‘इन्टरनेट चलाउने समय बढ्यो’

दैनिक १० देखि १२ घण्टा इन्टरनेट प्रयोग गर्नेको संख्या पनि वृद्धि भयो

काठमाडौँ — लकडाउनका कारण दैनिक ६ घण्टाभन्दा बढी इन्टरनेट चलाउनेको संख्या बढेको अध्ययनले देखाएको छ । चाइल्डसेफनेट नामक गैरसरकारी संस्थाले अनलाइनमार्फत गरेको सर्वेक्षणमा लकडाउनअघि दैनिक ४ देखि ६ घण्टा इन्टरनेट प्रयोग गर्ने र दैनिक ६ देखि ९ घण्टा इन्टरनेट प्रयोग गर्नेको संख्यामा वृद्धि भएको उल्लेख छ ।

‘इन्टरनेट चलाउने समय बढ्यो’

अध्ययनमा सहभागी १ हजार २ सय २८ जनामध्ये ४ सय २४ जनाले लकडाउन बढेयता दैनिक ४ देखि ६ घण्टा इन्टरनेट प्रयोग गर्ने गरेको उत्तर दिएका छन् । लकडाउनअघि ३ सय ३१ जनाले मात्रै यति समय इन्टरनेट प्रयोग गर्ने उत्तर दिएका थिए । लकडाउनयता दैनिक ६ देखि ९ घण्टा चलाउनेको संख्या २ सय ९८ जना छ । जबकि लकडाउनअघि यति अवधि इन्टरनेट प्रयोग गर्नेको संख्या १ सय ४६ जना मात्रै रहेको अध्ययनले औंल्याएको छ ।

दैनिक १० देखि १२ घण्टा इन्टरनेट प्रयोग गर्नेको संख्या पनि बढेको अध्ययन प्रतिवेदनले देखाएको छ । लकडाउनमा करिब ३५ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले ४ देखि ६ घण्टा र २४ प्रतिशतले ६ देखि ९ घण्टा इन्टरनेट प्रयोग गर्ने गरेका छन् । सर्वेक्षणमा सहभागीमध्ये करिब ९ प्रतिशतले भने दैनिक १२ घण्टाभन्दा बढी इन्टरनेट चलाइरहेको प्रतिवेदनमा उल्लेख छ ।

सर्वेक्षणमा सहभागीमध्ये ८७ प्रतिशतले मोबाइल र १० प्रतिशतले मात्रै डेस्कटप वा ल्यापटपमार्फत इन्टरनेट चलाएको उत्तर दिएका छन् । सर्वेक्षणमा सहभागीमध्ये ७१ प्रतिशतले लकडाउनका बेला बालबालिकाहरू अनलाइनमार्फत हुने शोषणको जोखिममा रहेको धारणा राखेका थिए ।

सरकारले गत वर्षदेखि नेपालमा पोर्नसाइट प्रतिबन्ध लगाए पनि ४१ प्रतिशतले पछिल्लो समय त्यस्ता वेबसाइट हेरेको उत्तर दिएका छन् ।

सर्वेक्षणमा सहभागीमध्ये १५ प्रतिशतले अनलाइनमार्फत यौनिक फोटो तथा भिडियो नचिनेका व्यक्तिमार्फत प्राप्त भएको जवाफ दिएका छन् । सोही मात्रामा इन्टरनेट प्रयोगकर्ताले घृणात्मक सन्देश प्राप्त गरेको पनि भनेका छन् ।

अध्ययनमा सहभागीमध्ये ७३ प्रतिशतले लकडाउनका बेला मनोरञ्जन, साथीभाइसँग सम्पर्क र सूचना पाउन इन्टरनेट चलाएको बताएका छन् । युट्युब प्रयोग, फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल प्रयोग र अनलाइन गेम खेल्न इन्टरनेट प्रयोग गर्ने गरेको उत्तर सर्वेक्षणमा सहभागीले दिएका छन् । सहभागीमध्ये करिब ८० प्रतिशतले युट्युब, ७४ प्रतिशतले फेसबुक र ४० प्रतिशतले इन्स्टाग्राम प्रयोग गर्ने उत्तर दिएका थिए । १० प्रतिशत सहभागीले भने पब्जी खेल्न इन्टरनेट प्रयोग गर्ने गरेको उत्तर दिएका थिए ।

प्रकाशित : वैशाख १५, २०७७ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?