डा. ललिता कुमारी : भारतमा जन्म, नेपालमा सांसद

२०५७ सालमा मिर्चैयाका विष्णु साहसँग विवाह गरेकी ललिता कुमारीले २०५९ सालमा जिल्ला प्रशासन कार्यालय, सिरहाबाट वैवाहिक अंगिकृत नागरिकता पाएकी थिइन् ।

चैत्र १०, २०८२

विनय आजाद

Dr. Lalita Kumari: Born in India, Member of Parliament in Nepal

सिरहा — डा. ललिता कुमारीले राजनीतिमा लाग्ने वा जनप्रतिनिधि बन्ने सोचेकै थिइनन् । तर, उनै ललिता अहिले प्रतिनिधिसभामा पुगेकी छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीमार्फत् मधेशी महिला क्लस्टरबाट सांसद बनाएको हो ।

पेशाले चिकित्सक उनी प्रतिनिधिसभा सदस्य निर्वाचनअघि मात्रै रास्वपासँग जोडिएकी थिइन् । उनी सिरहाको मिर्चैया नगरपालिका-५ की बासिन्दा हुन् । ५४ वर्षीया ललिताको जन्म २०२८ जेठ २ मा भारतको बिहार राज्यको दरभंगा जिल्ला इमामबारी मोहल्लाअन्तर्गत लहरियासराईमा भएको थियो ।

२०५७ सालमा मिर्चैयाका विष्णु साहसँग विवाह गरेकी उनले २०५९ सालमा जिल्ला प्रशासन कार्यालय, सिरहाबाट वैवाहिक अंगिकृत नागरिकता पाएकी थिइन् । 

भारतकै दरभंगा मेडिकल कलेजबाट एमबीबीएस गरेकी ललिताले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमडी गरेकी छिन् । उनको एक छोरी र एक छोरा छन् ।

प्रतिनिधिसभा सदस्यका रूपमा आफूले मधेशको स्वास्थ्य क्षेत्र सुधारलाई प्राथमिकतामा राख्दै नीति निर्माणमा सक्रिय भूमिका खेल्ने उनले बताएकी छन् । उनले भनिन्, 'म चिकित्सक भएकाले स्वास्थ्य क्षेत्र सुधार गर्नु मेरो पहिलो दायित्व हो । तर, त्यतिमै सीमित नभएर महिलाले भोग्दै आएका समस्या, लागु औषधको बढ्दो प्रयोग, दाइजोजस्ता सामाजिक कुरीतिविरुद्ध पनि संसद्‌मा आवाज उठाउनेछु ।'

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully