अघिल्लो निर्वाचनमा रास्वपाले सांसद् बनाउन निशा मेहतालाई सामानुपातिक सूचीमा राखेको थियो । यद्यपि, सांसद् भने बन्न सकिनन् ।
सुनसरी — इनरुवाकी निशा मेहता पेशागत रुपमा नर्स हुन् । स्वास्थ्य सेवामा संक्रिय रहे पनि रास्वपाको स्थापनाकालदेखि नै साधारण सदस्यता लिएर पार्टीसँग उनी आबद्ध थिइन् । अघिल्लो निर्वाचनमा रास्वपाले सांसद् बनाउन उनलाई सामानुपातिक सूचीमा समेत राखेको थियो । यद्यपि, सांसद् भने बन्न सकिनन् ।
यसपटक भने उनी नयाँ पुस्ताको प्रतिनिधित्व गर्नेगरी संघीय संसद्मा पुगेकी छन् । मधेशी क्लष्टरबाट प्रतिनिधिसभा सदस्य बनेसँगै उनको लक्ष्य र दैनिकी बदलिएको छ ।
यो जिम्मेवारीलाई केवल व्यक्तिगत सफलताका रुपमा मात्रै नहेरी सामाजिक सेवा, पेशागत अनुभव र राजनीतिक धैर्यको सम्मिश्रणको रुपमा हेर्नु पर्ने उनी बताउँछिन् ।
२२ साउन २०४४ मा इनरुवामा जन्मिएकी मेहता सुरुदेखि नै राजनीतिक रुचि बोकेकी पात्र हुन् । पहिलोपटकमै सांसद् नबन्दा उनी निराश भइनन् बरु अझ सक्रिय रुपमा लागिन् ।
उनी पार्टीको केन्द्रीय सदस्यका रूपमा संगठनभित्र झन सक्रिय रहिन् । यहि निरन्तरता, धैर्य र पार्टीप्रतिको प्रतिबद्धताले अन्ततः उनलाई संघीय संसद्सम्म पुर्याएको छ । उनी सांसद बन्नुलाई ‘एकपटकको अवसर होइन लगातारको प्रयास’को परिणम ठान्छिन् ।
निशाको अर्को महत्वपूर्ण पाटो स्वास्थ्य क्षेत्रसँगको गहिरो सम्बन्ध हो । भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेपछि नेपाल फर्किएर उनले विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा काम गरिन् । यो क्रम हिजो आइतबारसम्मै जारी थियो । निर्वाचन आयोगबाट सांसदको प्रमाणपत्र लिएपछि मात्रै उनले राजीनामा दिएकी छन् ।
स्वास्थ्य क्षेत्रमा गरेको सेवाले उनलाई सेवा प्रणालीका कमजोरी, पहुँचको असमानता र व्यवस्थापनका चुनौतीबारे नजिकबाट बुझ्ने अवसर दियो ।
सांसद बनेपछि उनले उक्त अस्पतालबाट राजीनामा दिनुलाई जीवनको महत्वपूर्ण मोड ठानेकी छन् । यसलाई पेशागत पहिचानबाट नीतिगत भूमिकातर्फको रूपान्तरण मानेकी छन् ।
नेपाल प्रहरी श्रीमती संघ, कोशी प्रदेशको प्रशासन सचिवका रूपमा उनले स्वास्थ्य शिविर सञ्चालन, महिला तथा बालबालिकासम्बन्धी कार्यक्रम र समुदाय केन्द्रित गतिविधिमा महत्वपूर्ण भूमिका खेलेकी छन् । संघलाई सक्रिय र चलायमान बनाउन उनको योगदान उल्लेखनीय मानिन्छ । यसले उनको नेतृत्व क्षमतासँगै संगठन सञ्चालन र समुदायसँग जोडिने दक्षता देखाउँछ ।
उनका श्रीमान् डा. सरोज सिंह कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) हुन् । पारिवारिक साथले उनको यात्रामा महत्वपूर्ण भूमिका खेलेको छ ।
सिंह स्वयंले पनि निशा पहिलेदेखि नै तयारीका साथ राजनीतिमा सक्रिय रहेको र त्यही निरन्तरताले संसद्सम्म पुर्याएको बताउँछन् । उनका अनुसार, समाज सेवामा रुचि राख्दै मधेशी महिला र बालबालिकाका विषयमा अध्ययन समेत गरेकी निशा तिनै वर्गका मुद्दामा प्रभावकारी आवाज बन्न सक्ने सम्भावना बोकेकी छन् ।
संघीय सांसदको प्रमाणपत्र प्राप्त गरेपछि निशा भावुक बनेकी थिइन् । उनका शब्दहरूमा ‘यो केवल उपलब्धि होइन, मेरो काँधमा आएको ठूलो जिम्मेवारी हो ।’ उनले आफ्नो सफलतामा परिवार, समर्थक र आमजनताको योगदानलाई स्वीकार्दै आभार व्यक्त गरेकी छन् । यसले उनको राजनीतिक शैलीमा नम्रता र सामूहिकताको भावना देखाउँछ ।
अबको यात्रामा मेहताले समयअनुसारका मुद्दा संसद्मा उठाउने प्रतिबद्धता जनाएकी छन् । विशेषगरी–प्रहरी कर्मचारीका समस्या, किसानका समस्या, मधेशी महिलाका अधिकार, स्वास्थ्य क्षेत्रका बेथिति जस्ता विषयमा आवाज उठाउने उनी बताउँछिन् । उनले भनिन्, ‘म सधैं तपाईंहरूको आवाज बन्ने प्रयास गर्नेछु ।’ निशा निशाका लागि यो अवसर सम्भावना र चुनौतीको संगम समेत हो ।
एकातिर उनी नयाँ अनुहार हुन्, जसलाई आफ्नो पहिचान स्थापित गर्नुपर्नेछ अर्कोतिर उनीसँग स्वास्थ्य, समाज सेवा र संगठनात्मक अनुभवको बलियो आधार छ । समानुपातिक सांसदका रूपमा उनको भूमिका केवल प्रतिनिधित्वमा सीमित हुँदैन, बरु नीतिगत बहसमा सक्रियता, जनताको आवाजलाई संस्थागत रूप दिने क्षमता र परिणाममुखी हस्तक्षेपमा निर्भर रहनेछ ।
इनरुवाको स्थानीय परिवेशबाट सुरु भएको निशाको यात्रा आज संघीय संसद्सम्म आइपुगेको छ । यो यात्रा व्यक्तिगत महत्वाकांक्षा मात्र होइन, निरन्तरता, सेवा र सामाजिक प्रतिबद्धताको परिणाम हो ।
