काठमाडौँ — मेरा बुबा र आमा १४ बर्षअघि बेल्जियम जानु भएको हो । त्यति बेला म सानै थिएँ । गाउँमै पढ्न थालेकोले हजुरबुबा हजुरआमासँगै बसें । मेरा भाइ र बहिनी बेल्जियममै जन्मिए । बेलाबेला बुबाआमा नेपाल आउनुहुन्थ्यो अनि फर्किनुहुन्थ्यो । मलाई बुबाआमा फर्केपछि नरमाइलो लाग्थ्यो ।
मलाई पनि आफ्ना बुबाआमा भएको ठाउँमा जान मन थियो । घुम्न जाने भनेर बुबाआमाले पनि भनिरहनु भएको थियो । तर समे मिलेको थिएन । माघको तेस्रो साता त्यो मौका मिल्यो ।
बुबाआमाले भिसा मिलाइदिनुभयो । म बेल्जियम गएँ । बिकसित देश, नौलो ठाउँ, बुबाआमा र भाइबहिनीसँग भेट्ने रहर पूरा भएकोमा म निकै खुसी थिएँ ।
मलाई लामो समय बस्न मन थियो । त्यसैले बीचमा बुबा नेपाल आउँदा पनि म आइत । साढे दुइ महिना बसें । वैशाख पहिलो साता परीक्षा सुरु हुने भएकाले आउनुपर्ने भयो । व्यवस्थापन बिषय पढेकोले अध्ययनमा समय धेरै दिनुपर्ने ठानेर घर फर्कने योजनामा थिएँ ।
म फर्किने बेलासम्म चीन र युरोपका धेरै देशमा कोरोनाको त्रास फैलिइरहेको थाहा पाएकी थिएँ । तर, घरपरिवार सुरक्षित थियौं । बाहिरी व्यक्तिहरुसँग सम्पर्क नगरेपछि सर्दैन भन्ने लागेको थियो । त्यसैले आफैंलाई लाग्ला भन्ने सोच्दै सोचिएको थिएन ।
परीक्षाको तयारीका लागि आउनु पर्ने भएकाले आमाले टिकट किनिदिनुभयो । चैत ४ गते कतारको दोहा हुँदै काठमाडौं आउने टिकट थियो । आफन्त पर्ने मनकुमारी पौडेल पनि सँगै भएकोले साथी पनि भइयो ।
काठमाडौं आएपछि लिन आउनु भएका आफन्तसँग सोझै अर्को प्लेनमा हामी दुवै पोखरा आयौं । पोखराबाट जिप चढेर घर पुगें । त्यतिञ्जेल कोरोनाको कुनै शंका थिएन । यो कुरा मनमा पनि आएको थिएन ।
घरमा आएपछि बिदेशको अनुभव छिमेकीलाई सुनाएँ । परीक्षाका लागि सामान्य तयारीमा जुटें । आएको एकदुई दिनपछि हल्का रुघाखोकी र ज्वरो देखियो । मेरो परिवारका सदस्य पनि स्वास्थ्यकर्मी हुनुहुन्छ । सामान्य रुघाखोकीलाई तातोपानी खाएर पनि निको हुने सल्लाह दिनुभयो ।
त्यसैबेला नेपालमा पनि कोरोना संक्रमण भएको थाहा भयो । हामी आएकै जहाजमा चढेकी युवतीलाई संक्रमणको पुष्टि भएपछि त्यो जहाजमा आउनेको खोजी सुरु भएछ । मलाई पनि हल्का ज्वरो र रुघाखोकी आएकोले धौलागिरी अञ्चल अस्पतालबाट डाक्टरको टोली चैत १२ गते आएर स्वाब लिनु भयो ।
घरमै बसेकी थिएँ, चैत १५ गते शनिबार कोरोना पोजिटिभ भएको सूचना आयो । मलाई त बेस्सरी रुन मन लाग्यो । स्वास्थ्यकर्मीहरु राति घरमै आउनु भयो । एम्बुलेन्स चढेर अस्पताल आएँ ।
अस्पतालको आइसोलेसन कक्षमा राखियो । कोही भेट नहुने एक्लो कोठामा बस्दा साह्रै नरमाइलो लाग्यो । मोबाइल नभएको भए त म कसरी बस्थें होला ? मोबाइल चलाएर धेरै समय कटाएँ । अस्पतालमा बस्दा मलाई कसरी कोरोना लाग्यो होला भनेर निकै सोचविचार गरें । मेरो अनुमानमा जहाजमा एउटै शौचालय र जहाजका सामाग्री प्रयोग गरेको कारण संक्रमण भएको हुनसक्छ । त्यो जहाजमा भएका संक्रमितले प्रयोग गरेका शौचालय र सामग्रीबाट अरुलाई पनि सरेको जस्तो लाग्यो । मसँगै आउनु भएकी मनकुमारी हजुरआमालाई पनि भयो नि त ।
अस्पतालमा बस्दा बेलाबेलामा डाक्टर र नर्सहरु पीपीई लगाएर आउनु हुन्थ्यो । ज्वरो, प्रेसर र अन्य परीक्षण गरेर जानुहुन्थ्यो । एउटै पोशाक भएकोले डाक्टर हो की नर्स हो पत्तै पाइन्नथ्यो । धेरै बोल्नुहुन्नथ्यो । स्वाब निकाल्न आएपछि अब त सञ्चो होलाकी भन्थें । तर, पटकपटक पठाएको स्वाब पोजिटिभ हुन्थ्यो ।
रिर्पोट पोजिटिभ आएको दिन आमालाई फोन गरेर रुन्थें । आमाले सम्झाउनु हुन्थ्यो । डाक्टर र नर्सहरुले पनि पटकपटक मलाई ‘तिमी ठीक हुन्छ्यौं, तिम्रो स्वास्थ्य राम्रो छ, रिपोर्ट मात्र पोजिटिभ आएको हो, पक्कै नेगेटिभ आउँछ’ भनेपछि अलि ढुक्क हुन्थें ।
बेलाबेलामा पत्रकार, छिमेकी र बुबाले फोन गरेपछि अली खुशी लाग्थ्यो । अर्को कोठामा बस्नु भएकी मनकुमारी हजुरआमाले दैनिक ३ देखि ४ लीटर तातोपानी पिएकोले छिटो निको भएको थाहा भयो । मैले पनि केही दिनपछि धेरै तातोपानी पिउन थालें ।
पहिला मोटो भइन्छ भनेर मैले थोरै खान्थें । बिस्तारै दालभात पनि धेरै खाएँ । अण्डा र दूध दैनिक खाएँ । दुइपटक मासु पनि खाएँ । यस्तो बेला मन ढुक्क बनाउनु पर्ने रहेछ । खानामा पौष्टिक तत्व बढी खाने गर्नुपर्ने रहेछ । अहिले त मोटाएकी छु । जतिबेला पनि आत्तिने बानी थियो । डाक्टरले सम्झाएपछि ढुक्क हुन थालें । यस्तोबेलामा धेरै मानिसको माया र भरोसा चाहिने रहेछ । सबैले फोन गरेर नआत्तिन भन्न थालेपछि मलाई चासो दिने धेरै रहेछन् भन्ने लाग्यो । मन आत्तिन छोड्यो ।
चौथोपटकको स्वाब पोजेटिभ आउँदा बढी नै रोएँ । नर्सहरु आएर धेरैबेर सम्झाउनु भयो । पाँचौपटकको स्वाब नेगेटिभ आएपछि भने मनमा उमङ्ग आयो । धेरै खुसी भएँ । आमालाई फोन गरेर बताएँ । उहाँ पनि खुसी हुनुभयो ।
मेरो बारेमा समाचारहरु आएको घरपरिवारले जानकारी दिएपछि अब मैले कोरोना जित्ने भएँ भन्ने लाग्यो । शुक्रवार अबेरसम्म रिर्पोट नआएपछि फेरि बिग्रेछ क्यारे भन्ने लाग्यो । तर, बेलुकी ८ बजेमात्र नेगेटिभ आएको थाहा पाएँ । त्यसपछि मलाई नुहाउन भनियो । नुहाएपछि २८ दिनसम्म लगाएका लुगाहरु फालें । नयाँ कपडा फेरेपछि नर्सहरु लिन आउनु भयो ।
बाहिर निस्कदा राति साढे ९ बजेको थियो । बत्ती बालेर झिलिमिली भएको । सबै मानिस लाइन लागेर ताली पिटेका । मलाई फूल दिनुभयो । खादा लगाएपछि पत्रकारहरुले फोटो खिच्नु भयो । मैले पनि अस्पतालमा बस्दा डाक्टर र नर्सले दिएको हौसला र मायाले रोगलाई जित्न सकेको बताएँ । अब डिस्चार्ज भएर घर फर्केकी छु । कोरोना संक्रमणबाट बच्न छिमेकी र साना भाइबैनीलाई सल्लाह दिन्छु । यस्तै अवस्था सँधै नहोला ।
(कोरोना संक्रमण देखिएर धौलागिरी अञ्चल अस्पताल बाग्लुङमा उपचारपछि ठीक भएकी सापकोटासँग कान्तिपुरका प्रकाश बरालले गरेको कुराकानीमा आधारित ।)
