विद्यार्थी जीवनबाटै सक्रिय राजनीतिमा लागेर पनि पूर्वराष्ट्रपति यादवको भतिजीको ‘ट्याग’ले पटक पटक अवसरबाट बञ्चित हुनु परेको र पार्टीको लागि जतिसुकै काम गर्दा पनि काकासँग नाम जोडिँदा संघर्ष गर्नु परिरहेको यादवले बताइन् ।
What you should know
महोत्तरी — पञ्चायत विरोधी आन्दोलनमा नेताहरुमाथि कडा निगरानी हुँदा राजनीतिक गतिविधिबारे जानकारी गराउन पर्चा एउटा माध्यम थियो । प्रतिबन्धित समयमा पर्चा बाँड्न पनि सकस हुन्थ्यो ।
२०४६ सालको आन्दोलनको पहिलो दिन जनकपुरमा साँझ ‘ब्ल्याकआउट’ गर्न पर्चा लिएर घरघर पुग्ने जिम्मेवारी रेखा कुमारी यादवले पाइन् । ब्यागमा पर्चा बोकेर जनकपुरस्थित ब्रम्हपुरी र रजौलको घरघर पुगेर ‘ब्ल्याकआउट’को सन्देश पुर्याउन सफल भइन् ।
राति अन्य क्षेत्र भन्दा ब्रम्हपुरी र रजौलको कार्यक्रम प्रभावकारी भएको निचोडले जनकपुरको राराब क्याम्पसमा मानविकी संकायमा भर्ना भएकी रेखाकुमारी यादवलाई विद्यार्थी राजनीतिमा लाग्न उत्साह बढ्यो । त्यतिबेला विद्यार्थी राजनीतिमा सक्रिय भएकी ५४ वर्षीया यादव यसपाली मधेशी 'कलष्टर'बाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य चुनिएकी छन् ।
नेपाली कांग्रेसबाट मधेशका महिलाको प्रतिनिधित्व गर्दै यादवले प्रतिनिधिसभामा प्रवेश पाएकी हुन् । यादवमा बाल्यकालदेखि नै राजनीति चेतनाको विकास थियो । काका पूर्वराष्ट्रपति डा.रामवरण यादवको घरमा पार्टीका नेताहरु आउने, गोप्य छलफल, आन्दोलनको तयारी, निर्वाचन जित्ने योजना बनाउने, नेताहरु बीच हुने विवादबारे बाल्यकालमै बुझ्ने मौका पाए पनि संसदीय यात्रा कडा संघर्षपछि मात्रै पाएको उनको अनुभव छ ।
धनुषाको सपहीमा विसं २०२८ सालमा रामलगन यादव र सज्ञान यादवककी तेस्री छोरी रेखाले सपही, बनिनियामा कक्षा ५ सम्मको अध्ययन गरेर जकपुरको सरस्वती माध्यमिक विद्यालयबाट एसएलसी गरिन् । जनकपुरको राराब क्याम्सबाट प्रमाणपत्र तह, पदमकन्याबाट स्नातक र स्नातकोतर अध्ययन गरेकी यादव संसद्मा समग्र मधेशको अवाज बन्ने बताउँछिन् । यादवले ग्रामीण विकासमा स्नातकोतर अध्ययन गरेकी छन् ।
पञ्चायत विरोधी आन्दोलनपछि नेपाल विद्यार्थी संघमा आबद्ध भएर सक्रिय राजनीतिमा प्रवेश गरेकी यादव, महिला संघको केन्द्रीय प्रतिनिधि, महोत्तरी-१ बाट क्षेत्रीय प्रतिनिधि, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र कांग्रेस मधेश प्रदेश कार्यसमिति सदस्य भएकी छन् ।
गाउँमा डाक्टर र समाज सेवासँगै कांग्रेस राजनीतिमा सक्रिय रहेका बुवा रामलगन र काका पूर्वराष्ट्रपति डा.रामवरण यादवसँग बसेर विद्यालय तहको अध्ययनकै क्रममा नेताहरुको गोप्य बैठकमा हुने छलफलले राजनीतिमा तानिएकी रेखा दोस्रो प्रयासमा प्रतिनिधिसभा सदस्य बनेकी हुन् । यसअघि २०७४ को समानुपातिक बन्द सूचीमा उनको नाम राखिए पनि छनौट हुन सकेको थिएन ।
गाउँघरमा डाक्टर भएर बुवाले गरेका कामले समाजसेवा गर्ने हुटहुटीबाट राजनीतिमा लाग्ने प्रेरणा पाएको उनले बताइन् । पूर्वराष्ट्रपति यादवकी भतिजी भएर पार्टीका र नेताहरुलाई नजिकबाट बुझेर आन्दोलन तथा राजनीतिमा लगेको र विवाहपछि श्रीमान्, ससुराको सहयोगले कांग्रेस महोत्तरीको राजनीतिमा सक्रिय हुन पाएको यादव बताउँछिन् ।
ससुरा असर्फी यादव कांग्रेसबाटै तीन पटक गाविस अध्यक्ष निर्वाचित भएकोले विवाहपछि पनि आफूलाई राजनीतिमा सक्रिय रहन समस्या नभएको यादवले बताइन् । 'राजनीति बुझेको परिवारमा विवाह भएकै कारण घुँघटमा कहिल्यै बस्नु परेन,' यादवले भनिन्,‘ससुरालीमा पनि छोरीकै सम्मान पाए । ससुरा राजनीतिमा रहेकोले हरेक गतिविधि छलफल गरेरै अगाडि बढ्यौं ।’
विद्यार्थी जीवनबाटै सक्रिय राजनीतिमा लागेर पनि पूर्वराष्ट्रपति यादवको भतिजीको ‘ट्याग’ले पटक पटक अवसरबाट बञ्चित हुनु परेको र पार्टीको लागि जतिसुकै काम गर्दा पनि काकासँग नाम जोडिँदा संघर्ष गर्नु परिरहेको यादवले बताइन् ।
अब संसद्मा मधेशको स्वास्थ्य र शिक्षा सुधारकालागि भूमिका निर्वाह गर्ने उनी बताउँछिन् । 'संसद्मा सही कामलाई सकारात्मक सहयोग र नेपालीको हितमा नहुने कदमलाई खबरदारी गरेर सांसदको भूमिका निर्वाह गर्छु,' यादवले भनिन्,‘सदनमा कांग्रेस प्रतिपक्षमा भएकोले म असल प्रतिपक्ष बन्ने प्रयास गर्नेछु । क्षेत्र र जिल्लामा आमजनमानसले सांसद भएपछि विकास खोज्छ । म विकासकलागि बन्ने कानुनमा समन्वय गर्नेछु।’
क्यान्सर रोगबाट ४७ वर्षकै उमेरमा बुवाको मृत्यु भएदेखि नै स्वास्थ्य सुधारकालागि काम गर्ने इच्छ भएकोले सांसदको हैसियतमा मधेशको स्वास्थ्यलाई सुधार्न पहल गर्ने उनले बताइन् । 'संकटको क्षणमा बलियो ‘पिलर’ को रुपमा उभिने कांग्रेसको इतिहासलाई बरकरार राख्दै संसदमा मधेशको समस्या, मधेशी महिला, उपेक्षितहरुको अवाज बन्नेछु,' यादवले भनिन्।
