पद्मा अर्याल: जिल्ला नेतृत्वबाट राष्ट्रिय राजनीतिसम्म

पुरुष वर्चस्व रहेको राजनीतिमा अनेकौं चुनौती पार गर्दै एमाले नेतृ पद्मा अर्याल नेतृत्व तहमा आफ्नो पहिचान स्थापित गर्न सफल भइरहेकी छन् ।

चैत्र १०, २०८२

प्रतीक्षा काफ्ले

What you should know

स्याङ्जा — राजनीतिमा महिलाको उपस्थिति विस्तारै बढ्दै गए पनि नेतृत्व तहसम्म पुग्ने महिलाको संख्या सीमित छ । यही सीमित घेरालाई तोड्दै पुरुष वर्चस्व रहेको नेपाली राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाएकी नेतृ हुन् पदमा अर्याल । संघर्ष, आत्मविश्वास र निरन्तरताको उदाहरण बनेकी अर्याल अहिले नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी छन् । 

उनको राजनीतिक यात्रा त्यतिबेला चर्चित बन्यो, जब उनी एमालेको जिल्ला अध्यक्ष बनिन् । परम्परागत सोच र पुरुष बर्चस्व रहेको राजनीतिमा यस्तो उपलब्धि हाासिल गर्नु आफैमा ठूलो सफलता थियो । राजनीतिमा सक्रिय रहँदै उनले विभिन्न चुनौतीको सामना गरिन् । संगठनभित्रको प्रतिस्पर्धा, सामाजिक सोच र अवसरको असमान पहुाचकाबीच उनले आफूलाई स्थापित गरिन् । उनले देखाएको निरन्तरता र आत्मविश्वासले उनलाई नेतृत्वसम्म पुर्‍यायो । 

पारिवारिक जिम्मेवारी, सामाजिक चुनौती र राजनीतिक प्रतिस्पर्धाकाबीच उनले आफ्नो बाटो आफै बनाइन् । महिलाले नेतृत्व गर्न सक्दैनन् भन्ने पुरानो सोचलाई उनले आफ्नो कामले गलत सावित गरिन् । 
कृषि र व्यावसायबाट राजनीतिमा पहिचान बनाएकी अर्यालको यात्रा धेरै महिलाका लागि प्रेरणाको स्रोत बनेको छ । उनले देखाएको साहस, लगनशीलता र प्रतिबद्धताले आगामी पुस्ताका महिलालाई पनि अगाडि बढ्न हौसला दिएको छ ।  

पद्मा एमालेको खस आर्य महिला कोटाबाट पहिलो नम्बरबाट समानुपातिक सांसदको सूचीमा थिइन् । उनले प्रत्यक्ष निर्वाचन नलडेर समानुपातिक कोटामा बसेको भन्दै ठूलो आलोचना पनि खेपिन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको विश्वासको पात्र बनेकी अर्याल पूर्वमन्त्री पनि हुन् । स्वास्थ्य राज्यमन्त्री हुँदै भूमि, व्यवस्था तथा सहकारी मन्त्री बनेकी उनी चुच्चे नक्साका कारण थप चर्चामा आइन् । यसो त मन्त्री हुँदा उनले गिरीबन्धु चिया बगानलगायतका आरोप अहिले पनि खेप्नुपरेको छ । अबको पााच वर्ष संसद्मा उनी प्रतिपक्षमा बसेर जनताका आवाज बोल्नेछिन् । यसअघि उनले २०६४ को पहिलो संविधानसभामा पनि समानुपातिक कोटाबाटै प्रतिनिधित्व गरेकी थिइन् । 

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार एवं तत्कालीन उपप्रधानमन्त्री गोपालमान श्रेष्ठसँग चुनावी मैदानमा उत्रिइन् । एमाले–माओवादी गठबन्धनकी उम्मेदवार अर्याल विजयी भएकी थिइन् । २०५६ सालमा नेकपा मालेबाट चुनावी मैदानमा होमिएकी अर्यालका प्रतिद्वन्द्वी श्रेष्ठ नै थिए । त्यतिबेला श्रेष्ठले अर्याललाई पराजित गरेका थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा अर्याल तत्कालीन कांग्रेस उपसभापति धनराज गुरुङसित पराजित भएकी थिइन् । यसपाली प्रत्यक्षबाट उम्मेदवार हुने चर्चा भए पनि उनी समानुपातिकमै बसिन् । उनले समानुपातिक कोटामा बसेको भन्दै पार्टीभित्र र बाहिर विरोध पनि भएको थियो । 

विसं २०२५ पुस १८ मा साविक थुमपोखरा गाविसको तमादिमा जन्मिएकी अर्याल ०४५ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटिमा रहँदै जिल्ला र अञ्चल कमिटिका विभिन्न पदमा रहेर विद्यार्थी आन्दोलनमा भूमिका निभाएकी छन् । २०४६ सालको जनआन्दोलनअघि जेलजीवन समेत बिताएको उनी बताउँछिन् । २०६२/६३ को जनआन्दोलनमा समेत केही हिरासतमा बिताएको उनले बताइन् । स्नातकसम्म अध्ययन गरेकी अर्याल वालिङकी बासिन्दा हुन् ।

अर्याल २०६९ मा पुण्यप्रसाद भुषाललाई पराजय गर्दै एमाले जिल्ला अध्यक्ष भएकी थिइन् । ०७१ सालमा एमालेको केन्द्रीय सदस्यसमेत भएकी उनी दोस्रो कार्यकाल पार्टीको केन्द्रीय सचिव बनेकी छन् । 
घरपरिवारबाट संघर्ष गरेर राजनितिमा होमिएकी पदमा महिला भएकै कारण आफ्नै पार्टीभित्र झन् ठूलो संघर्ष गर्नुपरेको सुनाउँछिन् । उनी आफ्ना राजनीतिक गुरु श्रीमान् लक्ष्मीपति पौडेल भएको बताउँछिन् । श्रीमान् कृषि पेशामा सक्रिय छन् । सानै उमेरदेखि दुख र संघर्ष गर्नुपरेकाले अन्यायको विरुद्धमा आवाज उठाउन र समाजसेवा गर्न रुची भएको उनले बताइन् । ‘महिला र पिछडिएको वर्गलाई माथि उठाउने नै मेरो लक्ष्य हो,’ उनले भनिन्, ‘पुरुष सरह काम गर्न महिलाले पनि सक्छन् मात्र अवसर पाउनुपर्छ भन्ने राम्रो उदाहरण दिन खोजेकी छु ।’

उनले रास्वपालाई अभूतपूर्व बहुमत आएको भन्दै नयाँ शक्तिकोरुपमा जनताले गरेको विश्वास नलत्याउन सुझाइन् । संसद्मा सरकारका गुण र दोषको आधारमा आफू प्रस्तुत रहने बताउँदै उनले बेला आएका बेला सरकारको समिक्षा गरिने बताइन् । ‘सांसदको भूमिका भनेको कानुन निर्माण गर्नु हो,’ उनी भन्छिन्, ‘मेरो भूमिका मलाई थाहा छ । हामीसँग सत्ता र प्रतिपक्ष हुँदाका अनुभव छन् । मुलुकको च्यालेन्ज, जनताका अपेक्षा थाहा नै छ । राजनीतिक शक्ति सन्तुलनको हिसाबले प्रतिपक्ष दलको हैसियतले हाम्रो भूमिका रहने छ । प्रतिपक्षी हुँदैमा विरोधमा नै हुनुपर्छ भन्ने होइन गुण र दोषको आधारमा प्रस्तुत हुनेछौं ।’

जिल्लाका महत्वपूर्ण सडक, अधुरा योजना सम्पन्न गराउन, रणनीतिक सडकलाई सम्बोधन गर्ने, उत्पादनमुखी कुरामा स्थानीय सरकारलाई क्रियाशील गराउने र संघीय सरकारलाई प्रेरित गर्ने, रोजगार बढाउने खालका सिँचाई, खानेपानी, स्वास्थ्य शिक्षाका विषयमा ध्यान दिने उनी बताउँछिन् ।

समानुपातिक सासंद-२०८२

प्रतीक्षा

Link copied successfully