लकडाउनका बेला ई–बिडिङमार्फत ठेक्का

सहज अवस्था आएपछि मात्र खोल्न पाइने

वैशाख १५, २०७७

विमल खतिवडा

काठमाडौँ — लकडाउनका बेला ई–बिडिङमार्फत ठेक्का हाल्ने प्रक्रिया रोकिएको छैन । विभिन्न सार्वजनिक निकायले आह्वान गरेका टेन्डर इन्टरनेटका माध्यमबाट हाल्न पाउने भएपछि सजिलो भएको छ । टेन्डर हाल्न पाए पनि यो अवधिमा खोल्न भने पाइने छैन ।

‘बिड खोल्न रोकिएको छ,’ सार्वजनिक खरिद अनुगमन कार्यालयका कानुन शाखा निर्देशक राजेशकुमार थापाले भने, ‘लकडाउनभर ठेक्का हाल्ने समय बढाउँदै लगिएको छ ।’ विशेष परिस्थितिमा भने खरिद ऐनअनुसार छिटो गर्नुपर्ने प्रक्रियाका लागि ई–बिडिङ नगरिएको उनले बताए ।‘कोरानाका कारण विशेष परिस्थितिमा स्वास्थ्य सामग्री तथा औषधि खरिद गर्नुपरे लामो समय दिन सकिन्न,’ उनले भने, ‘यसमा हार्ड कपी नै प्रयोग गर्ने गरिएको छ, यसबाहेक अरू ठेक्का ई–बिडिङमै हुने गरेको छ ।’

ई–बिडिङमा सिलबन्दीको १५ दिन, अरू ठेक्काको ३० दिन र इन्टरनेसनल ठेक्काकामा ४५ दिनको समय तोकिएको हुन्छ । विभिन्न सार्वजनिक निकायमार्फत धेरै टेन्डर आह्वान हुने समय हो, यो । ई–बिडिङमा सुरुमा वान टाइम पासवर्ड (ओटीपी) सम्बन्धित आयोजना तथा कार्यालयको नाममा दिइएको हुन्छ । ‘पासवर्ड भएपछि ठेक्का खोल्ने, बन्द गर्ने, म्याद थप गर्ने/नगर्ने सबै अधिकार उनीहरुलाई नै हुन्छ,’ थापाले भने, ‘जुन कार्यालयले ठेक्का गर्ने हो, उसैलाई हुन्छ । कहिलेकाहीँ देशभर एकमुष्ट ठेक्का अवधि बढाउनुपरे सिस्टमबाट सार्वजनिक खरिद अनुगमनको कार्यालयबाट हुन्छ ।’

लकडाउनमा ठेक्का नखुल्ने भए र म्याद थप्नुपर्ने भए अनलाइनबाटै गर्न मिल्छ । ‘लकडाउन लम्बियो भने ठेक्काको अवधि पनि बढ्छ,’ उनले भने, ‘खोलिएको ठेक्काको मूल्यांकन प्रक्रिया अघि बढाउन समस्या भएन । बोलपत्र पेस गर्ने समय लकडाउनले गर्दा बढाउन भनेर अर्को सूचना जारी गरिनेछ ।’

लकडाउनले ई–बिडिङमा कुनै पनि प्रभाव नपारेको कार्यालयका सूचना प्रविधि शाखाका निर्देशक मुकेश रेग्मी बताउँछन् । ‘टेन्डर आह्वान गर्नेले गरिरहेका छन् । हाल्नेले हालिरहेका छन्,’ उनले भने, ‘पुँजीगत खर्च गर्ने बेला पनि यही हो, त्यसैले स्वाभाविक रूपमा ठेक्का हाल्ने प्रक्रिया बढ्न छ ।’ औसतमा दिनमा करिब २ सय ठेक्का ई–बिडिङमार्फत हाल्ने गरिएको उनले जानकारी दिए । ‘यसअघि सोमबारसम्म खोल्न नपाइने भनेर सूचना आएको थियो,’ उनले भने, ‘लकडाउन थपिएपछि यसको समय बढ्नेछ ।’

बैंक खासै नखुलेका र ठेक्का खोल्दा मिलेमतो हुन सक्ने भन्दै सार्वजनिक खरिद अनुगमनको कार्यालयले लकडाउनका बेला ठेक्का खोल्न नपाइने सूचना जारी गरेको हो । ‘तर स्थानीय निकायबाट काम रोकियो, ठेक्का खोल्न नपाएर निर्माणको काम अवरुद्ध भयो भन्ने गुनासा आएका छन्,’ रेग्मीले भने, ‘यसबारे कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गरी निर्णय गर्छाैं ।’ पछिल्लो समय ई–बिडिङ गर्ने ट्ेरन्ड भने बढेको छ । यसले बिडर र सार्वजनिक निकायलाई पनि सजिलो भएको उनको भनाइ छ ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिहंले भने लकडाउनको समयमा टेन्डरमा सहभागिता जनाए पनि पछि पुन: ग्यारेन्टी पेस गर्नुपर्ने बताए । ‘म्याद थप हुँदै गएपछि जुन दिन अन्तिम दिन हुन्छ, त्यो दिनदेखिको १ सय २० दिनको ग्यारेन्टी चाहिन्छ,’ उनले भने, ‘एक महिनाअघि नै मैले ठेक्का हालेको छु भनेर पाइँदैन । तोकेको दिनको ग्यारेन्टी हुन्छ, ठेक्का हालेर बस्न भने पाइयो ।’

सहज रूपमा बैंक नखुल्दासम्म ग्यारेन्टी बनाउन समस्या रहेको उनको भनाइ छ । ‘यस्तो बेलामा दुर्गममा बसेकालाई असहज हुन्छ,’ उनले भने, ‘सबै इन्टरनेटको पहुँचमा हँुदैनन् ।’

नयाँ ठेक्काका लागि लकडाउनको म्याद थप हुने सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए । ‘कुनै पनि ठेक्का सूचना निकालेको ३० दिनभित्र हालिसक्नुपर्ने भन्ने प्रावधान छ,’ उनले भने, ‘तर यसमा सार्वजनिक निकायका प्रमुखले आवश्यकताअनुसार समय थप्न सक्छन् ।’ ई–बिडिङमार्फत ठेक्का हाल्ने व्यवस्था भएकाले समस्या नभएको उनले बताए ।

लकडाउन

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully