चन्देश्वर मण्डल: गाउँपालिका अध्यक्षमा दुईपटक पराजित, समानुपातिकबाट संसद् प्रवेश

स्थानीय तहमा दुइपटक निर्वाचन हार्दा पनि राजनीतिक सक्रियता नघटाएका चन्देश्वर मण्डल एमालेको तर्फबाट संघीय संसद् पुगेका छन् ।

चैत्र १०, २०८२

विनय आजाद

Chandeshwor Mandal: Defeated twice for rural municipality chairman, entered parliament through proportional representation

What you should know

सिरहा — नेकपा एमालेले सिरहाका चन्देश्वर मण्डललाई प्रतिनिधिसभा सदस्य बनाएको छ । समानुपातिक निर्वाचन प्रणालीमार्फत् मधेशी कलस्टरबाट मण्डल प्रतिनिधि सभाका सांसद भएका हुन् ।

२०२१ सालमा सिरहाको अर्नामा गाउँपालिका–४ लक्ष्मीपुरमा जन्मिएका उनी विज्ञान संकायमा स्नातक तहसम्म अध्ययन गरेका छन् । मण्डल २०३८ सालमै नेकपा एमालेमा आवद्ध भएर राजनीतिक गतिविधिमा जोडिएका थिए ।

त्यसबेलादेखि नै पार्टी संगठन विस्तार, जनसम्पर्क र स्थानीयस्तरका राजनीतिक गतिविधिमा सक्रिय रहँदै उनले पहिलोपल्ट २०४९ सालमा साविक गाविस गौरिपुरको अध्यक्षमा चुनाव जिते । २०५४ मा पनि निर्वाचित भएर उनले दुई कार्यकाल गाविस अध्यक्षका रुपमा काम गर्ने अवसर पाए ।

गाविस अध्यक्षका रूपमा स्थानीय विकास, पूर्वाधार निर्माण र जनसेवामूलक काममार्फत् उनले आफ्नो पहिचान बनाएका थिए । यसबीचमा केही समय शिक्षकका रुपमा, नेपाल रेडक्रस सोसाइटीको सिरहा जिल्ला शाखामा पाँच वर्ष उपसभापतिका रूपमा र त्यसपछि पाँच वर्ष रेडक्रस सोसाइटी मधेश प्रदेशको महासचिवका रुपमा काम गरेको अनुभव पनि उनीसँग छ ।

यस अवधिमा उनले विपद् व्यवस्थापन, रक्तसञ्चार सेवा र सामाजिक सहयोगका क्षेत्रमा काम गर्दै आफ्नो पहिचानलाई झन् फराकिलो बनाए । गाउँ तहदेखि राजनीति थालेका उनी २०७४ सालमा एमालेको सिरहा जिल्ला अध्यक्ष भए । संगठनमा निरन्तर गरेको योगदानलाई कदर गर्दै २०८० सालमा एमालेले मण्डललाई मधेश प्रदेश अध्यक्षको जिम्मेवारी दियो । उनी अझै पनि यो भूमिकामा कायमै छन् ।

तर, स्थानीय तहको नेतृत्व सम्हाल्ने उनको आकांक्षा भने पूरा हुन सकेन । २०७४ सालको स्थानीय तह निर्वाचनमा अर्नामा गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका मण्डल माओवादी केन्द्रका उम्मेदवार ठकु महतोसँग पराजित भए ।

त्यसपछि २०७९ सालको निर्वाचनमा पुनः प्रयास गरे पनि जसपा नेपालका अशोक यादवसँग पराजित हुन पुगे। दुईपटकको पराजयले उनलाई केही समय निराश बनाए पनि राजनीतिक सक्रियता भने घटाएनन् ।

स्थानीय तहमा हार व्यहोरे पनि पार्टीभित्रको योगदान र लामो राजनीतिक अनुभवका आधारमा सांसद बनाइएका मण्डल संघीय संसद्मा प्रतिनिधित्व गर्ने मौकाका लागि पार्टीप्रति कृतज्ञता व्यक्त गरे । मधेशका किसान, विद्यार्थी, विरामी, दलित, सीमान्तकृतलगायतले भोग्दै आएको समस्या आफ्नो प्राथमिकतामा रहने उनले बताए ।

'राजनीतिमा मेरो यात्रा लामो रह्यो, यसबीचमा समाजलाई निकै मिहीन ढंगले बुझ्ने अवसर पाएँ, यहाँका सबै समस्या देख्दै भोग्दै आएको हुँ,' उनले भने, 'ती तमाम समस्याका विषयमा सरकारको ध्यानाकर्षण गराउँछु, समाधानका लागि सरकारलाई घच्घचाउने काम गर्छु ।'

विद्यार्थी कालदेखि नै गाउँ तहबाट राजनीतिक गतिविधिमा जोडिएका मण्डलको राजनीतिक यात्रा अहिले संघीय संसद्सम्म आइपुगेको छ । 

समानुपातिक सासंद-२०८२

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully