मिस नेपाल अनुष्का श्रेष्ठ : उद्यमी हुँदै संसद्सम्म

बैंकर, मिस नेपाल प्रतियोगिताकी विजेता, उद्यमीका रुपमा स्थापित अनुष्का अब भने प्रतिनिधिसभा सांसद् बनेकी छन् ।

चैत्र ९, २०८२

सीमा तामाङ

What you should know

काठमाडौँ — काठमाडौंकी अनुष्का श्रेष्ठको परिचय फेरिइरहेको छ । बैंकर, मिस नेपाल प्रतियोगिताकी विजेता, उद्यमीका रुपमा स्थापित अनुष्का अब भने सांसद् बनेकी छन् । अनुष्कालाई रास्वपाले आदिवासी/जनजाति ‘क्लस्टर’बाट सांसद बनाएको हाे । 

उनले काठमाडौंकाे एस हाइयर सेकेण्डरीबाट विद्यालय पूरा गरेकी हुन् भने त्यसमाथिकाे उच्चशिक्षा अष्ट्रेलियाबाटै गरिन् । अस्ट्रेलिया पुगेकी अनुष्काले अष्ट्रेलियन क्याथलिक विश्वविद्यालयबाट 'कमर्स' र अकाउन्टिङमा स्‍नातक गरेकी छिन् । सन् २०१७ मा एक वर्ष कमनवेल्थ बैंक (कमबैंक)मा काम पनि गरिन् । त्यसपछि भने आफ्नै देशमा केही गर्ने सोच बनाएर नेपाल फर्केकी अनुष्का सौन्दर्यको दुनियाँमा प्रवेश गर्दै २०१९ को मिस नेपाल प्रतियोगिताको विजेता बनिन् ।

सन् २०१९ मा लन्डनमा आयोजित ६९औं मिस वर्ल्डमा टप १२ सम्म पुगेकी थिइन् । श्रेष्ठले ब्यूटी विथ अ पर्पस र मल्टिमिडिया च्यालेन्ज अवार्ड समेत जितेकी थिइन् । उनी अष्ट्रेलियन क्याथलिक विश्वविद्यालयको नेपालका लागि रिजनल म्यानेजर समेत रहिसकेकी छन् ।

श्रेष्ठले काठमाडौं महानगरपालिकाको तत्कालिन मेयर बालेन्द्र शाहको सल्लाहकारका रुपमा समेत काम गरिसकेकी छन् । त्यतिबेला उनले बुक फ्रि फ्राइडे, एसीईई क्याम्पलगायतमा काम गरिसकेकी छन् । त्यसपछि भने उनको परिचय पूर्वबैंकर तथा पूर्वमिस नेपालमा मात्रै सिमित रहेन । उनले आफ्नो परिचयलाई उद्यमीतर्फ डोर्‍याइन् । सन् २०२० को नोभेम्बरमा आफ्नै ब्रान्ड ‘माक्कुसे’ स्थापना गरिन् । उनका अनुसार माक्कुसे भनेको नेवारीमा मिठो परिकार हो ।

अस्ट्रेलियामा छँदाखाँदाको बैंकको जागिर छाडेर नेपाल फर्किएकी अनुष्काले ‘माक्कुसे’ लाई ब्रान्ड बनाउन भने धेरै मिहिनेत गर्नु पर्‌याे । सुरुवातमा  २५ लाख लगानी गरेर  व्यवसाय सुरु गरेकी हुन् । नेवारी समुदायको परम्परागत स्वाद पुष्टकारी र गुँदपाकलाई आधुनिक शैलीमा विस्तार गरेर अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउने उनको योजना छ । 

उद्यमी बन्नकै लागि उनले लगानी गरेको भने होइन । गुँदपाक र पुष्टकारीको प्रयोग हराउँदै गएपछि यसलाई जोगाउन ‘माक्कुसे’ को सुरुवात गरेकी हुन् । विश्वमाँझ नेपाली ‘डेजर्ट’ का नाममा परिचित गराउने उनको योजना छ ।

प्याकेजिङ र गुणस्तरको कमीका कारण कोसेलीका रूपमा दिन हिच्किचाउने पुष्टकारी र गुँदपाक अहिले विभिन्न दूतावासले कोसेली पठाउन थालेको  छ । ‘कर्पोरेट’गिफ्टका लागि अहिले माक्कुसे लोकप्रिय बन्दै गएको छ । तर, मौलिक मिठाईहरूमा गुणस्तर कायम राख्न चुनौती देखिए पनि उनी गुणस्तरमा सम्झौता नगरी विश्व व्यापारका लागि तयार गर्न प्रतिबद्ध छिन् ।

दसैं–तिहार, भ्यालेन्टाइन्स डे, मातातिर्थ औंसी, कुशेऔंसीलगायत चाडपर्वमा ‘माक्कुसे’को फरकफरक प्याकेज बजारमा ल्याउने गरिएको छ ।  यसबाहेक उनले लाेप हुने अवस्थामा पुगेका नेपाली स्वादकाे प्रवर्द्धन, योमरी मेला, चंगा महोत्सवलगायतकाे समेत बजारिकरण गरिरहेकी छन् ।

मिस नेपाल र मिस वर्ल्डको यात्रामा सिन्धुपाल्‍चोकस्थित सोर्सिङमा ७ वर्षदेखि काम गरिरहेकी छिन् । सिन्धुपाल्चोकस्थित हेलम्बुको सोर्सिङका स्थानीयको जीवनस्तर उकास्नका लागि आय-आर्जन परियोजना सञ्चालन भइरहेको छ ।

गलैँचा बुन्ने तान, सिन्के धुप बनाउने तालिम, इँट्टा निर्माणका लागि उपकरण र तालिमलगायत दिइएको छ । त्यहाँको परियोजनाले गर्दा पनि मुलुकका विभिन्न गाउँ ठाउँको भूगोल र त्यहाँको अवस्था र समस्याबारे जानकार रहेको उनले बताइन् । 

मिस वर्ल्डले मिस नेपालको ताज र मिस वर्ल्डमा नेपालको प्रतिनिधित्वसँगै श्रेष्ठले एक सफल उद्यमी र अभियानकर्ताका रूपमा आफ्नो बहुआयामी परिचय बनाएको भन्दै बधाई दिएको छ । 'अनुष्काले 'ब्युटी विथ अ पर्पस' का उद्देश्यहरूसँग मेल खाने सामाजिक कार्यहरूलाई निरन्तरता दिँदै आएकी छिन्,' मिस वर्ल्डले आफ्नो वेबसाइटमा लेखेका छन्, 'उहाँको यो नियुक्तिले नेपालको भविष्य निर्माणमा युवा र सामाजिक रूपमा सचेत नेतृत्वको बढ्दो भूमिकालाई संकेत गर्छ।' 

श्रेष्ठ आगामी चुनौतीहरूप्रति सचेत रहेको भन्दै मिस वर्ल्डले निष्ठा र सेवाप्रतिको उनको प्रतिबद्धतालाई थप बलियो बनाएको जनाएको छ । श्रेष्ठको नयाँ यात्रालाई पैरवीबाट कार्यमा र आवाजबाट नीति निर्माणमा भएको एक स्वाभाविक रूपान्तरणको रूपमा व्याख्या गरिएको समेत मिस वर्ल्डको वेबसाइटमा उल्लेख छ ।

संसदमा म मात्र नभई हामी जस्ताको प्रतिनिधित्व हुँदा राजनीति चुनाव जित्नका लागि मात्र नभएर सेवाको विषय समेत रहेको उनले बताइन् । सकारात्मक सरकार नेतृत्वको भाव पनि रहेको उनको भनाइ छ ।‘राजनीतिमा आउने योजना थिएन तर भदौको जेन-जी आन्दोलनले अति गर्नु अत्याचार नगर्नु भन्ने लाग्यो,’ उनले भनिन्, ‘हामी समस्या समाधानको पात्र हुन सक्दैनौं भने समस्या मात्र भयो भनेर भनिराख्न पाइँदैन भन्ने हो ।’

मुलुकलाई सकारात्मक, सम्भावनाको आस र भरोसा चाहिएको  भन्दै उनले यसमा योगदान पुर्याउन सक्छु भनेर राजनीतिमा आएको बताइन् । युवा नेता एवं नेतृहरू भए पनि आफू राजनीतिमा आउन बालेन्द्रबाट नै प्रेरित भएको उनले सुनाइन् । ‘उहाँले आफ्नो प्राविधिक दक्षतालाई कसरी विकास गर्न सकिन्छ भनेर उदाहरण दिनु भएको छ, आफू काठमाडौंबासी भएर पनि त्यो अनुभव गरेको छु,’ उनले भनिन् ।

सम्भावनाको राजनीति नै आफ्नो राजनीतिक यात्रा सुरु गरेको भन्दै उनले आफू जस्तै नेपालमा फर्केर गरिखान पाउँ भन्नेहरूका लागि सम्भावना र सकारात्मक सोचका साथ अघि बढेको बताइन् । महिला हक अधिकार, स्वदेशी र मौलिक वस्तुको प्रयोगसँगै श्रेष्ठसँगै ५९ वटा आदिवासी जनजाति समुदायलाई प्रतिनिधित्व गर्ने उनले सुनाइन् ।

‘मैले सबै आदिवासी जनजातिको खानापान, पहिरन मात्र नभई हाम्रो ज्ञानको विकास अझै अघि फैलाउनु पर्छ भन्ने हो,’ उनले भनिन्, ‘ सबै समुदायसँग छलफल गरेर अघि बढ्छु । भोगाई, समस्या, समाधान र आवश्यकतालाई अगाडि लिएर प्रस्तुत हुने मेरो प्रतिबद्धता हो ।’

समानुपातिक सासंद-२०८२

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully