाँ ज्याला तिर्नुपर्छ । तर पश्चिम चितवनको शुक्रनगरमा एउटा सहकारीले कुटानी–पिसानी मिल सञ्चालन गरेको छ, जहाँ धान सित्तैमा कुट्न पाइन्छ । धान कुटेर आउने ढुटो (मसिनो र नरम भुस) छाडे उल्टै एक रुपैयाँ फिर्ता पाइन्छ । धान कुटाउन, मकै पिसाउन वा तोरी पेल्न पर्‍यो भने भारी बोकेर जानुपर्दैन । सरहकारीले नै घरबाट ल्याउने, पुर्‍याउने जिम्मा लिन्छ ।

भरतपुर महानगरपालिका–२४ शुक्रनगरमा रहेको केरुङ्गा ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी लिमिटेडले मिल सञ्चालन गरेको हो । गाउँमा मिल भएपछि आफूहरुलाई निकै सजिलो भएको स्थानीय सन्तकुमारी मोक्तानले बताइन् । उनी मिलमा तेल पेल्न आएकी थिइन् । तोरी पेलेको मिलले प्रतिकिलो आठ रुपैयाँ लिन्छ । पिना नलगे उल्टै दुई रुपैयाँ फिर्ता पाइन्छ । अरू ठाउँमा तेल पेल्न जाँदा प्रतिकिलो १० देखि १२ रुपैयाँसम्म भाडा लाग्ने गरेको थियो । अर्का स्थानीय ज्ञानप्रसाद गौतम मकै पिन्न मिलमा आएका थिए । ‘पहिला टाढा जानुपर्दथ्यो । अहिले नजिकै मिल चल्यो । पहिला एक क्विन्टल मकै पिसेको ५ सय रुपैयाँ तिर्नुपथ्र्यो । यहाँ ३ सय छ,’ उनले भने ।

लकडाउनले अन्यत्र चहलपहल घटेको छ । तर सहकारीले चलाएको यो मिलमा कुटानी–पिसानीका लागि मान्छेहरु आउनेजाने भइनै रहन्छ । मिल चलिरहेकै छ । मिलमा भारी बोकेर आउन नपर्ने सुविधा पनि गाउँलेले पाएका छन् । सहकारीको सानो पिकअप भ्यानले घरघरमा पुगेर कुट्नेपिस्ने वस्तु लिन आउँछ । कुटेपिसेपछि गाडीमै राखेर घरघरमै पुर्‍याइदिन्छ । यसबापत् किलोको ५० पैसा भाडा तिरे पुग्छ ।

‘मान्छे नै नआए पनि हामीले कुटेर, पिसेर घरमै पुर्‍याउने व्यवस्था मिलाएका छौं,’ सहकारीका अध्यक्ष जनकराज पुरीले भने । २०५९ सालमा खुलेको सहकारीमा ४ सय ५० सदस्य छन् । मिलले सहकारीको सदस्य नभएका व्यक्ति र बाहिर छिमेकी वडाका बासिन्दाको पनि कुटानी, पिसानी गर्दै आएको छ । ।

‘हामीले महिनामा अहिले ७० हजार रुपैयाँ जति कमाउने गरेका छौं । ६०/६५ हजार रुपैयाँ खर्च नै छ । मिल चलाएर आम्दानी गर्नुभन्दा सहकारीका सेयर सदस्य र स्थानीयलाई सुविधा दिन खोजेका हौं । कृषि कर्ममा उनीहरु निरन्तर जोडिऊन् भन्ने हाम्रो चाहना हो,’ अध्यक्ष पुरीले भने ।

लकडाउन

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully