इटालीमा फुटबल अभ्यास खुल्दै

वैशाख १५, २०७७

रोम — इटालीका प्रधानमन्त्री जुसेपे कोन्टेले इटालीको सिरी ए सुरु हुने मिति पछाडि सारे पनि खेलाडीलाई व्यक्तिगत अभ्यास थाल्न अनुमति दिएका छन् । देशलाई लकडाउनबाट विस्तारै खुलाउने योजना अन्तर्गत कोन्टेको यो फुटबल योजना अगाडि आएको हो ।

इटाली कोरोना भाइरस संक्रमणको महामारीबाट सबैभन्दा बढी प्रभावित हुने देशमा पर्छ र यहाँ २६ हजार भन्दा बढीले त्यसकै कारण ज्यान गुमाएका छन् । कोन्टेका अनुसार खेलाडीले मे ४ बाट व्यक्तिगत अभ्यास सुरु गर्न सक्छन् ।

टिमको प्रशिक्षक सुरु गर्न मे १८ को दिन तोकिएको छ । कोन्टेले मार्च ९ बाट रोकिएको सिरी ए कहिले सुरु हुने हो, त्यसबारे केही पनि भनेका छैनन्। लिग तालिकामा युभेन्ट्सलाई शीर्ष स्थानमा लाजियोमाथि एक अंकको अग्रता प्राप्त छ ।

प्रधानमन्त्री कोन्टेले टेलिभिजन प्रसारणमा देशका लागि सम्बोधन गर्दै भनेका छन्, ‘जति बेला स्थितिमा सुधार हुनेछ र अनुकुल हुनेछ, त्यतिबेला लिग फेरि सुरु हुनेछ ।’ यसअघि इटालीको फुटबल संघले खेल सुरु हुने सम्भावित मिति सारेर अगस्ट २ पुर्‍याएको थियो । 

लकडाउनकोरोना भाइरसफुटबल

Link copied successfully