सरकारी कम्पनीले प्रतिकिलो ७३ लिन्छ, व्यापारीले असुल्छन् ९० रुपैयाँ
काठमाडौँ — काठमाडौंको बगलामुखी निवासी राजेन्द्र श्रेष्ठले चैत पहिलो साता एक किलो चिनी किन्न ७५ रुपैयाँ खर्चिएका थिए । लकडाउनपछि भने वैशाख पहिलो साता उनले त्यति नै चिनी किन्न ९० रुपैयाँ तिर्नुपर्यो । ‘एक महिनामा किलोमै १५ रुपैयाँ बढेको रहेछ,’ उनले भने, ‘चिनीमा बढी मूल्य लिएको सन्दर्भमा उजुरी गरेको छु ।’
लकडाउनको मौकामा बिनाकारण चिनीको मूल्य अकासिएको छ । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले पनि मूल्य बढेको स्विकारे । संघका अनुुसार एक महिनाअघि होलसेलबाट प्रतिकिलो ७० रुपैयाँमा चिनी पाइन्थ्यो । त्यसलाई ७५ रुपैयाँसम्ममा बेचिन्थ्यो । ‘तर दुई सातामा किलोमै ५ रुपैयाँ बढ्यो,’ अध्यक्ष श्रेष्ठले भने, ‘बढ्ने क्रम रोकिएको छैन । बहाना भने ढुवानी भएको छ ।’
मूल्य बढ्नुमा चिनी उद्योगभन्दा मध्यस्थकर्ता भएको उनको भनाइ छ । चिनीका लागि कच्चा पदार्थ आयात गर्नु पर्दैन । स्वदेशमै उत्पादित उखु क्रसिङ गरिएको छ । ‘क्रसिङ सिजन भएकाले बजारमा उपलब्ध चिनी नेपाली हो,’ अध्यक्ष श्रेष्ठले भने, ‘त्यसकारण बढ्नुपर्ने कारण छैन ।’
अहिले खुद्रा व्यापारीले होलसेलमा प्रतिकिलो ७९.५० रुपैयाँ तिर्ने गरेको उनले जानकारी दिए । झोला/लोडअनलोडसहित गर्दा किलोको करिब ८५ रुपैयाँसम्ममा बिक्री गर्नुपर्ने बाध्यता भएको बताए । धेरै परिमाणमा खरिद गर्न नसक्ने साना व्यापारीले भने किलोमा ९० रुपैयाँसम्म लिएको उनले स्विकारे ।
‘स–साना व्यापारी (एक बोरासम्म किन्न सक्ने) ले प्रतिकिलो ९० रुपैयाँसम्म लिएका छन् । ठूला होलसेलले मूल्य बढाएको सन्दर्भमा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई जानकारी गराएका छौं,’ श्रेष्ठले भने, ‘तर, विभागले पनि केही गरेन । ऐन–कानुन सानालाई मात्रै भयो ।’
नेपाल चिनी उद्योग संघका उपाध्यक्ष राजकुमार अग्रवालले पनि उद्योगीहरूले मूल्य नबढाएको दाबी गरे । होलसेल र खुद्रा व्यापारीले मात्र मूल्य बढाएको उनको दाबी छ । ‘भ्याटबाहेक चिनीको फ्याक्ट्री गेट मूल्य ६५ रुपैयाँ हो,’ उनले भने, ‘बजारमा बढ्नु मूर्खता हो । यसमा अनुगमन आवश्यक छ ।’
चिनीको मूल्यमा भइरहेको मनपरीबारे अनुसन्धान भइरहेको विभागका अनुगमन शाखा निर्देशक सागर मिश्रले जानकारी दिए । ‘भ्याट बिल कतिमा आएको छ । त्यसअनुसार मूल्य निर्धारण हुन्छ । व्यवसायीले भने ढुवानी र श्रमिकको कुरा गरेका छन्,’ उनले भने, ‘उद्योगीसँग कागजपत्र मागेका छौं । अन्य विषयमा पनि अनुसन्धान भइरहेको छ ।’ व्यापारीहरूले चिनी प्रतिकिलो ८५ देखि ९० मा बिक्री गरिरहँदा साल्ट ट्ेरडिङ कर्पोरेसनले भने प्रतिकिलो ७३ रुपैयाँमै बेचिरहेको छ । कर्पाेरेसनका आउटलेट र घुम्ती सेवाबाट प्रतिकिलो ७३ रुपैयाँमा बिक्री भइरहेको सहायक महाप्रबन्धक कुमार राजभण्डारीले जानकारी दिए ।
डिलरलाई प्रतिकिलो ७० रुपैयाँदेखि ७१ रुपैयाँसम्ममा उपलब्ध गराइएको उनले बताए । तर कर्पोरेसनसँग पर्याप्त चिनी छैन । राजभण्डारीका अनुसार साल्टसँग करिब ५ हजार टन मात्रै मौज्दात छ । डिलरलाई बिक्री गरिएको छैन । बजार हस्तक्षेप गर्न सरकारले केही सहुलियतमा साल्टलाई चिनी आयात अनुमति दिन्छ ।
गत दसैंमा करिब १० हजार टन आयात स्वीकृति दिएको थियो । त्यसमा करिब ५ हजार टन बिक्री भइसकेको छ । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई पनि सहुलियत दरमा १० हजार टन आयात गर्न स्वीकृति दिएको थियो । तर खाद्य कम्पनीले अझै ल्याउन सकेको छैन ।
दसैंतिहारका बेला दुई–तीन महिनामा चिनी खपत बढेर ३० हजार टन पुग्छ । ‘यस हिसाबले तीन महिनालाई मात्रै चिनी ल्याउनुपर्ने देखिन्छ,’ राजभण्डारीले भने, ‘उखुको क्रसिङ भर्खर सकियो । तर, उद्योगीहरूलाई यकिन मौज्दात थाहा छैन ।’
यसअघि उद्योगीहरू पर्याप्त मौज्दात रहेको जनाउँदै चिनी आयातमा परिमाणात्मक बन्देजदेखि भन्सार बढाउन सफल भएका थिए । साल्ट र व्यापारीले बेच्ने चिनीको गुणस्तरमा धेरै अन्तर रहेको जानकारहरू बताउँछन् । साल्टले बिक्री गर्ने चिनी गुणस्तर भएको राजभण्डारीको दाबी छ ।
त्यसैले बजार मूल्य हस्तक्षेप गर्न चिनी आयात गर्नुपर्ने उनले सुझाए । साल्टले करिब ५० प्रतिशत भन्सार छुटमा चिनी ल्याउँछ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले पनि मूल्य बढ्नुपर्ने कारण नभएको दाबी गरिन् ।
