रोकियो यार्चागुम्बु संकलन

यार्चा संकलनका लागि विभिन्न जिल्लाबाट हजारौं व्यक्तिहरु भित्रिँदा कोरोना भाइरस रोगको संक्रमणको जोखिम भएकाले यो वर्ष संकलनमा प्रतिबन्ध

वैशाख १५, २०७७

मनोज बडू, हरि गौतम

काठमाडौँ, लमजुङ, रुकुम, दार्चुला — कोरोना भाइरस रोग संक्रमणको जोखिमका कारण यो वर्ष मुलुकका सबैजसो भागमा ‘बहुमूल्य’ यार्चागुम्बु संकलन नहुने भएको छ । अब यार्चाको सिजन सकिने भएकाले अर्को वर्ष मात्र संकलन हुने भएको हो ।

कर्णाली प्रदेशका डोल्पा र मुगु, प्रदेश ५ को पूर्वी रुकुम, सुदूरपश्चिम प्रदेशका दार्चुला र बझाङ तथा गण्डकी प्रदेशका मनाङ, म्याग्दी र गोरखालगायतका जिल्लामा सबभन्दा बढी यार्चागुम्बु संकलन हुन्छ । वैशाखदेखि असारसम्म यार्चा संकलन गर्ने समय हो ।

मुलुकमै सबभन्दा बढी यार्चा संकलन हुने डोल्पास्थित् से–फोक्सुण्डो निकुञ्जमा यार्चा संकलनमा प्रतिबन्ध लगाइएको छ । यार्चागुम्बु व्यवस्थापन (संकलन तथा ओसारपसार) निर्देशिका २०७३ बमोजिम बर्सेनि निकुञ्जको भित्री भाग र मध्यवर्ती क्षेत्रमा यार्चा संकलन गर्न निकुञ्जले दस्तुर लिएर अनुमति दिने व्यवस्था छ । हिमाली क्षेत्रमा स्थानीयवासीको मुख्य आयको स्रोत नै यार्चागुम्बु हो । यार्चा संकलन गर्ने उद्देश्यले जाडो छल्न तल्लो क्षेत्र र काठमाडांै आएका स्थानीयहरु लकडाउन सुरु नहुँदै जिल्ला फर्किसकेका छन् ।

हिमाली निकुञ्ज नियमावली २०३६ को नियम २४ मा यार्चा संकलन गर्नका लागि जाने मध्यवर्ती क्षेत्रभित्रका बासिन्दासँग ५ सय, मध्यवर्ती क्षेत्रबाहेक निकुञ्ज रहेको जिल्लाका बासिन्दासँग २ हजार र अन्य जिल्लाका बासिन्दासँग ३ हजार रुपैयाँ दस्तुर लिने गरिएको छ ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रभित्र संकलन भएको यार्चा निकासी अनुमति निकुञ्ज र डिभिजन वन कार्यालयले व्यवस्थापन गर्ने क्षेत्रमा संकलित यार्चाको निकासी डिभिजनल वन अधिकृतले दिने व्यवस्था छ । सरकारले पुरानो वन नियमावलीमा प्रतिकिलो यार्चामा ३० हजार रुपैयाँ राजस्व तोकेको छ ।

प्रतिकिलो ४० लाख रुपैयाँसम्म पुगेको यार्चाको बजारभाउमा भने पछिल्लो केही वर्ष यता गिरावट आएको छ । नेपालका यार्चा धेरैजसो चिनियाँ बजार, सिंगापुर र युरोपेली मुलुक निकासी हुन्छ । यार्चाबाट शक्तिबद्र्धक टनिकका साथै र अन्य विभिन्न प्रयोजनमा प्रयोग हुन्छ ।

निकुञ्जका कामु प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले सरोकारवाला निकायहरुसँगको छलफलपछि रोक लगाउने निर्णय गरिएको बताए । डोल्पाको यार्चा ठूलो आकारको हुने र मूल्य पनि बढी पाइने भएकाले तीन दर्जनभन्दा बढी जिल्लाका सर्वसाधारण यार्चा संकलन गर्न त्यहाँ जान्थे ।

‘यार्चा खोज्न बाहिरी जिल्लाहरुबाट दशौं हजार संकलकर्ता भित्रिन्छन् । यस्तो भए यस क्षेत्रका बासिन्दा र वन्यजन्तुमा कोरोना संक्रमणको उच्च जोखिम हुने भएकाले संकलन बन्देज लगाउने निर्णय गरिएको छ,’ पौडेलले डोल्पाबाट कान्तिपुरसित भने, ‘यार्चा संकलन गरिने पाटनहरुमा कोही पनि नजाऊन् भनेर हरेक नाकामा सुरक्षाकर्मी र निकुञ्ज कर्मचारी खटाइनेछ ।’

डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको अध्यक्षतामा केही दिनअघि बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले निकुञ्जको भित्री भाग, मध्यवर्ती क्षेत्र र डिभिजन वन कार्यालयले व्यवस्थापन गर्ने क्षेत्रमा पर्ने पाटनहरुमा यार्चा संकलन रोक लगाउने निर्णय गरेको थियो ।

से–फोक्सुण्डो निकुञ्जको माथिल्लो डोल्पाका डोल्पोबुद्ध र से–फोक्सुण्डो गाउँपालिकाका सबै पाटनहरुमा यार्चा पाइन्छ । तल्लो डोल्पाका त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिका तथा काइके र जगदुल्ला गाउँपालिकाका क्षेत्रमा पनि यार्चा पाइन्छ । विगतका वर्षहरुमा ती पाटनमा यार्चा संकलन गर्न हजारौं सर्वसाधारण पुग्ने गरेका थिए । जेठदेखि असारसम्म यार्चा संकलन गर्ने र यार्चा किन्ने व्यापारीहरुको डोल्पाका पाटनहरुमा घुइँचो नै हुन्थ्यो ।

डोल्पालगायतका क्षेत्रमा यार्चागुम्बुबारे अनुसन्धान गरेका ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्पिलनरी स्टडिजका निर्देशक डा.उत्तमबाबु श्रेष्ठका अनुसार यार्चागुम्बुलाई नटिपी यत्तिकै छाड्दा अर्को वर्ष पुनर्उत्पादनमा सहयोग पुग्छ । जमिनमुनिको कीराको शरीर ढुसीको खानेकुराको रूपमा प्रयोग गरेर सकिन्छ, श्रेष्ठले कान्तिपुरसित भने, जमिनमाथिको ढुसीमा रहेको स्पोरहरु वयस्क भएपछि हावा र माटोमा छरिन्छन् र बाँकी रहेको शरीर कुहिन्छ ।

हावामा छरिएको स्पोरले अर्को वर्ष जीवित कीरालाई संक्रमण गर्न सक्ने र त्यसबाट यार्चाको प्रजनन्मा सहयोग पुग्ने उनको विश्लेषण छ । निकुञ्जका अनुसार आर्थिक वर्ष २०७५, ७६ मा यार्चाबाट ३ करोड ११ लाख १० हजार ५ सय रुपैयाँ राजस्व जम्मा भएको थियो भने १४ हजार ८ सय ८३ जना संकलनकर्ता पुगेका थिए ।

निकुञ्ज प्रमुख पौडेलले पछिल्ला केही दिनमा यार्चा संकलनका लागि निकुञ्जमा अत्यधिक हुने चापका कारण निकुञ्जभित्र विनाश हुने क्रम बढेकाले जिल्लाका व्यक्तिलाई मात्र प्रवेश दिनु उपयुक्त हुने सुझाव वन तथा वातावरण मन्त्रालय र निकुञ्ज विभागलाई दिएका छन् । विगतमा यार्चा संकलन गर्न गएका अरू जिल्लाका संकलनकर्ता र स्थानीयबीच झडपसमेत भएर केहीको ज्यान गएको थियो ।

आव २०७१, ७२ मा १४ हजार, ७२, ७३ मा ७ हजार, ७३, ७४ मा ६ हजार। ७४ र ७५ मा ८ हजार जना यार्चा संकलनका लागि निकुञ्ज प्रवेश गरेका थिए ।

रुकुम (पूर्व) मा पर्ने पाटनहरुमा यार्चा संकलन खुलाउने नखुलाउनेबारे स्थानीय तहहरु छलफलमै छन् । रुकुम (पूर्व) को पुथाउत्तरगंगा गाउँपालिकाकाको १ देखि ४ वडाका पाटन यार्चा पाइने मुख्य स्थान हुन् ।

सुदूरपश्चिको दार्चुलास्थित अपिनम्पा संरक्षण क्षेत्र आयोजनाले पनि यो वर्ष यार्चा संकलनमा रोक लगाइएको सूचना जारी गरिसकेको छ । डिभिजन वन कार्यालय, दार्चुलाका प्रमुख गोकुल रिजालले यार्चा भएको क्षेत्रमा यो वर्ष कोरोना संक्रमणको त्रासका कारण प्रतिबन्द लगाएको सूचना जारी भइसकेको जानकारी दिए ।

डिभिजन वन कार्यालय बझाङ र मुगुले पनि यो पटक यार्चा सकंलनमा प्रतिबन्ध लगाएका छन् । गण्डकी प्रदेशको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत पर्ने मनाङमा पनि यो पटक यार्चा संकलन रोक लगाइएको छ । मनाङका सांसद पोल्देन छोपाङ गुरुङका अनुसार मनाङका सबै भेगमा यार्चा संकलनमा प्रतिबन्ध लगाइएको यो पहिलो पटक हो ।

मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले कोरोना संक्रमणलाई मध्यनजर गर्दै सरोकारवाला निकायसँग छलफल गरेर यो पटक बन्देज लगाउने निर्णय गरिएको बताए । मनाङको लेकमा हरेक वर्ष सिजनमा ५ देखि ७ हजार मानिस यार्चा संकलन गर्न पुग्थे । एक्यापको मनाङ कार्यालयका संरक्षण अधिकृत बाबुलाल तिरुवाले यार्चा पाइने क्षेत्रको निगरानी आफूहरुले गर्ने विश्वास दिलाएका छन् ।

मनाङको नासो गाउँपालिकामा पर्ने साविक थोंचे र धारापानी गाविसबाहेक सबै लेकमा यार्चा पाइन्छ । एक्यापको व्यवस्थापन समितिले यार्चा टिप्नेलाई संकलन पुर्जी दिन्छ । तिरुवाका अनुसार गत वर्ष यार्चा संकलन गर्न जाने व्यक्तिसँग गत वर्ष १० हजारदेखि २० हजार रुपैयाँ दस्तुर लिइएको थियो ।

लकडाउनकोरोना भाइरस

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

हरि

Link copied successfully