काठमाडौँ — सरकारले कोरोना भाइरस (कोभिड- १९) विरुद्ध लकडाउन लम्ब्याउनेबाहेक प्रभावकारी काम गर्न नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टीले निष्कर्ष निकालेको छ । आइतबार बसेको राप्रपा परामर्श समितिको बैठकले उक्त निष्कर्ष निकालेको हो ।
'कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सरकारले चालेका कदम उपयुक्त भए पनि कार्यान्वयन पक्ष अत्यन्त कमजोर रहेको छ । लकडाउन लम्ब्याउनेबाहेक अन्य विषयमा सरकारको उपस्थिति, प्रयास र प्रभावकारीताको अनुभूति हुन सकेको छैन,' राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
पार्टीले दिएका सुझावतर्फ सरकारले गम्भीर भएर ध्यान नदिएको राप्रपाको आरोप छ । उसले स्वास्थ्य सामग्रीहरूको तत्काल आपूर्ति गरी स्थानीय तहसम्म पुर्याउने व्यवस्था गर्न, परीक्षणको दायरा र गति व्यापक तुल्याउन तथा ज्यालादारी एवं न्यून आय भएका विपन्न परिवारलाई दिइने राहत वितरण कार्य व्यवस्थित र पारदर्शी गर्न, उद्योग वाणिज्य, कृषि, पर्यटन र अन्य व्यवसायिक क्षेत्रलाई दिइने कर सुविधा, ऋण र अनुदानको तत्काल घोषणा गर्न, विदेशमा रहेका नेपालीहरूको स्वास्थ र रोजगारी सुरक्षाको निमित्त उपयुक्त व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरेको छ ।
लकडाउन नै सबै समस्याको समाधान नभएको भन्दै उसले विज्ञहरूको सल्लाहमा प्रभावित क्षेत्रहरूको वर्गीकरण गरी क्रमश: लकडाउन खुकुलो गर्दै लैजाने बारे उपयुक्त रणनीति बनाउन सरकारको ध्यानाकर्षण गरेको छ ।
त्यस्तै, कोरोनाको प्रकोप अन्त्य नभएसम्म सामान ढुवानी प्रयोजन बाहेक भारत र चीनसँगको सीमा बन्द गर्न, नियमन गर्न तथा सम्पूर्ण व्यावसायिक अन्तर्राष्ट्रिय उडान बन्द गर्न राप्रपाले सरकारलाई सुझाव दिएको छ ।
अध्यक्ष प्रकाशचन्द्र लोहनी, पशुपतिशम्शेर जबरा र कमल थापासम्मिलित बैठकले संकटको अवस्थामा राजनीतिक अस्थिरता, अन्योल र अराजकता सिर्जना गर्ने कुनै कार्य नगर्न सरकार, सत्तारुढ दल र सम्बद्ध सबै पक्षसँग राप्रपाले अपिल गरेको छ । 'स्वास्थ सामग्री खरिदमा भ्रष्टाचार भएको तथा समाजवादी पार्टी फुटाउने प्रयासमा स्वयम् सरकार र सत्तारुढ दल अनैतिक र आपराधिक गतिविधिमा संलग्न रहेको सार्वजनिक जानकारीमा आएको छ । यस विषयमा सत्यतथ्य पत्ता लगाई दोषी उपर कानुनी कारवाही गरियोस् भन्ने राप्रपा सरकार र अन्य सम्बद्ध निकायसँग माग गर्दछ,' राप्रपाले भनेको छ ।
राप्रपाले लकडाउन आचारसंहिताको पालना गर्दै पार्टीका गतिविधि अगाडि बढाउने पनि निर्णय गरेको छ ।
