भीमकुमारी बुढा मगरका श्रीमान् राजनीति छोडेर अहिले वैदेशिक रोजगारीमा छन् । उनले भने राजनीतिक यात्रालाई निरन्तरता दिंदै वर्गसंघर्ष र जनयुद्धको बाटोलाई संसदीय यात्रामा लगेर जोडेकी छिन् ।
What you should know
दाङ — विसं २०४६ को राजनीतिक परिवर्तनको प्रभाव भीमकुमारी बुढा मगरमा परिसकेको थियो । १४ वर्षे किशोरावस्थामै उनी राजनीतिक रूपमा प्रशिक्षित थिइन् । बहुदलीय व्यवस्था पुनर्स्थापनापछि रुकुम/रोल्पामा ग्रामीण वर्गसंघर्षको अर्को राजनीतिक आन्दोलनको सुरुवात भइरहेको थियो ।
त्यो वर्गसंघर्षकी एक पात्र बनिन् बुढा । रोल्पाको अरनिको मावि नुवागाउँमा तत्कालीन नेकपा मशाल संगठन विस्तारका लागि आइपुग्यो । उक्त कार्यक्रममा प्रस्तुत क्रान्तिकारी गीत, नाच र भाषणले उनको किशोरावस्थाको जोशलाई झनै ऊर्जा दियो ।
कम्युनिस्ट दुःखी गरिबको पार्टी, छोरीलाई सम्मान गर्ने पार्टीजस्ता नेताहरूका भाषणले बुढालाई २०४७ सालको सुरुवातमै राजनीतिमा जोडिन मद्धत गर्यो । नेताहरूको भाषण सुनेको केही महिनापछि उनी पनि भाषण गर्न सक्ने भइन् ।
त्यसपछि उनी महिला संगठनको जिल्ला सम्मेलन तयारी समिति सदस्य भइन् । २०४८ मा भएको पहिलो जिल्ला सम्मेलनबाट मनखना घर्ती अध्यक्ष, सुनकुमारी पुन सचिवसहित बुढा सदस्य भइन् । उक्त वर्ष चुनावी वर्ष थियो । रोल्पाबाट कृष्णबहादुर महरा र बर्मन बुढा प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । बुढा सांस्कृतिक समूहमा रहेर निर्वाचन प्रचारमा हिँडिन् । दुवै सांसदले जिते ।
चुनावकै क्रममा रोल्पामा कांग्रेस कार्यकर्ताहरूसँग ठाउँठाउँमा झडप भयो । बुढाले झडपको पनि सामना गरिन् । धेरै ठाउँमा लडिन् । त्यसक्रममा उनी घाइते पनि भइन् । टाउकोमा गम्भीर चोट लाग्यो । चुनावसँगै सुरु भएको त्यो झडप र भिडन्त नै रोल्पामा ग्रामीण वर्गसंघर्षको प्रारूप थियो ।
कांग्रेस कार्यकर्ताहरूले रोल्पाका विभिन्न गाउँमा कम्युनिष्ट समर्थकका घरमा पुगेर दुःख दिने गर्न थाले । प्रहरी प्रशासनको सहयोगमा कम्युनिष्ट नेताहरूलाई पक्राउ गर्ने, विभिन्न मुद्दा लगाउने र दुःख दिने कामहरू भए । जसका कारण कम्युनिष्ट समर्थक पुरुषहरू भूमिगत भएर जंगलमा बस्न थाले ।
महिलाहरूले उनीहरूलाई खानपिनको बन्दोबस्त गर्थे । बुढाले उक्त कामको बन्दोबस्ती गर्न अगुवाइ गरिन् । महिलाहरूलाई संघर्षमा जोडिन् । नेकपा मशालको चुनावी मोर्चा संयुक्त जनमोर्चा नेपाल खुला रूपमा सक्रिय थियो । उक्त पार्टीका कार्यकर्ताहरूले सास्ती पाउन थालेपछि भूमिगत हुने क्रम सुरु भयो ।
२०५१ सालमा मध्यावधि निर्वाचन भयो । त्यतिबेला नेकपा मशाल एकताकेन्द्र हुँदै नेकपा माओवादी बनाएर जनयुद्धमा जाने तयारीमा थियो । पार्टीले चुनाव बहिष्कार गर्ने नीति लियो । जसका कारण ठाउँठाउँमा पुनः झडप हुन थाले । कोर्चाबाङका विभिन्न झडपमा बुढा अग्रपंक्तिमा रहेर लडिन् ।
एक्लै चुनाव बहिष्कार गरौं भन्ने नारा लेख्दै घरका भित्ता रंगाउँथिन् । त्यही क्रममा कांग्रेस कार्यकर्ताको कुटाइ खाइन् । चुनाव बहिष्कारका क्रममा जिनाबाङमा भएको बुथ कब्जाको मुद्दा लागेपछि उनी २०५१ सालदेखि नै भूमिगत भइन् । जनयुद्ध हुनुभन्दाअघि नै भूमिगत हुने थोरै महिलामध्ये उनी एक थिइन् ।
तिनै साहसी महिला अहिले नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट समानुपातिक सांसद भएकी छिन् । यो उनको जीवनको लामो संघर्ष, त्याग र समर्पणपछिको उपलब्धि हो । बुढा विसं २०३२ कार्तिक १५ गते रोल्पाको कोर्चाबाङमा जन्मिएकी थिइन् । चार वर्षकै उमेरमा आमाको निधन भयो ।
बुवा नन्दबहादुर बाँठा र ठूलोबुवा शेरबहादुर बाँठाले उनलाई हुर्काउने जिम्मेवारी लिए । ठूलोबुवा प्रधानपञ्च तथा राजनीतिक व्यक्तित्व थिए । ठूलो बुवासँगै ठूली आमा र फुपूको स्याहारले उनलाई हुर्कन सहज भयो ।
सिद्धकैलाश निमावि मिसीडाँडाबाट कक्षा ७ उत्तीर्ण गरेपछि २०४४ सालमा अरनिको मावि नुवागाउँमा कक्षा ८ मा भर्ना भइन् । २०५१ सालमा एसएलसी परीक्षा दिइन् । एसएलसीमा सफलता हात नपर्दै उनको भूमिगत जीवन सुरु भयो । वर्गसंघर्षका क्रममा भूमिगत भएकी बुढालाई २०५२ फागुन १ देखि त पूर्णकालीन भूमिगत हुनुपर्ने बाध्यता भयो ।
जनयुद्धमा होमिएपछि पढाइ अवरुद्ध भयो । त्यतिबेलाको अधुरो पढाइ उनले शान्ति प्रक्रियापछि मात्रै पूरा गरेकी थिइन् । उनी २०५२ मा महिला संगठनको जिल्ला सचिव भइन् । पार्टीको प्रस्तावित एरिया समिति सदस्य भइन् ।
रोल्पा/रुकुममा २०५२ भदौमा जनयुद्धको तयारीस्वरूप रुकुमको सिस्ने हिमाल र रोल्पाको जलजला पहाडको नामबाट ‘सिज मितेर अभियान’ सञ्चालन गरिएको थियो । रोल्पाका कार्यकर्ता रुकुम र रुकुमका कार्यकर्ता रोल्पा जाने सन्दर्भमा उनी रुकुम गएकी थिइन् । उनले दुई महिना रुकुममा बसेर काम गरिन् ।
रुकुमको गरायलामा कांग्रेस कार्यकर्ताहरूले बुढासहित चार जनालाई नियन्त्रणमा लिएर एउटा घरमा थुने, तर स्थानीय महिलाको सहयोगमा उनीहरू मुक्त हुन सफल भए । रुकुमबाट फर्केपछि रोल्पाको पाछाबाङमा असोजमा भएको जनयुद्धको तयारी प्रशिक्षणमा सहभागी भइन् ।
नेकपा माओवादीका तत्कालीन महामन्त्री पुष्पकमल दाहाल सहभागी प्रशिक्षणमा उनी सक्रियपूर्वक बसिन् । त्यति नै बेला सरकारले तत्कालीन संयुक्त जनमोर्चाविरुद्ध ‘रोमियो अप्रेसन’ चलाइरहेको थियो । माओवादीले पनि युद्धको तयारीस्वरूप लडाकु दल, सुरक्षा दल र स्वयंसेवक दल बनाइसकेको थियो । बुढा सुरक्षा दलमा बसिन् । प्रशिक्षणबाट फर्कने क्रममा महिलाहरूले त्यहीं सिकेको सीप प्रयोग गर्दै बन्दुक पड्काएर दाहाललाई बिदाइ गरे ।
जनयुद्धको तयारी चल्दै गर्दा कार्तिकमा सयौं जनताको बीचमा मिसिङडाँडा स्कुलको प्राङ्गणमा रोल्पा बडाचौरकै विद्यार्थी नेता श्यामकुमार बुढासँग भीमकुमारीको जनवादी विवाह भयो ।
श्यामकुमार ग्रामीण वर्गसंघर्षका कारण २०४८ सालमै भूमिगत भइसकेका थिए । जनताको बीचमा भएको यो पहिलो जनवादी विवाह थियो । विवाहलगत्तै उनी जनगीत अभियानका क्रममा श्रीमानको घर रहेको पूर्वी रोल्पातिर लागिन् । उनी माघ २५ गते मात्र श्रीमानको घर पुगिन् ।
घर पुग्दा ससुराबुवा सुकलाल बुढा फागुन १ गतेदेखि सुरु हुन थालेको जनयुद्धका लागि तयारी गर्दै थिए । मकै र भटमास भुटेर खाजा बनाइरहेका थिए । माघ २७ गते घरमा ताला लगाएर यो सिंगो परिवार नै जनयुद्धमा होमियो ।
पार्टीमा चिन्तन उपनामले चिनिन्थे श्यामकुमार बुढा भने भीमकुमारीको निशाना उपनाम थियो । ससुराबुवाको उपनाम गोञ्जालो थियो । श्यामकुमार होलेरी प्रहरी चौकी आक्रमणमा गए, जुन जनयुद्ध थालनीको पहिलो आक्रमण थियो । भीमकुमारी अर्को गाउँको डाँडामा पुगेर बन्दुक पड्काइन् र जनयुद्ध सुरु भएको उद्घोष गरिन् ।
जनयुद्ध सुरु भएपछि सरकारले रोल्पा–रुकुममा धेरै नै दमन गर्यो । २०५४ सालमा सरकारले ‘किलो सेरा टू’ अभियान चलायो । त्यतिबेला बुढा पार्टीनिकट महिला संगठनको जिल्ला उपाध्यक्ष र पार्टीको एरिया कमिटी सदस्यको जिम्मेवारीमा थिइन् । संगठक, कलाकार र लडाकु– तीनवटै भूमिका उनले एकसाथ निभाइन् ।
२०५३ सालमा लुङ प्रहरी चौकी आक्रमणको तयारीका क्रममा उनी गर्भवती थिइन् तर बाटोमा लडेर गर्भ खेर गयो । दोस्रोपटक आठ महिनामै जन्मिएको बच्चा पनि बच्न सकेन । युद्धको राप र तापको बीचमा उनले आमा बन्ने संघर्ष पनि एकैसाथ गरिरहेकी थिइन् ।
रोल्पाको नम्जामा सांस्कृतिक कार्यक्रम चलिरहेका बेला प्रहरी आयो । बन्दुक र झोलासहित एक्लै भाग्दै गर्दा उनलाई सुत्केरी व्यथाले च्यापिरहेको थियो । व्यथा लागेको दुई दिन भइसकेको थियो तर बच्चा जन्मेन । एक्लै हिँड्दै हिँड्दै लिस्नेको एउटा गोठमा बास बसिन् ।
त्यहाँ पनि प्रहरीले निगरानी गरिरहेको थाहा पाएपछि राती नै जंगलतिर भागिन् । बिहान पुनः त्यही गोठमा फर्केर नानीलाई जन्म दिएकी थिइन् । जंगलमा जन्मिएको बच्चाको उचित स्याहार हुन नसक्दा चार दिनमै ज्यान गयो । जीवनका यस्ता घटनाले उनलाई अहिले पनि तर्साउँछन् । यस्ता कठिनाइका बीच पनि उनको युद्धमय जीवन अघि बढिरह्यो ।
२०५५ सालमा नुवागाउँ गाविसको इन्चार्ज भइन् । २०५६ सालमा इलाका प्रहरी कार्यालय घर्तीगाउँमा भएको आक्रमण लगायत अन्य विभिन्न आक्रमणमा उनी सहभागी भइन् । उनले आक्रमण व्यवस्थापन कमाण्डरको भूमिका निर्वाह गरेकी थिइन् ।
२०५७ मा एरिया सेक्रेटरी भएर प्यूठान सरुवा भइन् । २०५८ मा एरिया इन्चार्जका रूपमा सन्धिखर्क आक्रमण र लिस्नेगाम कारबाहीमा व्यवस्थापन प्रमुखको भूमिका निर्वाह गरिन् । २०५८ मा सरकारी सुरक्षाफौजले उनका सबै घरहरू जलाइदियो ।
२०६० मा छोरा जन्मेपछि उनी छोरासहित रोल्पा फर्केर एरिया इन्चार्जको जिम्मेवारी सम्हालिन् । छोरासँगै गाम विवाङ, बाँगेताल लगायतका ठूला सैन्य शिविरको व्यवस्थापन गर्ने जिम्मेवारी पनि उनको काँधमा थियो । २०६२ सालमा पाथीभरा अप्रेसनका क्रममा दुई वर्षको छोरासहित भीरबाट हाम फालेर बल्लबल्ल ज्यान जोगाइन् ।
छोरासँग युद्धमा हिँड्न कठिन भएपछि उनले छोरालाई गाउँकै एक घरमा जिम्मा लगाइन् । शान्ति प्रक्रिया सुरु भएपछि मात्रै उनले छोरालाई फेरि आफ्नो जिम्मा लिइन् । शान्ति प्रक्रियाकै क्रममा उनी रोल्पाको जिम्मेवारी छाडेर दाङ झरिन् । त्यसपछि उनी निरन्तर दाङमा राजनीतिक रूपमा विभिन्न जिम्मेवारीमा रहेर सक्रिय थिइन् ।
उनका श्रीमान् राजनीति छोडेर अहिले वैदेशिक रोजगारीमा छन् । बुढाले भने राजनीतिक यात्रालाई निरन्तरता दिंदै वर्गसंघर्ष र जनयुद्धको बाटोलाई संसदीय यात्रामा लगेर जोडेकी छिन् । ‘यो मेरो पहिलो संसदीय यात्रा र अनुभव हो । ग्रामीण वर्गसंघर्ष र जनयुद्धको सपना अब संसदमा उठाउनेछु,’ उनले भनिन्, ‘मोर्चा फरक भए पनि निरन्तर जनताकै पक्षमा आवाज उठाउँदै आएकी छु । संसदमा पनि जनताकै सवाल बोल्नेछु ।’
