सामाजिक क्षेत्रमा सक्रिय रहेकी राजदेवी नगरपालिका निवासी गजाला मिकरानी समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बनेकी छन्।
What you should know
रौतहट — राजदेवी नगरपालिकाको एउटा शान्त बस्तीबाट ३२ वर्षीया गजाला शमिम मिकरानीले प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेकी छन् । उनको यो सफलता केवल एक व्यक्तिको मात्र होइन, रौतहटको मुस्लिम समुदाय र राज्य संचालनमा अल्पसंख्यक समुदायका महिलाको उदय पनि हो ।
मधेसको धरातलबाट समानुपातिक सांसद् चुनिएकी गजाला अहिले जिल्लाको मात्र नभई समग्र पछाडि पारिएको वर्गको आशाको केन्द्र बनेकी छन् । उनको संसद् यात्राले जिल्लाको राजनीतिमा महिला सहभागिताको नयाँ मानक स्थापित गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई सामाजिक क्षेत्रको अनुभव, महिला तथा मुस्लिम समुदायको प्रतिनिधित्वलाई कदर गर्दै समानुपातिक सूचीमा समावेश गरेको हो । सामाजिक सेवाको पृष्ठभूमिबाट संसद्को यात्रामा प्रवेश गरेकी उनले सामाजिक अभियन्ताको रुपमा आफ्नो पहिचान बनाएकी थिइन् ।
राजदेवी नगरपालिका–६ निवासी गजाला एक सामान्य परिवारमा जन्मिएकी हुन् । उनका बुवा समिम मिकरानी राजनीतिक पृष्ठभूमिका होइनन् । गजालाले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कलेजहरुबाट अध्ययन पूरा गरेकी छन् । उनले डिप्लोमा इन फार्मेसी र व्यवस्थापन र कानुनमा स्नातक गरेकी छन् ।
बहुआयामिक शैक्षिक पृष्ठभूमि र सामाजिक सेवाको अनुभवले जनताको प्रत्यक्ष सेवा गर्ने अठोटका साथ आफूले राजनीतिमा पाइला चालेको उनले बताइन् । ‘समाजमा देखिएका असमानता, जनताका समस्या र सकारात्मक परिवर्तनको चाहनाले राजनीतिमा आउन प्रेरित गर्र्यो,’ उनले भनिन्,‘सुशासन र पारदर्शिता कायम गर्दै रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, पहुँचयोग्य स्वास्थ्य सेवा र दिगो विकासमार्फत समृद्ध समाज निर्माण गर्छु भन्ने अठोट लिएकी छु ।’
मुस्लिम कोटाबाट उनलाई समानुपातिक सांसद बनाउँदा धेरैका लागि यो ‘सरप्राइज’ थियो । उनले प्रतिनिभिसभा सदस्यमा आफ्नो चयनले नेतृत्वमा पुग्न वर्षौंसम्म दलको झण्डा मात्र बोकेर मात्र नहुने काम र विशेषज्ञता पनि पर्याप्त हुनसक्ने सन्देश दिएको बताइन् ।
गत वर्षमात्रै राजनीतिमा प्रवेश गरेकी गजलाले सामाजिक संस्थामा काम गरेको अनुभव छ । समाजमा व्याप्त असमानता, सर्वसाधारणले भोग्नुपरेका समस्या र व्यवस्थामा सकारात्मक परिवर्तन ल्याउने तीव्र चाहनाले नै राजनीतिमा आउन प्रेरित गरेको उनको भनाई छ । जनताका समस्यालाई नीतिगत तहबाटै समाधान गर्न राजनीति आवश्यक देखिएको उनले बताइन् ।
सक्रिय राजनीतिमा आउनुअघि झण्डै ४/५ वर्ष उनी विभिन्न सामाजिक संघसंस्थामा आवद्ध थिइन् । सोही क्रममा शिक्षा, स्वास्थ्य, जीविकोपार्जन र सामुदायिक विकासका क्षेत्रमा भूँइतहका नागरिकसँग मिलेर काम गरेको अनुभव छ । उनले विशेषगरी महिला अधिकार, मुस्लिम समुदायको सशक्तीकरण र शिक्षा, स्वास्थ्यको क्षेत्रमा ग्रामीण तहमा काम गरेकी छन् ।
ग्रामीण भेगका सामान्य व्यक्तिले भोगिरहेको दैनिकी नजिकबाट नियालेकाले भूँइ मान्छेका समस्या समाधानका लागि सहज हुने उनले बताइन् । प्रशासनिक कामलाई पारदर्शी बनाउने, स्थानीय स्तरमै युवाका लागि अवसर जुटाउने, सरकारी विद्यालय र स्वास्थ्य संस्थाको अवस्था सुधार गरी सबैको पहुँचमा पुर्याउने, वातावरण र समाजको सन्तुलन मिलाउँदै दीर्घकालीन विकासका योजना कार्यान्वयन गर्ने जस्ता कामलाई प्राथमिकता दिएर संसदमा कुरा उठाउने उनले बताइन् ।
एउटा सामान्य परिवारबाट आएकी अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्ने महिला कसरी देशको सर्वोच्च निकाय (संसद्) सम्म पुग्न सक्छन् भन्ने उदाहरण गजालाले पेस गरेको स्थानीय युवा मुन्ना यादवले बताए । उनको यो यात्राले राजनीतिमा लाग्न चाहने युवालाई ‘सम्भव छ’ भन्ने आत्मविश्वास दिएको यादवले बताए ।
