यादवले ०६३ मा अन्तरिम व्यवस्थापिका-संसद्को सदस्य बन्ने मौका पाए पनि सहिद परिवारकी सदस्य शिला यादवलाई छाडिदिएका थिए
जनकपुर — सशस्त्र युद्धरत माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि ०६३ मा अन्तरिम व्यवस्थापिका-संसद्मा धनुषाका जोगकुमार बरबरिया यादव पनि सांसद बन्ने पक्का थियो । माओवादीनेता मातृकाप्रसाद यादवलाई भेट्न उनी फूलमाला लगाएकै अवस्थामा धनुषाधाम आइपुगे ।
'जनयुद्ध काल'मा परिवारका चार सदस्य गुमाएका अजवलाल यादवकी श्रीमती शिला यादव त्यहीँ थिइन् । सहिद परिवारकी सदस्य शिलाको गुनासो थियो,‘मेरो परिवारका त्यति धेरै सदस्यले सहादत दिँदा पनि सहिद परिवारले कुनै अवसर नपाउने ।’ जोगकुमारलाई त्यो कुराले नमिठोसँग झस्कायो । कम्युनिस्ट सर्वहारा वर्गको हुन्छ उनी सम्झे । ‘मैले पाएको सांसद पद त्यही बेला नै शिलाजीलाई दिए,’ उनले भने,‘पार्टीले सहिद परिवारलाई न्याय गर्नुपर्छ भनेर मैले पाएको सांसद पद त्यागेँ ।’
तीनै यादव अहिले भने नेकपाबाट समानुपातिक सांसद बनेका छन् । धनुषाको सहिदनगर नगरपालिका–२ कमलपुरका ६१ वर्षीय यादव पार्टीमा अवसर, पद र लाभका लागि मरिहत्ते नगर्ने नेताका रूपमा चिनिन्छन् ।
पहिलोपल्ट हातैमा आएको सांसद पद सहिद परिवारलाई सुम्पेका यादव त्यसपछिको दुई निर्वाचनमा पराजित भए । धनुषा निर्वाचन क्षेत्र नं. २ बाट एकपटक दलकै उम्मेदवार र अर्को पटक बागी भएर उम्मेदवारी दिएका थिए । जीवन र श्रवण उपनामले समेत चिनिएका यादव छिमेकी सूर्यनाथ रामको राजनीतिक संघर्ष हेरेर सानै उमेरदेखि नै कम्युनिस्ट आन्दोलनमा होमिएका व्यक्ति हुन् । ‘कम्युनिस्ट सर्वहारा, गरिव, श्रमिक र दिनदु:खीका लागि हमेशा लड्ने भएकाले त्यही कुराले मलाई राजनीतिमा तान्यो,’ उनले भने,‘१३ वर्षकै उमेरदेखि राजनीतिमा लागे । नेकपा चौथो महाधिवेशन फुटेर मोटो र पातलो मसाल बनेपछि मैले प्रचण्डको नेतृत्वमा रहेको मोटो मशाल रोजेँ ।’
माओवादी 'जनयुद्धकाल'मा धनुषा, महोत्तरी, सिरहा र उदयपुरको कमान्ड सम्हालेका यादव मधेशमा माओवादी युद्धलाई सफल बनाउने कमान्डरसमेत हुन् । ‘मधेशमा जनयुद्ध सम्भव छैन भनेर सबैले भन्थे,’ यादवले भने,‘मैले जहाँ सम्भव छैन, त्यहाँको कमान्ड सम्हाल्छु भनेर प्रस्ताव गरेँ । रामवृक्ष यादव बटालियन गठन गरेर मेरै कमान्डमा जलेश्वर, बन्दीपुर, यदुकुहा र ललियामा दिउँसै आक्रमण गरियो ।’
जनमुक्ति सेनाको कमिसारसमेत रहेका यादवले पार्टीले जनयुद्धकालमा बिग्रेको ठाउँमा आफूलाई खटाउने गरेको सुनाए । ‘म सत्यको पक्षमा लड्ने व्यक्ति हुँ,’ उनले भने,‘जनयुद्ध, मधेश आन्दोलनलगायतका आन्दोलनको मर्मअनुसार प्रतिनिधिसभामा आफ्नो भूमिका निर्वाह गर्छु । आफ्नो क्षेत्रमा देखिएको कृषि, सिँचाइको समस्या हल गर्ने प्रयास गर्नेछु । कमला नदीले बर्सेनि दिने दुःख मेटाउने कोसिस गर्नेछु ।’
