देशभरका प्रयोगशालामा दिनहुँ २ हजार नमुना परीक्षण गर्न सकिने अवस्था रहे पनि पाँच दिनयता दिनहुँ करिब ३ सय नमुनाको मात्रै पीसीआर परीक्षण भइरहेको छ ।
काठमाडौँ — सातै प्रदेशमा पीसीआर परीक्षण गर्ने प्रयोगशालाको संख्या बढ्दै गए पनि पछिल्लो समय नमुना परीक्षणमा भने कमी आएको छ । विज्ञहरूले पीसीआर परीक्षण बढाउन सुझाव दिइरहे पनि पाँच दिनदेखि हरेक दिन करिब तीन सय नमुना मात्रै परीक्षण भइरहेको छ ।
आइतबार २४ घण्टामा देशभरका १५ प्रयोगशालामा २ सय ६५ वटा नमुनाको पीसीआर परीक्षण भएको थियो । राजधानीबाहिर पहिलो पटक बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ठीक ३० दिनअघि पीसीआर परीक्षण सुरु भएको थियो । हाल यस्तो प्रयोगशालाको विस्तार मुलुकमा १५ ठाउँमा भइसके पनि अझै अपेक्षित नमुना परीक्षण हुन नसकेकोमा विशेषज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
‘सरकारले हाल संक्रमणको द्रुत विस्तार भइरहे पनि दिनहँु अधिकतम दुई–तीन सय नमुनाको पीसीआर परीक्षण गर्नु अक्षम्य हो,’ त्रिवि शिक्षण अस्पतालको बायोकेमिस्ट्री विभागका डा.विनोदकुमार यादवले भने, ‘पीसीआरको संख्यामा यसरी कमी गरिँदा मुलुक कोरोना महामारीको भुमरीमा पर्ने सम्भावना बढ्दो हुन्छ ।’ राष्ट्रिय मानवअधिकार आयोगले पनि पीसीआर विधिबाट परीक्षण बढाउन सरकारलाई आग्रह गरिसकेको छ ।
हाल ७७ जिल्लामा दु्रत परीक्षण किट (आरडीटी) बाट भएको परीक्षणको विश्वसनीयतामा व्यापक विवाद आएपछि यसकै भरपर्ने उपयुक्त नभएको औंल्याउँदै उनले हाल पीसीआर परीक्षण बढाउनुपर्ने बताए । पीसीआर परीक्षण जति धेरै, उति संक्रमणको अवस्था थाहा हुने विज्ञहरूको भनाइ छ । मुलुकभरिमा पीसीआर परीक्षण बढाउनुपर्ने औंल्याउँदै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलोजिस्ट एवं एपिडिमियोलोजिस्ट डा.श्रवणकुमार मिश्रले भने, ‘हामी धनगढीमा दिनहुँ ९० वटासम्म नमुनाको पीसीआर परीक्षण गर्न सक्छौं तर नमुना नै थोरै आएकाले दिनहुँ ३०–४० वटा मात्र परीक्षण गर्ने गरेका छौं ।’
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हाल दुईवटा पीसीआर मेसिन सञ्चालित छन् । प्रतिष्ठानको माइक्रोबायोलजी विभागका डा.नारायणराज भट्टराईका अनुसार जटिल परिस्थितिमा एक दिनमा धरानमा दुई सय नमुना पीसीआर विधिबाट परीक्षण गर्न सकिन्छ । विशेषज्ञहरूका अनुसार संक्रमणको विस्तार रोक्नका लागि व्यक्ति विशेषको तत्कालको रोगको अवस्थाबारे जान्नु आवश्यक हुन्छ ।
नेपालजस्तो मुलुकमा पाँच जनाको कन्ट्याक्ट ट्रेसिङ गरेर संक्रमणको सन्जाल तोड्न करिब दुई हजार जनाको स्वास्थ्य अवस्था जान्नुपर्ने स्थिति देखिएको औंल्याउँदै डा.मिश्रले भने, ‘अझ हामीकहाँ एसिम्प्टोम्याटिक (लक्षण नभएको) र नदेखिने लक्षण भएको केस देखिने गरेकाले संक्रमण विस्तार हुन नदिन विस्तृत रूपमा पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ ।’
स्वास्थ्य मन्त्रालयका एक पदाधिकारीका अनुसार केही दिनयता भीटीएम (नमुना संकलन र ओसारपसार गर्न चाहिने कल्चर मिडियम) को अभाव हुँदा हाल नमुना संकलन कम भएको छ । गत बिहीबार सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले परीक्षणका लागि स्वास्थ्य सामग्रीको अभाव नभएको दाबी गरेका थिए ।
पीसीआर प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन गर्न परीक्षणका लागि नमुना अपुग भएको स्वास्थ्य मन्त्रालयका अर्का एक पदाधिकारीले बताए ।
‘पीसीआर परीक्षणमा चाहिने सबै सामग्रीको नियमित आपूर्ति सुनिश्चित हुनुपर्यो,’ ती अधिकारीले भने, ‘एउटा सामग्री एक साता पाइएन भने परीक्षणको संख्यामा कमी हुनुका साथै यसको असर पछिसम्म रहन्छ ।’
हालको संरचनामा मुलुकभरि भएका प्रयोगशालाहरूबाट दिनहुँ करिब तीन हजार नमुना पीसीआर विधिबाट परीक्षण गर्न सकिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक प्राविधिकले बताए । ‘हामीकहाँ (जनस्वास्थ्य प्रयोगशाला टेकु) नै यही संरचना र जनशक्तिको अधिकतम उपयोग गरेर दिनहुँ १५ सय नमुनासम्मको पीसीआर विधिबाट नमुना परीक्षण गर्न सकिन्छ,’ उनले भने । उनका अनुसार हाल धरान, पोखरा, धनगढी, धुलिखेल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला लगायतमा पीसीआर परीक्षणको नमुनामा उल्लेख्य वृद्घि गर्न सकिन्छ ।
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेलले अहिले दिनहँु दुई हजार पीसीआर नमुना परीक्षण गर्ने अवस्था रहेको बताए । गत चैत २९ गते एक दिनमा सबैभन्दा बढी ८ सय ९९ वटा नमुनाको पीसीआर परीक्षण भएको थियो । उक्त दिन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै ६ सय ९ वटा नमुना परीक्षण भएको थियो ।
दक्षिणपूर्वी एसियामा भुटानपछि नेपालको अवस्था राम्रो
स्वास्थ्य मन्त्रालयले दक्षिणपूर्वी एसियाका ११ मुलुकमा कोभिड–१९ को संक्रमणअन्तर्गत भुटानपछि दोस्रोमा नेपालको अवस्था सामान्य रहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले दक्षिणपूर्वी एसियाअन्तर्गत भुटानमा ७ र नेपालमा ५२ जना संक्रमित देखिएको बताए । हालसम्म यो दुवै मुलुकमा कोभिड–१९ ले कुनै व्यक्तिको मृत्यु भएको छैन ।
सार्क र सेरोफेरोका मन्त्रीस्तरीय भर्चुअल छलफलमा नेपालको स्थिति अन्य देशको दाँजोमा ठिकै रहेको देखिएको डा.देवकोटाले बताए । उनले परीक्षणको कुरामा समेत भुटान र माल्दिभ्सलाई छाडेर अन्य देशको दाँजोमा नेपालको स्थिति ठीक रहेको दाबी गरे ।
स्वास्थ्य मन्त्रालयले आइतबार २४ घण्टामा मुलुकभरि २ सय ६५ नमुनाको पीसीआर परीक्षण भएको जनाएको छ । यस्तै हालसम्म ९,९३१ नमुनाको पीसीआर परीक्षण भएको हो । आइतबार २४ घण्टामा १,७६६ नमुना द्रुत परीक्षण किट (आरडीटी) बाट परीक्षण गरिएको छ । हालसम्म मुलुकमा ४१,४३६ नमुनाको आरडीटी परीक्षण गरिएको छ ।
हाल देशभरिमा १७,०२५ जना क्वारेन्टाइनमा छन् भने उपत्यकामा ६ जना र उपत्यकाबाहिर १ सय ४ जना गरी कुल १ सय १० जना आइसोलेसनमा छन् । ३६ जना कोभिड संक्रमितको उपचार भइरहेको छ । उपचारमा रहेका सबै जनाको स्वास्थ्य स्थिति सामान्य छ । हालसम्म कोभिड–१९ संक्रमित कुल ५२ जनामध्ये १६ जना डिस्चार्ज भएर अस्पतालबाट घरसमेत फर्किसकेका छन् ।
लायन्स क्लबले ५७ लाख ५० हजारबराबरको २ हजार थान पीपीई, ५ हजार थान एन–९५ मास्क, ५ हजार थान सर्जिकल मास्क, २० हजार थान ग्लब्सलगायतका स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।
