आम निर्वाचन २०८२ नजिकिँदै गर्दा विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरणको निर्णय गरेसँगै समीक्षाको संसद् यात्रा तय भयो । उनी समानुपातिकबाट निर्वाचित भई सांसद बनिन् ।
What you should know
काठमाडौँ — पुराना राजनीतिक दलहरूको विकल्पका रूपमा २०७१ मा विवेकशील नेपाली पार्टीको स्थापना भयो । सरसफाइ अभियान, सडक सन्देश, विपद् व्यवस्थापन, स्वास्थ्य शिविर, महिला हिंसाविरुद्ध जनचेतनामूलक अभियानजस्ता सामाजिक काम विवेकशीलको परिचय बन्दै गयो । ‘नेपाल खुल्ला छ’ भन्ने अभियानमार्फत विवेकशील अभियान लोकप्रिय बन्यो । धेरै युवा यस अभियानमा जोडिन थाले ।
वैकल्पिक पार्टीका रूपमा उदाएको, रवीन्द्र मिश्र अध्यक्ष रहेको साझा पार्टीसँग एकीकृत हुँदै ‘विवेकशील साझा पार्टी’ २०७४ को स्थानीय निर्वाचनमा सहभागी भयो । तर साझा र विवेकशीलको छोटो समयको एकता धेरै समय टिकेन र पार्टीभित्र फरक धारहरू देखा पर्न थाले । रवीन्द्र मिश्र राप्रपामा गएपछि पार्टीको नेतृत्व समीक्षा बाँस्कोटाले सम्हालिन् । पार्टीको आन्तरिक संकटका बेला उनले नेतृत्व सम्हालेकी थिइन् ।
विभिन्न धारमा विभाजित कार्यकर्तालाई एक ठाउँमा ल्याउनु उनका लागि सहज थिएन । उनकै नेतृत्वमा राष्ट्रिय महाधिवेशन सम्पन्न भयो र महाधिवेशनबाट उनी पुनः अध्यक्षमा निर्वाचित भइन् । नेपालका राजनीतिक दलहरूमा महाधिवेशनबाट अध्यक्षमा निर्वाचित हुने पहिलो महिला बन्न सफल भइन् ।
२०७४ सालमा काठमाडौं महानगरपालिकाको मेयरमा रञ्जु दर्शना उम्मेदवार हुँदा उनले खुलेर समर्थन गरिन् । भूकम्पपछिको पुनर्निर्माण अभियानदेखि विभिन्न सामाजिक गतिविधिमा उनको उपस्थिति देखिन थाल्यो । सामाजिक अभियन्ता तथा कानुनी व्यवसायबाट राजनीतिक व्यक्तित्वका रूपमा उनी उदाइन् ।
राजनीतिक चेतना उनको पारिवारिक पृष्ठभूमिबाट पनि प्रभावित थियो । उनका पिता दीपकप्रसाद बाँस्कोटा गृहराज्यमन्त्री भइसकेका थिए । उनी राजनीतिमा प्रवेश गर्नुमा रवीन्द्र मिश्रको विशेष पहल भएको बताउँछिन् । उनले भनिन्, ‘मलाई पार्टीमा ल्याउन उहाँले १६ दिनसम्म निरन्तर फलो गर्नुभयो । उहाँ फलो गर्न माहिर हुनुहुन्थ्यो । उहाँकै कारणले मेरो बाटो राजनीतितर्फ मोडिएको हो ।’ उनको ४० वर्षपछि मात्र सक्रिय राजनीतिमा आउने योजना थियो, तर परिस्थिति र अवसरले उनलाई छिट्टै राजनीतिक मैदानमा ल्याइदियो।
२०७९ सालमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिँदा उनी थप चर्चामा आइन् । चुनाव जित्नेभन्दा पनि एजेन्डा स्थापित गर्ने उद्देश्यले आफू उठेको बताउँदै उनले भनिन्, ‘हारिन्छ भनेर चुनाव नलड्ने भन्ने हुँदैन, राजनीति एजेन्डाको लडाइँ हो ।’ त्यतिबेला उनलाई ‘भोट काट्न उठेको’ भन्ने आरोप पनि लाग्यो, तर उनले आफ्नो निर्णयलाई सिद्धान्तसँग जोडेर व्याख्या गरिन् ।
उनको पारिवारिक पृष्ठभूमि बहुआयामिक छ। बुबा कांग्रेससँग आबद्ध, सासू माओवादी पृष्ठभूमिकी थिइन् र नेकपा माओवादी संगठन विस्तारमा सक्रिय थिइन् । उनका श्रीमान् चिकित्सक हुन्, जसले उनलाई राजनीतिमा अगाडि बढ्न निरन्तर सहयोग गरेका छन् । पारिवारिक साथ र व्यक्तिगत दृढताले उनलाई सहज भएको उनले बताइन् ।
पाँचथरको बाँस्कोटा परिवारकी आठौँ सन्तानमध्ये उनी पाँचौँ सन्तान हुन् । बाल्यकालदेखि नै काठमाडौंमा हुर्किइन् र पढिन् । उनले लिटिल एन्जल्स स्कुलबाट एसएलसी उत्तीर्ण गरिन् । स्कुले जीवनमै उनको रुचि सामाजिक विषय र न्यायप्रति केन्द्रित हुन थालिसकेको थियो । यही रुचिले उनलाई कानुनतर्फ डोर्यायो ।
काठमाडौं स्कुल अफ लबाट उनले कानुनमा स्नातक गरिन् । कानुनको अध्ययन र अन्तर्राष्ट्रिय अनुभवका लागि उनी अमेरिका पुगिन् । अमेरिकामा उनले कानुनमै स्नातकोत्तर (एलएलएम) पूरा गरिन् । अमेरिकामा अध्ययन गरे पनि उनी नेपालमै फर्कने सोचले पुगेकी थिइन् । उनी भन्छिन्, ‘जति नै समय विदेशमा बिताए पनि आफू दोस्रो दर्जाको नागरिकजस्तो अनुभूति हुने रहेछ । त्यसले पनि मलाई कहिल्यै विदेशमा रमाउने इच्छा भएन ।’ यसले उनलाई २०१० मा नेपाल फर्कन प्रेरित गर्यो । नेपाल फर्किएको तीन दिनमै उनले बैंकमा जागिर गर्न थालिन् । सिभिल बैंकमा लिगल अफिसरका रूपमा आबद्ध भइन् । त्यो समय बैंक स्थापनाको सुरुवाती चरण थियो, जहाँ कानुनी संरचना निर्माणको ठूलो जिम्मेवारी थियो । बैंकका अधिकांश कानुनी दस्तावेज तयार पार्न उनी स्वयं अग्रसर भइन् ।
तर आठ महिनापछि बैंकिङ क्षेत्रमा काम गर्दा आफ्नो क्षमताको पूर्ण उपयोग नभएको महसुस गर्दै उनले राजीनामा दिइन् । उनले भनिन्, ‘नेपाल फर्कनासाथ काम पाएँ, आफ्नै पढाइअनुसारको काम पनि थियो, तर आत्मसन्तुष्टि नभएपछि राजीनामा दिएँ ।’ त्यसपछि आफ्नै फर्म स्थापना गरिन् ।
व्यावसायिक जीवन अघि बढ्दै गर्दा उनको व्यक्तिगत जीवनमा पनि परिवर्तन आयो । विवाह भयो, सन्तान जन्मियो । आमाको रूपमा जिम्मेवारी बढेपछि उनले करियरलाई केही समय विश्राम दिइन् । बच्चालाई समय दिनु उनको प्राथमिकता बन्यो । दुई वर्षसम्म उनले सम्पूर्ण समय बच्चालाई दिइन् । बच्चा हुर्काउँदै नयाँ काम गर्ने सोचमा थिइन् । पाँचथरस्थित पारिवारिक चिया बगानलाई नयाँ ढंगले अघि बढाउँदै पारिवारिक व्यवसायमा सक्रिय भइन् । बास्कोटा ग्रुपमार्फत त्यसलाई ब्रान्डिङ गरेर बजारमा स्थापित गर्ने प्रयास गरिन् । उनले भनिन्, ‘बच्चासँगै मलाई काम पनि गर्नुपर्ने भएकाले पारिवारिक व्यवसायलाई अघि बढाएँ ।’
कलेजदेखि नै उनी विभिन्न सामाजिक अभियानमा सक्रिय थिइन् । एनजीओ-आईएनजीओसँग सहकार्य गर्दै उनले कानुनी साक्षरता, बालअधिकारलगायत विषयमा विद्यालय–विद्यालयमा परामर्श दिइन् । यही कारण २०१७ मा उनी विवेकशील नेपाली पार्टीको अभियानमा जोडिइन् । पार्टीले थालेका भ्रष्टाचारविरुद्धका आन्दोलन, डा. गोविन्द केसीका आन्दोलनलगायत सामाजिक–राजनीतिक अभियानमा सक्रिय भइन् ।
आम निर्वाचन २०८२ नजिकिँदै गर्दा उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरणको निर्णय गरेसँगै संसद् यात्रा तय भयो । उनी समानुपातिकबाट निर्वाचित भई सांसद बनिन् । पार्टी एकीकरणबारे उनले भनिन्, ‘रास्वपासँग एजेन्डा मिलेका कारण एकीकरण सम्भव भएको हो । फरक समूहमा थियौँ, तर एजेन्डा उस्तै थियो । वैकल्पिक शक्तिहरू एक ठाउँमा उभिँदा राष्ट्रिय पार्टी बन्दै संसद्देखि सत्तासम्म पुग्न सफल भएका छन् ।’
संसद्मा उनको कानुनी पृष्ठभूमि उपयोगी हुनेमा उनी विश्वस्त छिन् । कानुन निर्माण, संशोधन र कार्यान्वयनमा उनले विशेष जोड दिने योजना बनाएकी छन् । उनले भनिन्, ‘पुराना कानुन समयअनुसार परिवर्तन गर्नुपर्छ, सुशासनका लागि प्रणालीगत सुधार आवश्यक छ।’
