विराटनगर महानगरपालिकाले काठमाडौं पठाएका यात्रुलाई नागढु‌ंगा चेकपोस्टमा रोकियो

वैशाख १५, २०७७

मकर श्रेष्ठ

काठमाडौँ — विराटनगर महानगरपालिकाले गाडी रिजर्भ गरेर काठमाडौं पठाएका यात्रुलाई नागढुंगा चेकपोस्टका प्रहरीले रोकेका छन् ।

महानगरपालिकाले ७ वटा बसमा १६० जनालाई काठमाडौं पठाएको थियो । उनीहरुलाई गाडीबाट झारेर चेकपोस्टमा लाइन लगाएर राखिएको छ । हरेक बसमा १९ जना यात्रु पठाइएको थियो  । उनीहरु सोमबार बिहान साढे ८ बजे चेकपोस्ट आइपुगेका थिए ।  प्रहरीले चेकपोस्टबाट अलि तल यात्रु झरेर बसहरु काठमाडौं प्रवेश गराए पनि यात्रुलाई भने रोकेर राखेको हो । 

८ बजे अगाडि विराटनगरलगायतका अन्य ठाउँबाट आएका यात्रुहरु काठमाडौं प्रवेश गरिसकेका छन् । यात्रुहरु काठमाडौं प्रवेश गरिरहेको समाचार सम्प्रेषण सुरु भएपछि प्रहरीले यात्रु रोकेको हो । काठमाडौं प्रवेशका लागि माथिको आदेश चाहिने भन्दै प्रहरीले यात्रुलाई अहिले चेकपोस्टमै राखेको छ ।

यात्रुहरुले आफूहरु लकडाउनका कारण विराटनगरमा अलपत्र परेको र मेयर भीम पराजुलीले गाडीको व्‍यवस्था गरेर काठमाडौं पठाएको बताएका छन् ।


लकडाउनकोरोना भाइरस

मकर विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका श्रेष्ठ शिक्षा, संसदीय मामिला र सुशासनका विषयमा लेख्छन्।

Link copied successfully