नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोरासमेत रहेका डा. चन्द्रमोहन भन्छन् : विभिन्न ठाउँ र कोणबाट संविधानमाथि प्रहार हुने सम्भावना देखिन्छ । मेरो भूमिका संविधानलाई बचाउनेतर्फ नै केन्द्रित रहन्छ ।
What you should know
जनकपुर — धनुषाको लक्ष्मीनिया गाउँपालिका सपहीका ६२ वर्षीय प्रा.डा. चन्द्रमोहन यादवको संसदीय राजनीतिको यो दोस्रो यात्रा हो । २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा धनुषा क्षेत्र नं. ५ बाट निर्वाचित भएका यादव ०८२ को निर्वाचनमा कांग्रेसबाट समानुपातिक सांसद बनेका छन् ।
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोरा चन्द्रमोहन राजनीतिमा आउनुअघि चिकित्सा क्षेत्रमा सक्रिय थिए । भारतको चण्डीगढबाट चिकित्सा शास्त्रमा पीजीआइएमईआर गरेका यादव राजनीतिमा सक्रिय हुनुअघि काठमाडौंको वीर अस्पतालमा रेडियोलोजिस्ट थिए । नेपालको प्रथम राष्ट्रपति बनेपछि यादवको संसदीय क्षेत्र धनुषा-५ मा चन्द्रमोहनलाई प्रतिस्पर्धामा उतारिएको थियो । पिताको लिगेसीले कांग्रेसबाट राजनीतिक यात्रा थालेका चन्द्रमोहन पार्टीको केन्द्रीय सदस्य र स्वास्थ्य विभागको संयोजकसमेत रहिसकेका छन् ।
शालीन र भद्र स्वभावका चन्द्रमोहनको राजनीति र समाजिक जीवन पनि स्वच्छ छविको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमाथि सबैतिरबाट प्रहार भइरहेका बेला प्रतिनिधिसभाको सदस्य बनेका चन्द्रमोहनले संविधानको रक्षा र प्रजातान्त्रिक अधिकारको संरक्षणमा आफ्नो भूमिका अब्बल रहने प्रतिक्रिया दिए । ‘विभिन्न ठाउँ र कोणबाट संविधानमाथि प्रहार हुने सम्भावना देखिन्छ,’ उनले भने,‘मेरो भूमिका संविधानलाई बचाउनेतर्फ नै केन्द्रित रहन्छ ।’
पिताको लिगेसीका कारण समानुपातिक सांसद बनेको आलोचना खेपिरहेका चन्द्रमोहनले पार्टीमा समर्पण र संवैधानिक अधिकारअनुसार आफू समानुपातिक सांसद बनेको बताए । ‘नेपोटिज्मलाई कसरी परिभाषित गर्ने ? मेरो पिताजीको ठूलो योगदान र नाम छ । त्यसमा मलाई गौरव लाग्छ,’ उनले भने,‘कसैको छोरा हुनु नै आपत्ति हो भने त्यो आपत्ति जनाउनेलाई नै सोध्नुस् । उनको छोरा हुनुमा मलाई गर्व लाग्छ ।’
प्रतिनिधिसभाका विपक्षीको हैसियतले सरकारले देश, जनता र समाजको हितमा गर्ने कामको रचनात्मक समर्थन गर्ने र सत्ता पक्षलाई खबरदारी गरिरहने उनले बताए ।
