गंगा छन्त्याल : ह्विलचेयरमा बसेर कपडा सिलाउनेदेखि संसद्‍सम्म

‘अपांग भएकाहरूले केही गर्न सक्दैनन् भन्ने भाषा परिवर्तन गर्न जरुरी छ, अवसर पाए सबैले गर्न सक्छन्,’ गंगा भन्छिन्, ‘हाम्रो अपांगता बाधक होइन, नीति बाधक हो, अब नीति परिवर्तन गर्नुपर्छ ।’

चैत्र १०, २०८२

प्रकाश बराल

Ganga Chhantyal: From sewing clothes in a wheelchair to parliament

What you should know

बागलुङ — ह्विलचेयर गुडाउने उनका हात मेसिनमा कपडा सिलाउन अभ्यस्त छन् । सामाजिक अभियानका लागि उनको आवाज निस्कन्छ । उनी राजनीतिक क्षेत्रमा चासो राख्थिनन्, बरु सामाजिक न्याय, अपांगता, आदिवासी जनजातिको अधिकारका लागि सक्रिय थिइन् । 

बागलुङको तमानखोला गाउँपालिकाको सबैभन्दा टाढाको वडा नर्जाखानीमा ३५ वर्ष अघि उनी जन्मिइन् । त्यतिबेला यो गाउँमा स्वास्थ्य र शिक्षाको अवस्था नाजुक थियो । उनलाई जन्मिएलगत्तै पोलियो भयो । उनका खुट्टा टेक्नमा समस्या भयो । बाबु कुल र आमा सुनिताले पहिलो छोरी अपांग बनेपछि धेरै चिन्ता लिए । 

छन्त्याल दम्पतीले छोरीको उपचार गर्ने काम त खर्च अभावले तत्काल सकेनन् तर छोरी पढाउनुपर्छ भन्ने चेत भएकोले छिमेकी म्याग्दी जिल्लाको गुर्जामा लगेर गंगालाई विद्यालय भर्ना गराए । उनी अर्कैको सहायतामा विद्यालय जान्थिन् । कक्षा ५ उत्तीर्णपछि शारीरिक अवस्थाले टाढाको विद्यालय जान समस्या भयो । 

छोरीको उपचार गर्ने र पढाउने लक्ष्यले छन्त्याल दम्पती काठमाडौं हानिए । आमाबाबुले छोरीलाई पढाउन आफूलाई मजदुरीमा लगाउन पछि परेनन् । जोरपाटीस्थित खगेन्द्र नजजीवन केन्द्रमा पुगेर गंगाको सामान्य उपचार भयो, पूरै ठीक भएन । त्यसपछि छन्त्याल दम्पती बागलुङ फर्केनन् । गंगालाई ह्विलचेयरमा बसेर पढ्ने वातावरण मिलाइयो । बाबुआमाले सडक छेउमा चिया बेचेर बसे । मजदुरी गरेर भए पनि छोराछोरी उतै हुर्काए । खगेन्द्र नवजीवन केन्द्रमै रहेको विद्यालयमा बसेर गंगाले पढ्न थालिन् । केन्द्रकै विद्यालयबाट उनले एसएलसी उत्तीर्ण गरिन् । 

छन्त्याल दम्पतीका तीन छोरी र एक छोरा छन् । गंगाकी बहिनीमा पनि अपांगता छ । अहिले पनि ती बैनीलाई आफ्नै साथमा राखेकी छिन् । गंगाले काठमाडौंकै नवोदित कलेजबाट कक्षा १२ उत्तीर्ण गरिन् । त्यसपछि पढ्ने भन्दा उनीहरूलाई रोजगारीको खाँचो भयो । चारपांग्रे स्कुटर लिएर उनले पठाओको काम थालिन् । त्यसबाट केही पैसा त कमाई भयो, तर उनको शारीरिक अवस्थाले त्यति साथ दिएन ।  खुट्टामा समस्या भएकोले बाहिर हिँड्ने कामभन्दा बसेर गर्ने कामको खोजीमा उनी लागिन् ।  त्यसपछि सिलाइकटाइ सिकेर मेसिनमा काम गर्न थालिन् । 

रञ्जना गल्लीदेखि ल्याएको थान कपडा सिलाएर बेच्ने गर्दा उनको सीप र व्यवसाय बढ्यो । त्यसपछि उनले अन्य साथी समेत राखेर काम गर्न थालिन् । उनी सामाजिक क्षेत्रमा काम गर्न पनि चाहन्थिन् । राष्ट्रिय आदिवासी जनजाति अपांग स्वरोजगार महिला संघ नेपाल (निड सेवा) नामक संस्थामा उनी सक्रिय भइन् । उक्त संस्थामार्फत अपांग, महिला, अल्पसंख्यकको अधिकारका लागि विभिन्न गतिविधि गर्दै उनी विदेश पनि पुगिन् । धेरै देश घुमेर उनले अधिकारबारे जान्ने मौका पाइन् । 

अहिले त गंगाले विवाह पनि गरिसकिन् । उनको विवाह भने सिन्धुपाल्चोकका कुशल तामाङसँग भएको छ । अहिले उनी मेसिनमा सिलाउने काम मात्र गर्दिनन् अपांग, जनजाति र महिलाहरुलाई रोजगारीमा ल्याउन सीप सिकाउने काम पनि गर्छिन् । अपांगता भएकाहरूलाई रोजगारी दिने र सामाजिक सेवा गर्ने उनको लक्ष्य नै छ । 

निर्वाचनअघि उनले अपांग, गरिबी र सामाजिक तिरस्कारमा परेकालाई साथ दिने काम गर्दै आएकी थिइन् । केही समयअघि  काठमाडदं महानगरपालिकामा गंगाले नगरप्रमुख बालेन्द्र शाहलाई भेटेकी थिइन् । निर्वाचनको तयारी हुँदा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट अपांगतातर्फ उमेदवार बन्नका लागि बालेन्द्रको सचिवालयबाटै प्रस्ताव आएको बताइन् । ‘म त सामाजिक सेवा गरेको मान्छे, राजनीति त जान्दिनँ भनेँ,’ उनले भनिन्, ‘अब अपांगकै आवाज बोल्नुपर्छ भन्ने प्रस्ताव आयो, स्वीकार गरेँ ।’ रास्वपाले महिला, अपांग र अल्पसंख्यक तर्फबाट गंगाको नाम निर्वाचन आयोगमा सिफारिस गर्‍यो । उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेकी छिन् । 

अब भने गंगा संसद्‍मा सीमान्तकृत, अल्पसंख्यक, आदिवासी, दलित मुस्लिमलगायतको आवाज बन्ने बताउँछिन् ।  उनी भन्छिन्, ‘दिदीबहिनीलाई सीप सिकाएर दक्ष बनाउने र रोजगारीमा जोड्ने नै मेरो प्राथमिकता हुनेछ ।’ संसद्‍मा पनि यस्ता विषय उठाउने र महिला अधिकार, रोजगार र सीप विकासको क्षेत्रमा काम गर्ने, त्यस्ता विषयमा नीति निर्माण गर्न पहल गर्ने उनले बताइन् । ‘अपांग भएकाहरूले केही गर्न सक्दैनन् भन्ने भाषा परिवर्तन गर्न जरुरी छ, अवसर पाए सबैले गर्न सक्छन्,’ उनले भनिन्, ‘हाम्रो अपांगता बाधक होइन, नीति बाधक हो, अब नीति परिवर्तन गर्नुपर्छ ।’ संसद्‍मा अपांगका आवाज बुलन्द बनाउने उनले बताइन् ।

समानुपातिक सासंद-२०८२

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully